कोरोनाको असर फूलमा पनि, १ अर्बको घाटा, भारतबाट नआएपछि नेपालमा पाउनै मुस्किल

  २०७७ मंसिर १ गते १०:५१     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको असर फूलमा पनि देखिएको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले यस पटकको तिहारमा निकै घाटा गरेको छ । अघिल्ला वर्षहरुमा तिहारमा फूलको व्यापार निकै बढ्थ्यो तर यो वर्ष भने गत वर्षको भन्दा कारोबार निकै घटेको छ ।

तिहारका बेला २७ देखि ३० करोडको फूलको व्यापार हुने फ्लोरिकल्चर एसोसियसनको भनाई छ । तर, यो वर्ष कोरोना भाइरकै कारण पुष्प व्यापारमा एक अर्ब घाटा लागेको एसोसियसनका अध्यक्ष कुमार कसजुले बताए । ब्यापार मात्र होइन यो वर्ष फूलको पनि अभाव देखिएको छ ।

यो वर्षको तिहारमा भारतबाट फूल आयात नगरिएपछि नेपालमा फूलको अभाव देखिएको छ । बजारमा फूलको माग कम भएपछि यो वर्ष नेपाली पुष्प व्यवसायीहरुले भारतबाट फूल आयात गरेका थिएनन् । यसले पनि नेपालमा फूलको अभाव देखिएको हो ।

भारतबाट फूल आयात नहुँदा नेपाली पुष्प व्यवसायीहरुलाई नाफा भएपनि ग्राहकहरुले भने रोजे र खोजे जस्तै फूल पाउन सकेनन् । अहिले देशका विभिन्न ठाउँहरुमा फूलको अभाव देखिएको छ ।

फ्लोरिकल्चर एसोसियसनले माग पनि कम भएकोले यस पटक भारतबाट फूल आयात नगरेको बताएको छ । कसजुले यो वर्ष तिहारमा १५ लाख मालाको माग रहेको बताए ।

‘यस वर्ष अघिल्ला वर्षहरुको भन्दा कमै माग रहेको छ, १२ लाख सयपत्री, ३ लाख मखमली गरी १५ लाख मालाको माग छ, यो मागलाई स्वेदेशी उत्पादनले नै धान्न सक्छ,’ उनले भने ।

अहिले बजारमा थोकमा प्रतिमाला रु १०, फुटकर रु १२०, फूल थोकमा प्रतिकिलो मुल्य रु ४०० र फुटकर रु ५०० मा बिक्री भएको छ ।

गत वर्षको तिहारमा देशभर करिब २५ लाख मालाको कोरोबार भएको थियो भने ३० लाख माला बजारमा माला खपत भएको एसोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए ।
पुष्प व्यवसायीसँग तिहारका लागि जम्मा १५ लाख तयारी अवस्थामा रहेको र उक्त मालाको मूल्य ११ देखि १२ करोड हुने उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.