व्यापारी पसल सिँगार्न व्यस्त, सयपत्री फूल पाउन सकस, बनावटी फूलले काम चलाइँदै

  २०७७ कार्तिक २९ गते १२:२५     सन्ताेष राेकाया

काठमाडौं । आज यमपञ्चकको तेस्रो दिन । यतिखेर नेपालीहरुको दोस्रो महान पर्व दिपावली तथा तिहारको माहोल ह्वात्तै बढेको छ । मानिसहरु घरमा पूजापाठ तथा घर तथा पसल सिँगार्न व्यस्त छन् ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रभाव कायम रहेकोले पनि यस वर्ष गत वर्षहरुको जस्तो उल्लास छैन । तर, पनि मानिसहरु सकेसम्म स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर चाडपर्व मनाइरहेका छन् ।

आज लक्ष्मीपूजाको दिनमा व्यापारी तथा व्यवसायीहरु पनि आफुले व्यवसाय गर्दै आएको पसल सिँगार्नमै व्यस्त छन् । विभिन्न फूलहरुले पसलमा सिँगारेर व्यापारीहरु पसल सिँगार्न व्यस्त भएका हुन् । गत वर्षहरुमा तिहारकै लागि भनेर विदेशबाट पनि धेरै फूलहरु आयात गरिन्थ्यो । तर, यो वर्ष भने कोरोनाकै कारण फूलको आयात गरिएको छैन ।

कोेरोना महामारीका कारण तिहारमा फूल मालाको व्यापार विगतका वर्षमा जस्तो नहुँदा विदेशी फूलको आवश्यक नपर्ने व्यवसायीहरुले बताएका छन् । तर, बजारमा भने रोजे र खोजे जस्ता फूलहरु नपाएको पनि गुनासो छ ।

काठमाडौं बागबजारका मदन चौहान बिहानै आफ्नो कपडा पसल बाहिर फूलले सिँगार्दै थिए । उनले आफुले धेरै फूलहरु पसलमा लगाउने सोच बनाएको भएपनि सोचे जस्तो सयपत्री फूलहरु नपाएपछि बनावटी अर्थात क्रृतिम फूलहरु पसलमा लगाएको उनले बताए ।

उनका अनुसार यस वर्ष फूलहरु विदेशबाट आयात नगरिएको हुनाले पनि कमि भएको हुन सक्छ । फ्लोरिकल्चर एसोसिएसनका अनुसार तिहारका समयमा भारतबाट करिब २६ करोडको फूल भारतबाट आयात हुन्छ । तर यो वर्ष भने भारतबाट फूल आयात गरिएको छैन ।

उपत्यकाका लागि गोदावारीमा उत्पादन भएको ४ लाख सयपत्री र मखमली फूलको मालाले पर्याप्त हुने एसोसिएशनका अध्यक्ष कुमार कशाजुले बताए ।

‘हामीसँग फूल प्रयाप्त छ, बजारको माग पनि कम छ, हाम्रो आन्तरिक उत्पादनले बजार धान्न सकिहाल्छ, आयात गर्न जरुरी छैन,’ उनले भने ।

गत वर्षको तिहारमा देशभर करिब २५ लाख मालाको कोरोबार भएको थियो भने ३० लाख माला बजारमा माला खपत भएको एसोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए ।

‘यस वर्षको तिहारमा विगतको तुलनामा १५ लाख फूल आवश्यक पर्ने एसोसिएसनको अनुमान छ । पुष्प व्यवसायीसँग तिहारका लागि जम्मा १५ लाख तयारी अवस्थामा रहेको र उक्त मालाको मूल्य ११ देखि १२ करोड हुने उनले जानकारी दिए ।

तिहारका बेला २७ देखि ३० करोडको फूलको व्यापार हुने उनको भनाइ छ । कोरोना भाइरका कारण पुष्प व्यापार एक अर्ब घाटा लागेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.