एनएमबी बैंकले देखायो १७० प्रतिशत वृद्धिको चमत्कार, अरु बैंकको कस्तो रह्यो नाफा ?

  २०७७ कार्तिक २८ गते ११:२२     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउनदेखि असोजसम्म) को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

कोभिड महामारीले अर्थतन्त्रमा गम्भीर असर पारिरहेको र सोही कारण ऋणीलाई व्याजमा छुटका साथै किस्ता तिर्न पनि राहत दिइरहेका बैंकहरुको नाफालाई चासोका साथ हेरिएको छ । यस्तो बेलामा अधिकांश बैंकहरुको नाफा भने घटेको छ ।

तर, यही बेलामा एनएमबी बैंकले भने नाफामा चमत्कार गरेको छ । बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार उसको नाफा करिब १७० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा २७ करोड १८ लाख ४५ हजार रुपैयाँ नाफा गरेको एनएमबीले चालु आर्थिक वर्षको सोही अवधिमा भने ७३ करोड २९ लाख ९० हजार रुपैयाँ नाफा गरेको छ ।

एनएमबीको नाफा गत आर्थिक वर्षको तीन महिनाको तुलनामा यसवर्ष १६९.६३ प्रतिशतले बढी हो ।

यस्तै, नेपाल बंगलादेश (एनबी) बैंकले नाफा करिब ४२ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा ४० करोड २५ लाख २० हजार रुपैयाँ नाफा गरेको एनबीले चालु आर्थिक वर्षको सोही अवधिमा ५७ करोड ११ लाख ८० हजार रुपैयाँ गरेको छ । एनबीको नाफा गत वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ४१.९ प्रतिशतले बढेको छ ।

कोभिड संक्रमण सन्त्रासकै बीचमा मेगा पनि उल्लेख्य प्रगति गरेको छ । बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार मेगाको नाफा गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ३८.९८ प्रतिशतले बढेको छ ।

मेगाले गत आर्थिक वर्षको तीन महिनामा ४३ करोड ७४ लाख ७ हजार रुपैयाँ नाफा गरेको थियो भने चालु आर्थिक वर्षको सोही अवधिमा ६० करोड ७९ लाख ३ हजार रुपैयाँ नाफा गरेको छ ।

त्यस्तै, एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा १ करोड १४ लाख रुपैयाँ बढी हो । गत आर्थिक वर्षको सोही अवधि अर्थात असोज मसान्तमा बैंकले १ अर्ब ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

ग्लोबल आईएमई बैंकको खुद नाफा ३० करोड ५६ लाख रुपैयाँले बढेर १ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७५ करोड ३१ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

प्रभु बैंकको नाफा पनि ३५.२५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ६२ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वषैको सोहि अवधिमा ८५ करोड १४ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

प्राइम कमर्शियल बैंकले १ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३५ करोड ७८ लाख रुपैयाँ बढी हो । बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ६५ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कुमारी बैंकले पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४९.८९ प्रतिशत बढी नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा ४० करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएकाे बैंकले चालु आवको सोहि अवधिमा ६० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो ।

अन्य अधिकांश बैंकको नाफा भने घटेको छ । विवरण प्रकाशित गर्ने बैंकहरुमा नेपाल एसबीआई बैंकको नाफा ५४.१४ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको तीन महिनामा ४३ करोड ७२ लाख ३० हजार रुपैयाँ नाफा गरेको एसबीआईले चालु आर्थिक वर्षको सोही अवधिमा २० करोड ५ लाख २ हजार रुपैयाँ मात्रै गरेको छ ।

नेपाल बैंकको नाफा ३ करोड १४ लाख रुपैयाँले घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५८ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा ५५ करोड ४ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ ।

यस्तै, हिमालयन बैंकको नाफा ४७.२९ प्रतिशतले घटेर ३६ करोड ५९ लाख १४ हजार, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको ३७.६९ प्रतिशतले घटेर ४० करोड १३ लाख ७१ हजार, नेपाल इन्भेष्टमेन्ट बैंकको २६.१३ प्रतिशतले घटेर ६२ करोड ३८ लाख १४ हजार र सनराइज बैंकको १५.७१ प्रतिशतले घटेर ३८ करोड २९ लाख ७७ हजार रुपैयाँ कायम भएको छ ।

सिटिजन्स बैंक इन्टरनेशनलको नाफा ४०.६ प्रतिशतले घटेर २२ करोड २ लाख ५९ हजार, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको २६.४६ प्रतिशतले घटेर ८२ करोड ९२ लाख ४५ हजार, नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको १.६९ प्रतिशतले घटेर ३३ करोड ४५ लाख ८७ हजार, लक्ष्मी बैंकको २२.२९ प्रतिशतले घटेर ३१ करोड २३ लाख ७२ हजार, सरकारको पनि लगानी रहेको कृषि विकास बैंकको २२.९६ प्रतिशतले घटेर ४६ करोड १४ लाख ६९ हजार, सिद्धार्थ बैंकको ३.९९ प्रतिशतले घटेर ५० करोड ६ लाख ४० हजार र माछापुच्छ्रे बैंकको ४.०१ प्रतिशतले घटेर ३६ करोड ९ लाख ९ हजार रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, सेञ्चुरी कमर्शियल बैंकको खुद नाफा १५ करोड ५ लाख रुपैयाँले घटेर २२ करोड २ लाख रुपैयाँमा सीमित भएको छ । एभरेष्ट बैंकको नाफा ५१.५४ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षमा ६९ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आवको असोज मसान्तसम्ममा जम्मा ३३ करोड ४७ लाख खुद नाफा कमाएको छ ।

त्यस्तै, नबिल बैंकको पनि खुद नाफा ७.८२ प्रतिशतले घटेर १ अर्ब ३ करोड रुपैयाँमा सीमित रहेको छ । । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंक अफ काठमाण्डूको नाफा ३७.०८ प्रतिशतले घटेको छ । गत आवको पहिलो त्रैमासमा ३८ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आवको सोहि अवधिमा जम्मा २४ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

सानिमा बैंककाे नाफा पनि ३७.१२ प्रतिशतले घटेर ३७ कराेड ३२ लाख रूपैयाँमा झरेकाे छ । बैंक गत वर्षकाे पहिलाे तीन महिनामा ५९ कराेड ३६ लाख रूपैयाँ नाफा कमाएकाे थियाे ।

सिभिल बैंककाे खुद नाफा ३९.१८ प्रतिशतले घटेर ९ करोड ६६ लाख रुपैयाँमा सीमित रहेकाे छ । बैंकले गत आवको पहिलाे त्रैमासमा १५ करोड ८९ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.