अभिनेत्री मनिषाले सुरु गरिन् क्यान्सर एजुकेशन फण्ड, पीडितले ग्लोबल कलेजमा पढ्न पाउने

  २०७७ कार्तिक २७ गते १८:५७     विकासन्युज

काठमाडौं । बलिउड अभिनेत्री मनिषा कोइरालाले ‘मनिषा कोइराला क्यान्सर एजुकेशन फण्ड’ सुरु गरेकी छन् । बिहीबार एक कार्यक्रमका बीच उक्त फण्डको औपचारिक घोषणा गरिएको हो । ग्लोबल कलेजसँगको सहकार्यमा सुरु भएको यस फण्डको सर्वाधिकार मनिषा कोइराला आफैँसँग रहने छ ।

यस फण्ड सुरुवात गर्नुको उद्देश्य क्यान्सरपीडित विद्यार्थीको पढाइमा सहयोग गरेका ग्लोबल कलेजका प्रिन्सिपल डा. करण सिंह ठगुन्नाले बताए । उनका अनुसार क्यान्सरपीडित विद्यार्थीका लागि विभिन्न शीर्षकमा यस फण्डबाट छात्रावृत्ति दिइनेछ । छात्रावृत्ति ‘क्यास’ तथा ‘नन-क्यास’ हुने उनले बताए ।

मनिषा अरूको पीडामा मद्दत गर्ने कार्यको सुरुवात गर्न लागेकोमा निकै गर्व अनुभूत गरिरहेको बताउँछिन् । ‘परिवारमा कसैलाई क्यान्सर लाग्दा परिवारलाई निकै गाह्रो पर्छ । आफ्नो सारा सम्पत्ति उपचारमा खर्चिन्छन् । त्यो समय उक्त परिवारको बालबच्चाले पढ्न पाएका हुँदैनन् । त्यो समयमा सहयोग गर्न पाउनु त गर्वको कुरा हुन्छ ।’, उनी भन्छिन् ।

क्यानसरबाट पीडित भएको परिवारको बच्चा वा स्वयं क्यान्सरपीडित विद्यार्थीलाई सहयोग गर्दा उसको आत्माबल बलियो हुने मनिषा बताउँछिन् । ‘पीडित व्यक्तिले आफूलाई पनि माया गर्ने व्यक्ति पाउँदा ऊ खुसी हुन्छ । जसका कारण कसैले उसलाई सहयोग गर्यो भने उसको मनोबल बढ्छ’, मनिषाले भनिन् ।

मानिसको जीवनका महत्त्वपूर्ण कुराहरूमध्ये स्वास्थ्य र शिक्षा नै भएको मनिषाले बताइन् । स्वास्थ्य र शिक्षाकै क्षेत्रमा सहयोग गर्न लागेकोमा उनले खुसी व्यक्त गरिन् । यस अभियानलाई लामो गति दिने र पीडितको घाउमा मह्लम लगाउन सदैव तयार रहने मनिषाले विश्वास दिलाइन् ।

तत्कालका लागि भने विभिन्न ठाउँबाट पीडितहरूको छनोट गरी ग्लोबल कलेजमा भर्ना दिइने छ । भविष्यमा भने जो पीडित जहाँ पढ्न रुचि राख्छ त्यही पढ्ने वातावरण बनाउन सकिने ग्लोबल कलेजका प्रिन्सिपल ठगुन्नाले बताए ।

‘मनिषा कोइराला क्यानसर एजुकेशन फण्ड’का लागि मनिषालाई ५ लाखको चेकसमेत हस्तान्तरण गरिएको छ । उक्त रकम पनि पीडित विद्यार्थीकै लागि जम्मा गरिएको हो । सुरुवाति चरणमा ग्लोबल कलेज, ग्लोबल स्कुल, लिब्रटी कलेज तथा भ्याली भ्यू इङ्लिस स्कुल यस कार्यमा जोडिएका छन् । आगामी दिनहरूमा अन्य विभिन्न क्षेत्रबाट यस फण्डमा सहयोग जम्मा हुनेमा उनीहरू विश्वस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.