समाजशास्त्रीय दृष्टिकोणमा तिहार पर्व र कोरोना

  २०७७ कार्तिक २६ गते १६:३२     दुर्गा दंगाल (चाँदनी )

हाम्रो देश बहुभाषी, बहुधार्मिक, बहुजाति मानिसहरुले बसोबास गरेको एक सुन्दर राष्ट्र हो । जुन विभिन्न जातजाति, धर्म, संस्कृति, परम्परा, मूल्य, मान्यताहरुले सम्पन्न छ । यहाँ विभिन्न जातजातिहरुले विभिन्न चाडपर्वहरु मनाउने गर्दछन् । जस्तै दशै, तिहार, छैट, एकादशी, जितिया, उद्यौली उभौली, तीज, जनैपूर्णिमा, लोसार आदि । यी विभिन्न चाडपर्वहरुले समाजलाई एकसुत्रमा बाँधेर सभ्य समाज निर्माण गरि एकआपसमा भाईचाराको सम्बन्ध स्थापित गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । यी हरेक चाडपर्वहरुको आ-आफ्नै किसिमको सामाजिक महत्व र विशेषता रहेको हुन्छ । हाम्रा यस्ता विविध चाडपर्वहरुले समाजमा एकअर्काप्रति सम्मान, सदभाव, अनुशासन, नैतिकता र शान्ति कायम गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेलिरहेका हुन्छन् । यी विविध चाडपर्वहरु मध्ये तिहार हिन्दुधर्मावलम्वीहरुको दशै पर्व पछिको सबैभन्दा ठूलो सिंगो नेपाली मानव सभ्यता कै महान सांस्कृतिक पर्व हो । यो पर्वले सामाजिक सांस्कृतिक महत्व र अस्तित्व वोकेको छ ।

यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन कागतिहारको नामले शुरु भएर कार्तिक शुक्ल पक्षको द्धितिया तिथिको भाईटिका सम्म मनाईन्छ । यो चाड पाँच दिनसम्म मनाइने भएकोले यस पर्वलाई यमपञ्चक पनि भनिन्छ । यमराजले आफ्नी वहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुृनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो भन्ने पौराणिक मान्यता रहिआएको पाईन्छ । तिहार भनेको प्रकृति पूजक महान पर्व हो । किनकी वर्षभरि काममा लगाईने पशुपंछी कुकुर, काग, गाई, गोरु र पानीको प्रमुख श्रोत मानिने पर्वतको पूजा गर्नु भनेको प्रेम, सदभाव र मैत्रीको प्रतिक समेत हो । यो पर्व रंग, फूलमाला, उज्यालो र विभिन्न पूजाआजाको पर्व हो । जसमा पिङ्ग खेल्ने दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान खाई भव्यरुपमा हर्षो उल्लासका साथ मनाईने गरिन्छ ।

तिहार पर्वलाई समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा यो पर्व एक पारिवारिक पुनर्मिलनको महान पर्व हो । समाजका सामाजिकिय विभिन्न आवश्यकताहरु हुन्छन् । ती आवश्यकताहरुले समाजका विभिन्न अवयवहरुको निर्माण हुने गर्दछन् । मानिसहरुका विभिन्न आवश्यकताले सामाजिक तत्वहरुको उत्पत्ति र अन्त्य पनि हुने गर्दछ । मानिसका आवश्यकताहरु भौतिक अभौतिक दुवै हुन सक्दछन् । यो पर्व दाजुभाई र दिदिबहिनी बीच प्रेम र सुमधुर सम्बन्ध स्थापित गर्ने र एकआपसमा मायाप्रेम, सुख दुःख साटासाट गर्ने एक पवित्र चाड हो । यो मिलन भौतिक र भावनात्मक दुवै हो । यो पर्वले जीवजन्तु, पशुपंक्षी तथा प्रकृतिसंग मानव जातिको सम्बन्ध अन्योआश्रित रहेको हुन्छ भन्ने संकेत गरेको आभाष हुन्छ । किनकी पशुपंक्षी, प्रकृति र मानव जातिको सम्बन्ध नङ्ग र मासुको जस्तै रहेको हुन्छ । एक विना अर्कोको अस्तिन्व नै रहन सक्दैन भन्ने कुरा तिहार पर्वले प्रष्ट्याएको पाईन्छ ।

लेखक

काग र कुकुरलाई यमराजको सन्देश वाहक मान्ने धार्मिक मान्यता हाम्रो समाजमा रहेको पाईन्छ । तिहारमा कागलाई सन्देश वाहकको रुपमा पूजा गरिने धार्मिक परम्परा रहि आएकोछ । यसले मानिसको वातावरणसँगकाे गहिरो सम्बन्ध रहेको प्रष्ट हुन्छ । त्यसैले काग तिहारलाई सिंगो ईकोसिस्टमलाई पूजा गर्ने नेपाली परम्पराको सिम्वोलको रुपमा हेर्न सकिन्छ । कुकुर यमराजको सन्देश वाहक मान्ने धार्मिक विश्वास र मान्यता भएको एव कुकुरले घर परिवारको साथै गाँउघरको सुरक्षा गर्ने गर्दछ । त्यसैले कुकुर तिहारमा कुकुरको ससम्मान पूजा गरिन्छ । मानिसको अस्तित्वका लागि प्रकृति र पशुपंक्षीको अस्तित्वको अनिवार्यतालाई स्वीकार्ने भावनात्मक संकेत प्रकृति र पशुपंक्षीहरुको ससम्मान पूजा गर्नुले प्रष्ट पार्दछ । प्रकृति र पशुपक्षीहरुको पूजा गर्ने परम्परा मान्यता अरु जेजस्तो भए पनि यो पर्वले मानिसको सामाजिक सम्बन्ध र भावना अभिव्यक्त गरिरहेको स्पष्ट हुन्छ ।

तिहारको सबै भन्दा महत्वपूर्ण पूजा मानिसको पूजा हो । तिहार वा यमपञ्चकको अन्तिम दिन अर्थात कार्तिक शुक्ल द्धितीया तिथिका दिन यो पर्व विशेष उत्साह र महत्वका साथ मनाईन्छ । त्यसैले तिहारको अन्तिम दिन गरिने भाईटिकालाई भाईपूजा भन्ने पनि गरिन्छ । यो दिन दाजुभाईको सुस्वास्थ्य र दीर्घायूको कामना गरि दिदिबहिनीले विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने मेवा मिष्ठान आदि मनपर्ने कुरा खुवाउने र दाजुभाईले दिदिवहिनीलाई दान दक्षिणा एवं वस्त्र आदि दिने परम्परा रहेकोछ । यसरी दिदिवहिनीहरुले दाजुभाईको पूजाआजा गरि आत्मियताको सम्बन्ध स्थापित गर्दै मनोवैज्ञानिक संन्तुष्टि प्राप्त गर्दछन् । नेवारी समाजमा आफ्नो पूजा गर्ने म्ह पूजाको परम्परा रहेकोछ । यो नेवारी परम्पराले आफैले आफैलाई सम्मान र विश्वास गर्नुपर्छ भन्ने दर्शनको प्रतिनिधि गरिरहेको स्पष्ट हुन्छ । यसले समाजमा सामाजिक तथा सांस्कृतिक सम्बन्ध स्थापित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको प्रष्ट हुन्छ ।

तर आजभोली तिहार मनाउने तरिकामा परिवर्तन भएको पाईन्छ । किनकी आज विभिन्न प्रविधिको विकास, परिवर्तित समय र मानिसहरुका विचारहरुले गर्दा समय संगै समाज पनि परिवर्तन हुदै गइरहेको छ । यो समाजको परिवर्तन सँगै हाम्रा चाडपर्वहरु पनि परिवर्तन हुदै गईरहेको पाईन्छ । तिहार मनाउने परम्परामा पनि निकै परिवर्तन भएकोछ । हरेक पुस्तामा तिहारको निरन्तरता परिस्कृत हुदै गएकोछ । आज समाजमा तिहार मनाउने प्रक्रिया र यसलाई बुझ्ने तरिकामा समेत निकै परिवर्तन भएको देखिन्छ । पहिले दिदिवहिनी दाजुभाई एकसाथ भई दुःखसुख वाँड्दै आफ्नोत्वको भावना साटासाट गरि उल्लासमय वातावरणमा तिहार मनाउथे भने अहिले आएर राष्ट्रिय पर्वको अवसर पारी विदाका दिन युवा पुस्ताका होलिडेका ट्रीपको प्लान बन्ने गर्दछ । जसले दाजुभाई र दिदिबहिनी विचको सम्बन्धमा कही न कही कमी आउन सक्ने संम्भावना नरहला भन्न सकिन्न ।

आजभोली चाडवाडको समयमा विदाको अवसर पारि मानिसहरु घुम्न जाने हुदाँ आन्तरिक पर्यटकहरुको घुइचो लाग्ने गर्दछ । यसबाट पर्यटक क्षेत्रमा भने केही हदसम्म सुधार भएको महसुस गर्न सकिन्छ । दशै देखि छैठ सम्म आन्तरिक पर्यटनको अवसरको रुपमा मानिन थालिएको देखिन्छ । पर्यटकीय क्षेत्रमा आर्थिक क्रियाकलाप पनि अधिक मात्रामा हुने गर्दछ । यो समयमा मौसम पनि पर्यटनका लागि सुहाउदो हुन्छ । नेपालमा घुमघाम गर्नका निम्ति निकै नै सहज वातावरण बनेको छ । किनकी यहाँ यातायातको सहज पहुँच र पाहुना बस्ने घर होटल होम स्टेहरुको राम्रो व्यवस्था हुदै गएकोछ । जसले चाडपर्वहरुमा घुम्न चाहने मानिसहरुको लागि सुविधा भएको छ । तर यसपालिको तिहार कोभिड–१९ का कारण प्रभावित हुन पुगेको छ ।

त्यस्तै गरि पहिले दिदिबहिनीले दाजुभाईलाई टीका लगाई विभिन्न उपहार दिने र दाजुभाईले दिदिबहिनीहरुलाई दक्षिणा र सारी चोलो दिने प्रचलन थियो भने अहिले घुम्न लैजाने, दिदिबहिनीले मन पराएको सामान खरिद गर्ने चलन बढेको समाजमा देख्न सकिन्छ । यसरी मध्यम वर्गमा तिहारमा दिईने उपहार पनि फेरिदै गएको पाईन्छ । हुन त दिदिबहिनीहरुलाई लिन जाने वा दिदिबहिनीहरु दाजुभाई कहाँ जाने यातायात खर्च सम्म नभएर भाईटिका गर्न नसक्ने अर्को वर्ग समाजमा नभएको भन्ने चाँहि छैन तर समाज आधुनिकता तिर लम्कदै गर्दा तिहार लक्षित बजारी उत्पालन र विज्ञापनहरुले तिहार नमनाई वस्न सकिने अवस्था पनि छैन । तिहार वढि भन्दा वढि कमर्सियलाइज्ड हुदै गएकोछ । उपभोक्तावादी प्रवृति हावी हुदै गएको देखिन्छ । जसले गर्दा तिहार आर्थिक स्त्तरिकरण प्रदर्शित हुने गरेको पाईन्छ । तिहारमा खाइने मिठाई देखि प्रयोग गरिने फुल बत्ती र अन्य सामान सवै कस्मेटिक वन्दै गएको पाईन्छ । यो परिवर्तन समयसंगै समाज परिवर्तन हुदै जानु एक स्वाभाविक नियम प्रक्रिया मान्न सकिन्छ ।

वर्ष भरिको मनोमालिन्य र वैरभाव हटाएर भातृत्व र सामाजिक मेलमिलाप कायम गर्ने अर्थ यस पर्वले राख्दछ । चाडवाडहरु यस्ता मौसम हुन जसले सवै सामाजिक संस्थाहरु चलायमान हुने गर्दछन् । यस पर्वले सवैभन्दा पहिले त पारिवारिक सम्बन्धलाई पूर्नताजगी दिने कार्य गर्दछ । किन की गाँउबाट शहर र शहरबाट विदेश बसाई सर्ने प्रक्रिया नेपाली समाजमा पछिल्लो समयमा निकै तिव्र रुपले बढेर गएकोछ । नेपालको कुनै पनि समाज र भूगोल यो समस्याबाट अछुतो रहन सकेको छैन । यो पर्वमा पनि सहर र विदेशमा रहेका दाजुभाई दिदिबहिनी आफ्नो गाँउघर फर्कन्छन् र माया, प्रेम अनि आफ्नत्वको सम्बन्धको गाँठो कस्ने गर्दछन् ।

नेपाली समाजमा देउसीभैलो खेल्नु तिहारको प्रमुख मौलिक विशेषता हो । गाँउका युवायुवतीहरु मिलेर देउसीभैलो खेलेर रमाइलो गर्दछन् । देउसीभैली खेलेर जम्मा भएको रकम सामाजिक काममा लगाउने चलन पनि समाजमा रहेको पाईन्छ । यो समाजका लागि राम्रो पक्ष हो किन की यसले सामाजिक मेलमिलापको निरन्तरतालाई कायम राख्दछ । तर आजभोली युवाहरु देउसीभैलो खेलेर जम्मा भएको रकम पिकनिक जाने रमाइलो गर्ने र फजुल खर्चमा उडाउने पनि गर्दछन् । जुन समाजका लागी नराम्रो पक्ष हो । यसरी व्यक्ति र परिवारको सक्रियताले विवाह, नातागोता जस्ता सुक्ष्म सामाजिक संस्थाहरु प्रभावित हुन्छन् नै धर्म, राजनिती, अर्थव्यवस्था लगायत वृहत सामाजिक संस्थाहरु समेत पूर्नताजगी हुन पुग्दछन् ।

त्यसैकारण चाडवाड र बजार एकअर्कार्मा प्रभावित भैरहेको पाईन्छ । कतिपय आर्थिक गतिविधी तिहारमा नै मात्र हुने खालका पनि हुन्छन् । बजारको त्यो कारोवारको फाइदा सहरका व्यापारी लगायत गाँउका किसान तथा कालिगढहरुले पनि लिन्छन् । तिहार मै बेच्नका लागी सयपत्री मखमली फुलको खेती गरिन्छ । यस्तो फुलको खेती गर्ने किसानहरुले तिहारको मौका पारि राम्रो आम्दानी लिन सफल हुन्छन् । त्यस्तैगरि ओखर, निवुवा, भोगटे जस्ता फलफुलहरुले पनि किसानहरुको राम्रो आम्दानीको बाटो बन्दछ तिहार पर्वमा । अर्कोतिर माटाका पाला, झिलीमिली गर्ने वत्ती, विभिन्न पटकाहरु जस्ता सामानहरु बनाउने उद्यमीहरुले पनि राम्रो आम्दानी गर्दछन् । तर किसानहरुले यसरी आम्दानी गरेको रकम अनुत्पादक क्षेत्रमा खर्च गरिरहेको देख्न सकिन्छ । जस्तै किसानहरु फुल शहरमा ल्याएर वेच्छन् र वजारबाट कोक फेन्टा किनेर लैजान्छन् । यस वेला करौडौको फुल, फलफुलहरुको आयात हुने गदैछन् । यस प्रक्रियालाई सरकार र नागरिक मिलेर रोकी आफै आत्मानिर्भर हुन सके करोडौ रकम बाहिरिनबाट बचाउन सकिने देखिन्छ ।

तर यसपालि विश्व कै हरेक क्षेत्र प्रभावित भैरहेको अवस्थामा हाम्रो नेपाल पनि अछुतो रहन सकेको छैन । यहाँका पनि हरेक क्षेत्र प्रभावित हुन पुगेका छन् । यसपालि हाम्रा चाडवाडहरु पनि प्रभावित हुन पुगेका छन् ।लामौ ईतिहाँस वोकेको तिहार नेपालीहरुको मौलिक पर्व भएता पनि यो चाड खासगरि हिन्दुधर्मावलम्वीहरुले मनाउने गर्दछन् भन्ने मान्यता रहेको पाइन्छ । यहाँ धेरै धर्मालम्वी, जातजाती र क्षेत्रका मानिसहरु तिहारलाई आ–आफ्नै तरिकाले मनाउने गर्दछन् । ती समुदायमा यो पर्वको नाम र यसको अर्थको समेत विविधता रहेको पाइन्छ । विभिन्न क्षेत्रमा मनाइने तिहारका आ–आफ्नै परिचय रहेको पाईन्छ । जस्तै तराई मधेश क्षेत्रका मानिसहरुको भाषामा तिहारलाई दीपावली भनिएको पाईन्छ भने मिथिला क्षेत्रमा यसलाई दियावत्ती भनिन्छ । दिपावली मन र संसार सवै उज्यालो बनाउने प्रकाशको चाडको रुपमा मनाईन्छ ।

समग्रमा हेर्दा तिहारका गतिविधीले नेपाली समाजका धर्मसंस्कार र सभ्यताको सांगोपांगो झल्को दिन्छन् । यो पर्वले सत्य र असल कार्यका लागि बत्ती जस्तै प्रज्जवलित हुन हामी सवैलाई प्रेरित गर्दछ । यो पर्वले आपसी सद्धभाव, मेलमिलाप, मायास्नेह, प्रेम आफ्नत्वको भावना जाग्रित गराउँदछ भने प्रकृतिसंगको सम्बन्ध र पूजा सिकाउदछ । तर हामीले यो पर्व मनाउदै गर्दा यसको मर्म बुझ्नु र हाम्रो जीवनमा त्यसको सन्देश र महत्वलाई अनुसरण गर्न सक्नु पर्दछ । तर यसपाली नेपालीहरु कोभिड –१९ का कारण यी विविध गतिविधीहरुबाट वञ्चित हुनु परेकोछ । कोभिड –१९ ले मानिसहरुको सामाजिक दुरी वढाईदिएकोछ । हाम्रा चाडभाडहरु खुलेर रमाइलो गरी हर्सोउल्लासमय वातावरणमा मनाउन पाउने अवस्था छैन । सरकारले विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरिरहेको अवस्था छ । जो जो जहाँ जहाँ छौ त्यहीवाट मनाउनु पर्ने वाध्यता सिर्जना भएको छ । त्यसैले यी कुराहरुको मध्येनजर गर्दै सरकारबाट जारी गरिएका स्वास्थ्य सम्बन्धि पा्रवधानहरु पालना गर्दै सचेत भई हाम्रो महान चाड तिहार मनाऔ । आफू बाँचौ अरुलाई पनि बचाऔ ।

इंटहरी, सुनसरी
ddangal26@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.