अरु प्रदेशको तुलनामा सुदूरपश्चिम सरकारले अब्बल काम गरेको छः झपटबहादुर बोहरा (भिडियाेसहित)

  २०७७ कार्तिक २४ गते १२:१३     सन्ताेष राेकाया

सुदूरपश्चिम प्रदेश सरकार कोरोनाको महामारीसँगै विभिन्न औद्योगिक क्षेत्र निर्माण तथा सम्भाव्यता अध्ययनमा जुटेको छ । कोरोना महामारीमा प्रदेश सरकारले उल्लेख्य काम गर्न नसकेको जनगुनासो पनि व्याप्त छ । प्रदेश सरकारले कोरोना महामारीमा के कस्ता काम गर्यो ? आद्योगिक क्षेत्र निर्माण तथा विकासका लागि के कस्ता प्रक्रिया तथा काम भइरहेका छन् ? समस्यामा परेका नागरिकलाई सुविधा तथा राहत प्रदान गर्ने काम के कति गर्यो भन्ने विषयमा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरासँग विकासन्युजका सन्तोष रोकायाले कुराकानी गरेका छन् ।

गत आर्थिक वर्षमा सुदूरपश्चिम सरकारले अपेक्षित आर्थिक वृद्धिदर गर्न नसके पनि अन्य प्रदेशकोभन्दा राम्रै आर्थिक वृद्धिदर हाँसिल गर्यो । यसलाई कसरी बताउनुहुन्छ ?

विशेष गरेर यस प्रदेशका मुख्यमन्त्रीज्यू, विषयगत मन्त्रालयका मन्त्रीज्यूहरु, कर्मचारीहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, संघीय सरकारमा रहेका सासंदहरु सबैको सहयोग र सहकार्यबाट यो सम्भव भएको हो । त्यसैले उहाँहरुलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु । हामीले गत आर्थिक वर्षमा ४.८ प्रतिशतको आर्थिक वृद्धिदर हाँसिल गर्न सफल भएका थियौं । संघीय सरकारको तुलनामा यो झण्डै दोब्बर बढीको आर्थिक बृद्धिदर हो ।

यसमा सबै तह र तप्काका साथीहरुको साथ सहयोग रहेको छ । त्यसले पनि यो आर्थिक बृद्धिदर हाँसिल गर्न हामी सफल भएका हौं । प्रदेश सरकारले गर्नुपर्ने खर्च पनि राम्रै भएको छ ।

हामीले ३ पटक बजेट ल्याइसकेका छौं । तीनै वर्षमा खर्चको कूरा गर्ने हो भने पहिलो, दोस्रो, दोस्रो र तेस्रो वर्ष राम्रै खर्च भएको छ । यो वर्ष पनि राम्रै खर्च गरेर देखाउँछौं । त्यही अनुरुप विषयगत मन्त्रालयका मन्त्रीज्यूहरुले कार्यक्रम अगाडि बढाइरहनु भएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा कति आर्थिक वृद्धिदर हाँसिल गर्ने भन्ने लक्ष्य छ ?

कोरोना भाइरसको असर नभएको भए सवा ७ प्रतिशतको आर्थिक वृद्धिदर हाँसिल गर्ने गत वर्ष सोचेका थियौं । अहिले पनि त्यो लक्ष्य भेटाउने दौरानमा हामी छौं । कतिपय अवस्थामा लकडाउन नभएको कतिपय अवस्थामा आर्थिक गतिविधि ठप्प भएको र आगामी दिनमा राजश्व उठ्ने कि नउठ्ने भन्ने कूराले निक्र्यौल गर्छ ।

यो केही समयपछि नै यकिन पिक्चर देखाउला । तर, अहिलेको कुरा गर्ने हो भने प्रदेश सरकारले साढे ७ प्रतिशतको आर्थिक वृद्धिदर हाँसिल गर्ने प्रक्ष्येपण गरेको छ । त्यो लक्ष्य हाँसिल गर्नको लागि हामी युद्धस्तरमा काम गरिरहेका छौं ।

आजभन्दा २ वर्ष अगाडिदेखि तपाई विभिन्न कार्यक्रम अर्थात कुराकानीमै पनि सुदूरपश्चिममा सरकारी लगानीका ठूला कम्पनीहरु खुल्दैछन् भन्दै आइरहुनु भएको छ । त्यसको काम के कति भयो ? प्रक्रिया के भइरहेको छ ?

विशेष गरेर ठूला योजना तथा ठूला लगानीका परियोजनाहरु सुदूरपश्चिममा भित्र्याउनका लागि प्रदेशले करका दरहरु समायोजन गर्न तयार रहेको छ । विशेष गरेर यो प्रदेशमा नेपाल सरकारको मातहतमा केही औद्योगिक क्षेत्रहरु रहेका छन् । कञ्चनपुरमा सुख्खा बन्दरगाह निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ ।

कञ्चनपूरको बेदकोटमै पनि छेला औद्योगिक विकास क्षेत्र निर्माणका प्रक्रिया अगाडि बढिसकेको छ । यस्तै, कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्रका लागि काम अगाडि बढिरहेको छ । कैलालीकै डुडझडीमा पनि औद्योगिक क्षेत्रका लागि काम अगाडि बढिरहेको छ ।

सुख्खा बन्दरगाह र औद्योगिक क्षेत्रहरु बनेपछि ठूला लगानीका कम्पनीहरु आउँछन् । हामीसँग दक्षिणतर्फ भारतको ठूलो भूभाग रहेको छ । त्यो भूभागमा पनि उत्तराञ्चल, दिल्ली, उत्तराखण्ड नजिकै पर्छन् । त्यस्तै, उत्तरमा चीन पनि हामी नजिकै छ । हाम्रो सीमानासँग चीन जोडिएको छ ।

बझाङबाट ताक्लाकोटको सडक दु्रत गतिमा अगाडि बढिरहेको छ । भोलि सार्कमै सुदूरपश्चिम प्रदेश विकासको हबका रुपमा अगाडि आउन सक्छ ।

अहिले हामी संघीयताको कार्यान्वयको दौरानमा छौं । कानुन बनाउने, त्यसको कार्यान्वयन गर्ने दौरानमा हामी छौं । लगानी ल्याउनका लागि अहिले कोरोनाले केही असर गरेको छ । आगामी दिनमा यो समस्या रहिँरहदैन । यसको अन्त्य हुन्छ । यो समस्याको समाधान भइसकेपछि लगानी ल्याउने कुरामा र त्यसको वातावरण सिर्जना गर्ने मामिलामा प्रदेश सरकार लागिपरेको छ । संघीय सरकार र स्थानीय तहहरुसँग आवश्यक समन्वय गरेर हामी अगाडि बढ्छौं ।

तपाईँले उल्लेख गरेका औद्योगिक क्षेत्रको निर्माणले सुदूरपश्चिमका नागरिकको जीवनस्तर उकासिन्छ ? यसमा तपाई विश्वस्त हुनुहुन्छ ?

म विश्वस्त छु, पक्कै पनि उकासिन्छ । अहिले शुख्खा बन्दरगाह र औद्योगिक क्षेत्र मात्र निर्माण हुने भए पनि १ लाख जनाले रोजगारी पाउन सक्छन् । त्यसको लागि समय लाग्न सक्छ । अहिले प्रतिकुल समय भएको कारणले केही समस्या तथा गाह्रो भएको छ । तर, अवस्था अनुकुल भइसकेपछि स्वेदेशी पुँजीपतिलाई लगानी गराउनको लागि, विदेशी कम्पनीलाई भित्र्याउनका लागि सहज वातवारण सिर्जना गर्ने र ऐन कानुन संशाधन गरेर भए पनि हामी काम गर्छौं । जग्गा भाडामा लिनको लागि हामी सहजिकरण गरिदिन्छौं ।

निर्यातमा पनि हामी अगाडि बढ्न सक्छौं । प्राकृतिक स्रोतहरुले पनि सुदूरपश्चिममा धेरै सम्भावनारु छन् । त्यसको सदुपयोग गरेर हामी अगाडि बढ्न सक्यो भने त्यसको उत्पादन गरेर निर्यात गर्न सक्यो भने सम्बृद्धि हाम्रो नजिकै छ । तर, त्यसको लागि समय लाग्छ । एक दशक अवश्य नै लाग्छ । अहिले हामीसँग वित्तीय अभाव भएकै कारण कुनै काम हुन सकेका छैनन् ।

पूँजी निर्माण भइसकेपछि हामी हाम्रा लक्ष्यहरु पछ्याउँदै अगाडि बढ्छौं ।

हामी सुदूरपश्चिम प्रदेश विविध सम्भावनाले भरिपूर्ण छ भन्छौं, हाइड्रोपावर, जडिबुको प्रचुर सम्भावना छ तर त्यसको विकासका लागि प्रदेश सरकारले पहल गर्न नसकेको हो ?

काम भइरहेको छ । विकास रातारात हुने कुरा हो र ? विकास भन्ने कुरा जादुको छडी हो र ? विकासका लागि कानुन चाहिन्छ । संरचना चाहिन्छ । पूर्वाधार चाहिन्छ । वित्तीय स्रोत चाहिन्छ । त्यसमा अरु सम्भावनाको अध्ययन गर्नु पर्ने हुन्छ । हामी सरकारमा आएको ३ वर्ष भयो । ३ वर्षमा कायापलट हुन्छ र ? योभन्दा अगाडि ७० वर्ष सरकार चलाउनेले के गर्यो ।

त्यसैले विकासमा हत्तारिनु हुन्न । साँच्चिकै हामी दिगो विकास र रणनीतिक कार्यक्रममा सामाजिक, आर्थिक रुपान्तरणमा अगाडि बढ्ने हो भने क्रमशः अगाडि बढ्नु पर्ने हुन्छ । त्यो विकास दिर्घकालिन पनि हुन्छ ।

त्यसैले अहिले नै विकास भएन भनेर उकुसमुकुस हुने र संघीयतालाई नै प्रश्न गर्ने समय यो होइन । संघीयता कार्यान्वयनका लागि सबैको सहयोग र सहकार्य आवश्यक छ ।

प्रदेश सरकार बनेको ३ वर्ष भइसकेको छ । तपाईँहरुले जहिले पनि समय लाग्छ मात्र भन्नुहुन्छ । तपाईँहरुले देखाएका सपना देख्न र आफ्नो जीवनस्तर माथि उकास्न नागरिकले अझै कति वर्ष पर्खिनु पर्छ होला ?

सयम भनेर दिन, बार, घण्टा महिना वर्ष भन्न सकिँदैन । म त्यस्तो भविश्यवाणी गर्ने व्यक्ति पनि होइन । तर, यो ५ वर्षको समयमा विकास निर्माणका आधारस्तम्भहरु निर्माण हुन्छ । र, ती आधारस्तम्भबाट विकास निर्माणको सिलसिला अगाडि बढ्छ । यसका लागि प्रदेश सरकार लागि परेको कुरा यहाँहरुलाई जानकारी गराउँछु ।

प्रदेश सरकार बनेर तपाई आर्थिक मामिला तथा योजना मन्त्री भइसकेपछि तपाई माथि जनताको धेरै अपेक्षा थियो । तर, जनताले अपेक्षा गरेका काम तपाईँले गर्न सक्नु भएन भन्ने गुनासो पनि छ नि ?

म विश्वस्त छु । ममाथि आम जनमानसले गर्नुभएको विश्वास मैले टुट्न दिएको छैन । जुन किसिमले बजेट आउँछ । बजेटका कार्यक्रमहरु प्रक्ष्येपण गरिन्छ । बजेटमा दुरगामी लक्ष्य र रणनीतिक कार्यक्रमहरु सुदूरपश्चिम प्रदेशले ल्याएका छन् । त्यो आफैमा अनुपम रहेका छन् ।

ती कार्यक्रम र योजना कार्यान्वयनको चरणमा जाँदैछन् । त्यसपछि आम नागरिकले अनुभूति गर्नेछन् । उनीहरुको प्रदेश सरकार छ र प्रदेश सरकार हाम्रो अभिभावक हो भन्ने बुझाई अहिले पनि रहेको छ ।

ती हाम्रा कार्यक्रम र योजना बनिसकेपछि हामीले चाहेको समाजबादन्मुख अर्थतन्त्रको परिकल्पना साकार हुन्छ । र, यो प्रदेश आर्थिक सम्वृद्धीको गोरेटोमा अगाडि बढ्छ भन्ने कुरामा विश्वास दिलाउन चाहन्छौं ।

सुदूरपश्चिम प्रदेश सरकार बनेर तपाई अर्थमन्त्री भइसकेपछि ल्याएका मेघा प्रोजेक्टहरु के के छन् ?

हामीले स्वरोजगार विकास कोष अगाडि बढाएका छौं । यहाँका वेरोजगार युवाहरुलाई रोजगारी दिन हामी अगाडि बढिरहेका छौं । कोरोना महामारीको समयमा पर्यटन, कृषि र उद्योगलाई प्रोहत्सान गर्नको लागि हामीले १ करोड रुपैयाँ बजेट सहुलियत दरमा कर्जा उपलब्धका लागि छुट्याएका छौं । त्यस्तै हामीले प्रदेशमा जडिबुटी प्रशोधन तथा संशोधन केन्द्र खोलिरहेका छौं । त्यस्तै प्रदेश र संघको मातहतमा रहेका जलविद्युत आयोजनाहरुलाई कसरी अगाडि बढाउने भन्ने कुराहरुमा तयारी गरिरहेका छौं ।

पश्चिम सेतीको लागि आवश्यक परामर्श हामी संघीय सरकारसँग गरिरहेका छौं । कर्णालीमै १० हजारभन्दा बढी मेघावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्न सकिने अनुमान छ । यस्तै, प्रदेश सकारले बस सञ्चालन गर्ने योजना बनाएको छ ।

हाम्रो पालामा होला नहोला तर एउटा राम्रो वातावरण सिर्जना गर्ने दौरानमा हामी छौं । अहिले कोरोना भाइरसको कारण समय प्रतिकुल भएकोले काम अगाडि बढाउन सकिएको अवस्था छैन । तर, अवस्था सामान्य भइसकेपछि काम युद्धस्तरमै अगाडि बढ्छ । त्यसपछि नागरिकले सम्वृद्धिको अनुभुति गर्छन् भन्ने हामीलाई लाग्छ ।

चालु आर्थिक वर्षमा सुदूरपश्चिम सरकारले ३३ अर्ब ३८ करोडको बजेट विनियोजन गरेको छ । बजेटमा उल्लेख्य रकम विनियोजन हुने तर त्यसको कार्यान्वयन र खर्च भने नहुने पुरानै प्रवृति अझै कायम छ । यो वर्ष पनि त्यस्तै त होला, हैन ?

हुँदैन, हामीले जति पटक बजेट ल्याएका छौं, त्यति पटक अन्य प्रदेशको दाँजोमा दोस्रो र तेस्रो पोजिसन हामीले ल्याएका छौं । जुन हाम्रो क्षमता छ, त्यही अनुरुप हामीले बजेट ल्याएका छौं । हामीले कहिले पनि महत्वाकांक्षी बजेट ल्याएका छैनौं । वित्तीय स्रोत र बजेटको आकार आँकलन पनि प्रदेश सरकारले शतप्रतिशत कायम गर्न सफल भएको छ । त्यसैले महत्वाकांंक्षी र सपना बाँड्ने काम गरेका छैनौं । खर्च पनि अन्य प्रदेशको भन्दा बढी नै गरिरहेका छौं । यो वर्षमा पनि प्रदेश सरकारले बढी नै खर्च गर्छ ।

विकास खर्च बढाएर रोजगारी सिर्जना गर्ने, विकास निर्माणका काम अगाडि बढाउने र कुल ग्राहस्थ उत्पादन पनि अझै बढाउने योजना छ । त्यही अनुरुप हामी अगाडि बढ्छौं ।

कोरोना भाइरसले जुन संकट उत्पन्न भएको छ, यो संकट व्यवस्थापनका लागि प्रदेश सरकार उदाशिन देखियो भन्ने जनगुनासो छ नि ?

होइन, प्रतिपक्ष र मिडियाले बोलेका कुराहरु कति धरातलमा टेकेर गरेको छ, कति सत्यको नजिकको छ भन्ने कुरा हामी सबैलाई थाहा छ । जति खर्च र व्यवस्थापन सुदूरपश्चि सरकारले गरेको छ, त्यति कुनै पनि प्रदेशले गरेको छ ।

सुदूरपश्चिम प्रदेशको दार्चुला, कञ्चनपूर डडेल्धुरा र कैलाली भारतसँग जोडिएका छन् । सबैभन्दा समस्या त सुदूरपश्चिम सरकारलाई भएको छ । त्यसको बाबजुत पनि हामीले एकदमै उत्कृष्ट काम गरेका छौं । सुदूरपश्चिम सरकारले कुनै पनि स्रोतको कमि हुन दिएको छैन । काम गर्ने सिलसिलामा अलिकति समस्या अवश्य नै हुन्छ । तर, सुदूरपश्चिम सरकार आफ्नो जिम्मेवारीबाट भागेको छैन । कोरोनालाई परास्त गर्नको लागि दीर्घकालिन योजनाहरु बनाइरहेका छौं ।

कोरोना महामारीको असर न्युनिकरण गरी नागरिकलाई राहत तथा समस्या समाधानको लागि प्रदेश सरकारले कति रकम खर्च गर्यो ? केके काम गर्यो ?

लगभग ७० करोडको हाराहारीमा हामीले खर्च गरिसकेका छौं । अझैं पनि खर्च गर्नको लागि आवश्यक बजेटको व्यवस्था गरेका छौं । जनतालाई रोगको त्रास र डरबाट अन्त्य गर्नको लागि कुनै पनि कसर बाँकी राख्दैनौं । त्यसका लागि स्रोत परिचालन गरिसकेका छौं । हामीले नागरिकलाई सरकार भएको अनुभुति पनि दिलाइसकेका छौं भन्ने हामीलाई आत्मगौरव भएको छ ।

अहिले रस्साकस्सीका रुपमा रहेको नेपाल कम्यनिष्ट पार्टी (नेकपा) भित्रको अन्र्तविरोध अर्थात शक्ति संर्घषले सुदूरपश्चि प्रदेशलाई कतिको असर गरेको छ ?

यसले सरकारलाई असर गर्न सक्छ जस्तो मलाई लाग्दैन । यसले सरकारलाई भन्दा पनि पार्टीलाई असर गर्न सक्छ । यसको असर सुदूरपश्चि प्रदेशमा कुनै छैन । मलाई लाग्छ, यो मन्थन भइरहेको छ । केन्द्रिय नेताहरुमा आवश्यक गृहकार्य भइरहेको छ । नेकपा सचिवालयमा सबै वरिष्ठ व्यक्तित्वहरु हुनुहुन्छ । उहाँहरुले यसलाई हल गरेर जानुहुन्छ भन्ने मलाई आशा छ ।

अन्तिममा, तपाईँ आम नागरिक र तपाईँका समकक्षीहरुसँग क्षमतावान व्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ । आफ्नो राजनीतिक करियर कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?

मैले व्यक्तिगत रुपमा मात्र सोचेर हुँदैन । पार्टीले मेरो मुल्याकंन गरेर कुन जिम्मेवारी र कुन भूमिकामा राखेर अगाडि बढाउँछ भन्ने कुरा पनि हो । आगामी दिनमा अझै कसरी जनताको अगाडि जान सकिन्छ । अझै कसरी जनमैत्री बजेट बनाउन सकिन्छ भन्नेतर्फ मेरो ध्यान जान्छ । अझै कसरी जनताका आशा र आकांक्षा पूरा गर्न सकिन्छ भन्नेतर्फ मेरो ध्यान जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.