दाबी भुक्तानीमा ढिलाई र पोलिसीमा परिवर्तनपछि ह्वात्तै घटे काेराेना बीमा गराउने

  २०७७ कार्तिक २३ गते १४:००     नविन पोखरेल

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण भएका व्यक्तिलाई आर्थिक राहत दिन भन्दै ल्याइएको कोरोना बीमामा दाबी भुक्तानीमा भएको ढिलाई तथा पोलिसीमा भएको नीतिगत परिवर्तनले बीमा गराउनेको संख्या ह्वात्तै घटेको छ ।

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले बैशाख दोस्रो सातादेखि कोरोना बीमा संचालनमा ल्याएको थियो । सुरुमा यो बीमाप्रति सर्वसाधारणको धेरै आकर्षण भएपनि भदौ २८ गते गरिएको नीतिगत परिवर्तन र दाबी भुक्तानीमा धेरै समस्या भएपछि आकर्षण निकै कम भएको छ ।

बीमा समितिका अनुसार बैशाख दोस्रो सातादेखि साउन २१ गतेसम्ममा ६ लाख ३१ हजार १ सय ५८ जनाले कोरोना बीमा गराएका थिए । यस्तै, साउन २२ गतेदेखि भदौ २८ गतेसम्ममा थप ९ लाख ५३ हजार १ सय २० जनाले कोरोना बीमा गराएका थिए ।

तर, समितिले दाबी भुक्तानी असाध्यै धेरै हुन सक्ने आकलन गर्दै भदौ २८ गते कोरोना बीमा पोलिसी परिवर्तन गरेको थियो । सुरुमा कोरोना भाइरस संक्रमण परीक्षणको पीसीआर विधिबाट आएको पोजेटिभ रिपोर्टका आधारमा बिमांक रकम दाबी भुक्तानी गर्ने व्यवस्था गरिएको थियो । भदौ २८ गतेदेखि भने पीसीआर परीक्षणबाट कोरोना संक्रमण पोजेटिभ देखिए २५ हजार रुपैयाँ नगद र बाँकी ७५ हजार रुपैयाँसम्म अस्पतालको बिलका आधारमा दाबी भुक्तानी गर्नेगरी पोलिसी परिवर्तन गरिएको छ ।

समितिले गरेको यस्तो परिवर्तनपछि बीमा गराउनको संख्या असाध्यै कम भएको तथ्यांकले देखाएको छ । भदौ २८ गतेसम्ममा १५ लाख ८४ लाख २ सय ७८ जनाले कोरोना बीमा गराएका थिए । तर, भदौ २९ गतेदेखि कात्तिक २० गतेसम्ममा जम्मा १ लाख ८६ हजार ६ सय ४८ जनाले मात्रै कोरोना बीमा गराएका छन् ।

समितिले दिएको जानकारी अनुसार कात्तिक २० गतेसम्ममा १७ लाख ७० हजार ९ सय २६ जनाले कोरोना बीमा गराएका छन् ।

यद्यपि बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल कोरोना बीमामा आकर्षण राम्रो रहेको बताउँछन् ।

‘कोरोना बीमा कोरोना महामारीलाई नै लक्षित गरेर ल्याइएको बीमा पोलिसी हो, यही महामारीको बीचमा यतिका बीमितको सहभागिता हुनुलाई राम्रो मान्न सकिन्छ’, कार्यकारी निर्देशक पौडेलले विकासन्युजसँग भने ।

कार्यकारी निर्देशक पौडेलले कोरोना बीमा हरेक वर्गका नागरिकले सहभागी हुन सक्ने किसिमले ल्याइएकाले यसमा सहभागिता धेरैको भएको हो ।

नेपाल सरकारले पनि चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत नै कोरोना बीमामा विषेश चासो देखाएको छ । चालु आर्थिक वर्षको बजेटमा सरकारी कर्मचारीको कोरोना बीमा सरकारले शतप्रतिशत अनुदान दिएर गर्ने तथा सर्वसाधारणले यस्तो बीमा गराउँदा सरकारले ५० प्रतिशत अनुदान दिने व्यवस्था गरिएको छ । कोरोना बीमाको बीमाशुल्क ६ सय रुपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.