एक पटक दाबी लिएपछि फेरि कोरोना बीमा गर्न मिल्छ ?

  २०७७ कार्तिक २२ गते १२:२७     नविन पोखरेल

काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणले विश्व नै प्रभावित भइरहेको छ । नेपाल पनि यो महामारीबाट अछुतो छैन ।

नेपालमा भने गत बैशाख पहिलो सातादेखि कोरोना बीमा संचालनमा छ । सुरुमा प्रतिव्यक्ति ५० हजार र १ लाख रुपैयाँ गरी दुई प्रकारका बीमा पोलिसी संचालनमा ल्याएको थियो । कोभिड संक्रमित कम आय भएका गरिब नागरिकलाई लक्षित गरेर ल्याइएको यो बीमा योजनामा कोभिड संक्रमण भएको पीसीआर परीक्षणबाट प्रमाणित भएमा बिमांक रकम दाबी भुक्तानी दिने व्यवस्था थियो ।

यो बीमा पोलिसीमा अहिले केही परिवर्तन भइसकेको छ । पछिल्लो समय कोभिड संक्रमणबाट पीडित हुने नेपालीको संख्या बढ्दो क्रममा छ । यसैकारण कोरोना बीमाको आकर्षण पनि बढ्दो क्रममा छ । तर, अहिले सर्वसाधारणमा कोभिड संक्रमण पुष्टी भएर एक पटक कोरोना बीमा दाबी रकम लिएपछि फेरि यो बीमा गर्न पाइन्छ कि पाइदैन भन्ने जिज्ञासा धेरै छ ।

एक पटक कोरोना बीमा गरेका व्यक्तिले फेरि कोरोना बीमा गर्न नपाउने सरोकारवालाले बताएका छन् ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले दिएको जानकारी अनुसार बीमा कम्पनीहरुले सामाजिक उत्तरदायित्व स्वरुप ल्याइएको कोरोना बीमामा एक पटक सहभागी भएपछि फेरि अर्काे पटक सहभागी हुन पाइदैन ।

‘अहिले कोरोना महामारीले सबैतिर असर गरेको बेलामा कोरोना बीमा पोलिसी ल्याइएको हो, यो बीमाको उदेश्य महामारीमा परेकाहरुलाई आर्थिक राहात मिलोस् भन्ने हो, यस बीमामा पनि केही मापदण्ड तोकिएका छन्, मापदण्ड अनुसार दोहोरो बीमा गर्न वा एक पटक बीमा गराई सकेपछि फेरि बीमा गर्न मिल्ने व्यवस्था छैन’, कार्यकारी निर्देशक पौडेलले विकासन्युजसँग भने ।

यस्तै, अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले दिएको जानकारी अनुसार एकै जनाले कोरोना बीमा दोहोर्याएर गर्न मिल्दैन ।

‘कोरोना बीमाको दाबी भुक्तानी सकेसम्म छिटो गर्नको लागि पहल भइरहेको छ, विश्वभर फैलिएको महामारीको असरबाट कसैले पनि आर्थिक नोक्सानीमा पर्नु नपरोस् भनेर कोरोना बीमा योजना ल्याइएको हो तर, यो योजनाका पनि आफ्नै प्रकिया छन्, एक पटक कोरोना लागेर दाबी पाएकाहरुले फेरि कोरोना बीमा गर्न मिल्दैन’, प्रमुख कार्यकारी अधिकृत खत्रीले भने ।

कसरी गर्ने कोरोना बीमा ?

अहिले कोराना बीमा गराउन चाहनेसँग उमेर र परिचय खुल्ने सरकारी प्रमाणपत्र आवश्यक पर्छ । यो भनेको नागरिकता वा स्थानीय तहबाट उमेर र परिचय खुल्ने सिफारिस पत्र हो । यस्तो सिफारिस बुझाउँदा साथमा आफ्नो सक्कली परिचय पत्र, नागरिकता वा अन्य कागजातको फोटोकपी पेश गुर्न पर्ने हुन्छ ।

नागरिकता नभएका बालबालिकाको हकमा जन्म दर्ताको प्रमाण पत्र पेश गर्नु पर्छ ।

छैन व्यक्तिगत कोरोना बीमा

अहिले व्यक्तिगत बीमाभन्दा पनि सामूहिक बीमामा जोड दिइएको छ । यसको मतलब अहिले एक जनाको मात्र कोरोना बीमा गर्न मिल्दैन । कोरोना बीमा गर्न चाहनेले कार्यालयबाट वा पारिवारीक रुपमा सामूहिक बीमा गराउन मिल्छ ।

कोरोना बीमा गरेको ३० दिनसम्म कोरोना देखिएमा बीमा कम्पनीबाट कुनै दाबी भुक्तानी पाइदैन । तर, ३० दिन पछाडी कोरोना भाइरस संक्रमणको पीसीआर विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएमा दाबी भुक्तानी पाइन्छ ।

दाबी भुक्तानीको समय

कोरोना बीमाको दाबी भुक्तानीमा केही ढिलाइ भएको जनगुनासो आइरहेको छ । यस्तै, गुनासो व्यापक रुपमा आएपछि कोरोना बीमाको दाबी भुक्तानीको समय एक हप्ता तोकिएको छ । अर्थ मन्त्रालयसँगको समन्वयमा बीमा समितिले यसै साता कोरोना बीमाको दाबी भुक्तानी एक साताभित्र दिनुपर्ने निर्देशन बीमा कम्पनीहरुलाई दिइसकेको छ ।

अब क्यास २५ हजार मात्रै

कोरोना बीमा बैशाख पहिलो साता संचालनमा ल्याइएको हो । सो समयमा बीमा गराउने व्यक्तिले अहिलेपनि पीसीआर गर्दा कोरोना भाइरस संक्रमण भएको पोजेटिभ देखिएमा १ लाख वा ५० हजार (जति बिमांक रकम बराबरको बीमा गराइएको छ, त्यति रकम नै) रुपैयाँ क्यास पाउछन् । तर यो पुरानो पोलिसी हो । भदौ २८ बाट कोरोना बीमा पोलिसीमा हेरफेर भइसकेको छ ।

सोही कारण भदौ २९ गतेबाट कोरोना बीमा गराएका व्यक्तिले पीसीआर पोजेटिभ रिपोर्ट आएको आधारमा २५ हजार रुपैयाँ मात्रै पाउँछन् । तर, अस्पतालमा भर्ना भएको अवस्थामा भने बिलको आधारमा ७५ हजार रुपैयाँसम्म दाबी भुक्तानी पाइन्छ ।

कोरोना भाइरस पोजेटिभ देखिएर २५ हजार रुपैयाँ लिएका बिमितले अस्पताल नगई होम आइसोलेसनमा बसेमा बाँकी रहेको ७५ हजार रुपैयाँ पाउदैनन् ।

अहिले कोरोना बीमा १ लाख रुपैयाँ बिमांक बराबरको योजना अनुसार मात्र संचालनमा छ । विगतमा १ लाख र ५० हजार रुपैयाँ बिमांक बराबरको बीमा पोलिसी संचालनमा थिए भने व्यक्तिगत र सामूहिक बीमा गरि २ किसिमका बीमा पोलिसी ल्याइएको थियो ।

सरकारी कर्मचारीलाई निःशुल्क, अन्यलाई ५० प्रतिशत बीमा शुल्कमा सरकारको अनुदान

अहिले सरकारी कर्मचारीहरुको कोरोना बीमाको बीमा शुल्क सरकारले नै व्यहोर्दै आएको छ ।

यस्तै, आमनागरिकको कोरोना बीमाको हकमा सरकारले ५० प्रतिशत अनुदान उपलब्ध गराउदै आएको छ । यसको मतलब अहिले एक जनाको कोरोना बीमा गर्दा लाग्ने ६ सय रुपैयाँ बीमा शुल्कमा ५० प्रतिशत सरकारले अनुदान दिएका कारण प्रतिव्यक्ति ३ सय रुपैयाँ तिरे हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.