नेपाली उद्योग क्षेत्रले एक नक्षेत्र गुमाएको दिन

  २०७७ कार्तिक १८ गते १७:३७     विकासन्युज

काठमाडौं । ‘रारा’ मात्रै भन्ने बित्तिकै मानिसको मनमा चाउचाउको याद दिलाउँछ । त्यही रारा चाउचाउ नेपाल भित्र्याउने उद्योगी हुन् सुर्य बहादुर केसी । तिनै केसीको सोमबार राति निधन भएको छ । आज नेपाली उद्योग व्यवसाय क्षेत्रले त्यही एक नक्षेत्र गुमाएको छ ।

रारा चाउचाउको उत्पादक हिमश्री फुड्स प्रालिका संस्थापक रहेका उनी उद्योगी मात्र होइनन् राजनीतिज्ञ पनि हुन् । उनी व्यवसाय र राजनीति दुवैमा सफल थिए ।

प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद समेत रहेका केसीको निधनले उद्योग व्यवसायदेखि राजनीतिसम्म ठूलो रिक्तता महशुस भएको छ । राजनीतिमा लागेर राप्रपाको कोषाध्यक्षसमेत भएका केसी पछिल्लो समय नेपाली कांग्रेसमा सक्रिय थिए ।

उनी माछापुच्छ्रे बैंकका संस्थापक अध्यक्ष समेत हुन् । हाइड्रोपावर, शिक्षा र निर्माण व्यवसायमा समेत केसीको लगानी छ । केसी पोखरा उपमहानगरपालिकाका तत्कालीन प्रधानपञ्च थिए । उनी पहिलो संविधानसभामा राप्रपाबाट सांसद बनेका थिए ।

हिमश्री फुड्स प्रालि, माछापुच्छ्रे बैंकबाहेक युनाइटेड इदि मर्दी एण्ड आरबी हाइड्रोपार, भगवती हाइड्रोपावर, तास हाइड्रोपावर, गण्डकी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी प्रालि लगायतका उनी संस्थापक हुन् ।

तीन छोरा र श्रीमती रहेका केसीको निधन ६५ वर्षको उमेरमा भयो । व्यवसायी तथा सांसद केसीको सामाजिक क्षेत्रमा पनि उनको उच्च योगदान रहेको थियो । उनको अचानक रक्तचाप कम भएपछि निधन भएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.