अनावश्यक हस्तक्षेपपछि महानिर्देशकले दिए राजीनामा, भन्छन्ः आत्मसम्मानमा धक्का लाग्ने डरले बाहिरिएँ

  २०७७ कार्तिक १८ गते ११:०८     विकासन्युज

फाइल फाेटाे

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक धरणीधर खतिवडाले पदबाट राजीनामा दिएका छन् । उनले कात्तिक मसान्तबाट लागू हुने गरी कात्तिक १६ गते नै महानिर्देशकको पदबाट राजीनामा दिएका हुन् ।

महासंघका अध्यक्ष भवानी राणाले पनि उनकाे राजीनामा स्वीकृत गरिसकेकी छन् । उनी गत वर्ष महासंघको महानिर्देकमा नियुक्त भएका थिए ।

उनी मंसिर मसान्तसम्मका लागि महासंघको महानिर्देशकमा नियुक्त भएका भएपनि उनले कार्यकाल सकिन डेढ महिना अगावै राजीनामा बुझाएका हुन् । पूर्व सचिव खतिवडा यस अघि पनि महासंघको महानिर्देशक भएका थिए । उनले पशुपति मुरारका अध्यक्ष भएपछि राजीनामा दिएका थिए ।

उनी प्रदीपजंग पाण्डेका पालामा महानिर्देशक नियुक्त भएका थिए। महासंघकी अध्यक्ष भवानी राणा, उपाध्यक्षहरु उमेशलाल श्रेष्ठ, किशोरकुमार प्रधान र चन्द्रप्रसाद ढकालसहितको पदाधिकारी बैठकले खतिवडालाई ल्याउने निर्णय गरेको थियो ।

तर, अहिले कार्यकाल नसकिँदै उनी बाहिरिएका छन् । उनले अब महासंघमा आत्मसम्मानको रक्षा हुँदैन कि भन्ने लागेर बाहिरिएको प्रतिक्रिया दिए । ‘मेरो ३५/३६ वर्षको वर्षको प्रोफेष्नल एक्सपर्टिज छ, त्यसको खोजिनीति हुँदैन कि भन्ने मलाई लाग्यो, मंसिर मसान्तसम्म काम निरन्तर गर्दा राम्रो हुन्न कि भन्ने लाग्यो, त्यसैले मैले छोडेँ,’ उनले विकासन्युजसँग भने ।

तर, स्राेतका अनुसार वर्तमान अध्यक्ष भवानी राणाले महानिर्देशक खतिवडाको विभिन्न काममा हस्तक्षेप गरेपछि उनी राजीनामा दिन बाध्य भएका हुन् । महासंघको निर्वाचन नजिकिँदा निर्वाचनका लागि पुर्याउनु पर्ने आधारभूत पक्ष तथा पद्दतीहरु राणाले वेवास्ता गरीआफुखुशी काम गर्दा असन्तुष्ट भई खतिवडाले राजीनामा दिएको स्रोतको भनाई छ ।

‘महानिर्देशज्यू सैद्धान्तिक रुपमा काम गरेर सरल र स्वभाविक रुपमा निर्वाचन गराउने पक्षमा हुनु हुन्थ्यो तर अध्यक्ष राणाले आफ्नो रोजाई र आफूले चाहेको काम गर्न लगाउँदा उनी त्यसमा असन्तुष्ट देखिन्थे, अहिले त राजीनामा नै गरिसक्नु भयो,’ स्रोतले भन्यो ।

उनी बाहिरिएसँगै अहिले कार्यबाहककाे रुपमा मिना श्रेष्ठले काम गरिरहेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.