एफएनसीसीआई निर्वाचनः काठमाडौंमा जम्मा हुँदै व्यवसायी, सहमतिको अन्तिम प्रयास गरिदै

  २०७७ कार्तिक १४ गते १४:५३     विकासन्युज

काठमाडौं । मंसिर ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५४औं वार्षिक साधारणसभा तथा निर्वाचनको लागि व्यवसायी काठमाडौंमा भेला हुन थालेका छन् ।

काठमाडौं उपत्यका बाहिर रहेर उद्योग व्यवसाय गरिरहेका तथा दशैंको लागि काठमाडौं बाहिर गएका व्यवसायी काठमाडौंमा भेला हुन थालेका हुन् ।

महासंघको आगामी वार्षिक साधारणसभामा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार बनेका किशोर प्रधान आज (१४ कात्तिक) काठमाडौं आउँदै छन् । उनी विराटनगरमा रहेर व्यवसाय गर्छन् । यस्तै, महासंघ कोषाध्यक्ष निरक केसी पनि आइतबार काठमाडौं आउँदै छन् । उनी सुर्खेतमा व्यवसाय गर्छन् ।

महासंघमा आवद्ध अन्य उद्योगी व्यवसायी पनि काठमाडौंमा भेला हुन थालेका छन् । दशैंको माहोल सकिएको र निर्वाचन नजिएका कारण व्यवसायी काठमाडौंमा जम्मा हुन थालेका हुन् ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट केही उद्योगी व्यवसायी पीडित बनेका छन् । वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकाल कोराना संक्रमणबाट दशैं अघि मात्रै मुक्त भएका छन् ।

महासंघको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षमा ढकाल र प्रधानले प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा जुटेका छन् । यो महामारीको समयमा चुनावी प्रतिस्पर्धामा उत्रनुको साटो सर्वसम्मत नेतृत्व चयनको प्रक्रियामा जादा सबै पक्षलाई फाइदा हुने भएकोले सर्वसम्मत नेतृत्व चयन गर्न दबाब बढिरहेको छ । यस्तै, दबाबको कारण वरिष्ठ उपाध्यक्षदेखि अन्य पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने अन्तिम पहल हुने व्यवसायीले बताएका छन् ।

‘चुनावी प्रतिस्पर्धामा उत्रिने बेला अहिले छैन, चुनावकै कारण व्यवसायीलाई संक्रमण फैलियो वा कुनै उम्मेदवार नै विरामी पर्नुभयो भने त्यसले देशलाई नै घाटा गर्छ, त्यसैले सर्वसम्मत नेतृत्व चयन गरेर अघि बढ्दा सबैपक्षलाई फाइदा हुने देखेर सोही प्रकारको लविङ गरिरहेका छौं, सकारात्मक परिणाम आउने झिनो सम्भावना बाँकी छ,’ एक व्यवसायीले भने ।

सर्वसम्मतीको प्रयास कसरी भइरहेको छ भन्ने बारेमा उनले केही खुलाएनन् ।

‘दुई जना उम्मेदवार भएको ठाउँमा सर्वसम्मती भनेको एक जनाले छोड्ने र अर्काेले नेतृत्व लिने भन्ने हो, तर कसले छोड्ने र कसले लिने, अहिले छोड्ने व्यक्तिलाई कसरी समेट्ने भन्ने जस्ता विषयमा छलफल भइरहेको छ, त्यसका विभिन्न मोडालिटीमा छलफल पनि भइरहेको छ, सर्वसम्मतीमा नेतृत्व चयन हुनुपर्छ भन्ने आवाज बलियो रुपमा उठेकोले सकारात्मक परिणाम निस्कने आशामा छौं, बाँकी कुरा अर्काे सातासम्ममा थप प्रष्ट हुँदै जाला,’ उनले थपे ।

File name : 54agm_election_notice.pdf

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.