बाइक राइडिङ्ग मन्त्रः जसले तपाईंलाई सम्भावित दुर्घटनाबाट जोगाउँछ

  २०७७ कार्तिक १० गते २१:२०     विकासन्युज

काठमाडाैं । बाइक चलाउँदा हामी सानो सानो कुरालाई प्रायः नजरअन्दाज गर्ने गर्दछौं जुन दुर्घटनाको ठूलो कारण पनि बन्न सक्दछ । दुर्घटना जहाँ पनि र जहिले पनि हुन सक्ने कुरा हो । त्यसै कारणले हामीले आफ्नो सुरक्षामा कुनैपनि किसिमको सम्झौता पटक्कै गर्नु हुँदैन ।

आज हामी केहि त्यस्ता उपायहरुको बारेमा चर्चा गर्न गइरहेका छौं जसलाई बाइक चलाएको समयमा ध्यानमा राख्नाले सम्भावित दुर्घटना बाट आफूलाई जोगाउन सकिन्छ ।

राम्रो हेल्मेटको प्रयोग

हेल्मेट लगाउने भन्दा पनि क्वालिटीको हेल्मेट लगाउने भन्ने कुराले बढि महत्व राख्दछ । दुर्घटनाको बेला हाम्रो जीवन बचाउन हेल्मेटको ठूलो भूमिका रहेको हुन्छ । तसर्थ हेल्मेट किन्ने बेलामा त्यसमा राम्रो मेटेरियलको प्रयोग भएको छ कि छैन, मान्यताप्राप्त ब्राण्डको हो कि होइन र त्यसैगरी सो हेल्मेट लगाउँदा आफूलाई कम्फर्टेवल हुन्छ कि हुँदैन भन्ने कुराहरुलाई ध्यानमा राख्नु पर्दछ ।

द्रुत गतिमा नचलाउने

ओभरस्पिडिङ्गले दुर्घटना निम्त्याउने हुनाले बाइकलाई कहिले पनि द्रुत गतिमा चलाउनु हुँदैन । सडकमा तोकिए अनुसारको स्पिडमा मात्र बाइक चलाउनु पर्दछ । त्यसैगरी चालकले आफूले कन्ट्रोल गर्न सक्ने गतिमा मात्र बाइक चलाउने बानी बसाउनु पर्दछ ।

दुवै ब्रेकको राम्रो प्रयोग

एउटा राम्रो बाइकरले दुवै ब्रेकको सहि प्रयोगबाट मात्र बाइकलाई चाहेको समयमै रोक्ने गर्दछ । अगाडि वा पछाडि मध्येको कुनै एउटा मात्र ब्रेकको प्रयोग गर्दा बाइक चिप्लिने सम्भावना प्रवल हुन्छ । विज्ञहरुका अनुसार अगाडिको ब्रेकमा ७० प्रतिशत दबाव र पछाडि चाहिँ ३० प्रतिशत दबाब रहन गयो भने मात्र त्यसलाई राम्रो ब्रेकिङ्ग मानिन्छ ।

इण्डिकेटरको प्रयोग

शिकारु चालकहरुले बाइकलाई कतै मोड्नु पर्दा प्रायःजसो अचानक नै दिशा बदल्छन् जसले कुनैपनि बेला दुर्घटना निम्त्याउन सक्छ । लेनमा आफ्नो दिशा बदल्नु परेको खण्डमा इण्डिकेटर बालेर अरुलाई आफू कुन दिशातर्फ मोडिँदैछु भन्ने कुराको अग्रिम जानकारी दिनु पर्दछ ।

अन्य सवारी सित उचित दुरी कायम गर्ने

बाइक चलाएको बेला आफ्नो नजिकको स्थितिमा नजर राख्नुपर्दछ । आफ्नो अगाडि, पछाडि अथवा दायाँ बायाँ रहेका सवारीहरु सित उचित दुरी बनाइराख्नु पर्दछ । यसो गर्नाले सम्भावित दुर्घटना बाट बच्न प्रशस्त समय रहन्छ ।

ब्लाइण्ड टर्नमा सावधानी

ब्लाइण्ड टर्न अर्थात् विपरित दिशाबाट कुन सवारी आइरहेको छ भनी देख्न मुश्किल हुने मोडमा धेरै सावधानी अपनाउनु पर्ने हुन्छ । यस्ता मोडहरुमा कहिल्यै पनि द्रुत गतीमा बाइक चलाउने अथवा अर्को सवारीलाई ओभरटेक गर्ने गल्ती गर्नुहुँदैन ।

एबीएस जडित बाइकको प्रयोग

एबीएस यानिकि एन्टी–लक ब्रेकिङ्ग सिस्टमले दुर्घटनालाई धेरै हदसम्म कम गर्दछ । एबीएस जडित बाइकमा अकस्मात ब्रेक लगाएको वेला चक्का लक हुन पाउँदैन र बाइक चिप्लिएर दुर्घटना हुने सम्भावना पनि कम हुन्छ । त्यसैले सम्भावित दुर्घटनाबाट जोगिनका लागि एबीएस जडान भएको बाइक किन्नु नै बुद्धिमानी ठहर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.