सभापति देउवाद्वारा घर—डेरामै सिमित रहेर पर्व मनाउन आग्रह

  २०७७ कार्तिक १० गते १५:२९     विकासन्युज

काठमाडाैं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले घर—डेरामै सीमित रहेर पर्व मनाउन सबै नेपाली दिदीबहिनी दाजुभाइहरुमा अनुरोध गरेका छन् ।

विजया दशमीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सामाजिक सांस्कृतिक पर्वहरु मनाउँदा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अपिलसमेत गरेका छन् ।

सभापति देउवाले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा शुभ–कामना व्यक्त गर्दै कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणप्रति सचेतता अपनाइ मठ मन्दिर जाँदा मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम राख्न पनि आग्रह गरेका हुन् ।

“दशैं हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो । अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको छ”, सन्देशमा उनले भनेका छन् । सभापति देउवाले शुभकामना सन्देशमार्फत विजयादशमीले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्तिबीचको एकतालाई अझ मजबूत बनाउँंदै आएको र बनाउनुपर्ने उल्लेख गरेका छन् ।

“कोरोना भाइरस सङ्क्रमणको नियन्त्रणमा पर्याप्त समय हुँदाहुँदै पनि सरकार पूर्ण रुपमा असफल भएको छ । आम जनताको स्वास्थ्य खतरामा परेको छ, अर्थतन्त्र धराशायी भएको छ । जनताको जीवन अत्यन्तै कठिन अवस्थाबाट गुज्रीरहेको छ । सरकार जनताका प्रति संवेदनहीन, गैर जिम्मेवार, अनुत्तरदायी र कर्तव्य विमुख देखिएको छ”, सन्देशमा उनले भनेका छन्, “कोरोना भाइरस रोकथाममा सरकारले देखाएको उदासिनताका कारण बढ्दो सङ्क्रमणलाई कम गर्न नागरिकहरु आफै पनि सचेत र सजग हुन जरुरी देखिएको छ ।”

विजयादशमीका अवसरमा सभापति देउवाले आफू र नेपाली कांग्रेसका तर्फबाट स्वदेश तथा विदेश रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.