भारतबाट पठाएको रेमिट्यान्स नेपालमा पाउन सकस, आइएमई रेमिट र मुथुत फाइनान्स धाउँदै उपभाेक्ता

  २०७७ कार्तिक ८ गते २१:२६      सन्तोष रोकाया

 

धनगढी । कैलालीका प्रविन जोशी धनगढीको एक आइएमई सेन्टरमा निरन्तर जान थालेको आज ४ दिन भयो । भारतको कर्नाटकमा काम गरिरहेका उनका बुबाले उनलाई दशैंका लागि खर्च भनेर मुथुत फाइनान्स हुँदै आइएमई मार्फत पठाएको रकम आज ४ दिन बित्दा पनि उनले पाएका छैनन् ।

उनी हरेक दिन बैंक जान्छन् । आफ्ना बुवाले पठाएको आइएमई कोड नम्बर दिएर पैसा लिन खाेज्छन् प्रत्येक दिन आइएमई सेन्टरका प्रतिनिधिले उनलाई पैसा नआइपुगेको बताउँदै फर्काउँछन् ।

भारतमा उनका बुबा पनि छटपटाइरहेका छन् । उनका बुवा पनि हरेक दिन आफूले पैसा पठाएको मुथुत फाइनान्समा जान्छन् र पैसा किन गएन भन्ने प्रश्न सो फाइनान्सका प्रतिनिधिलाई गर्छन् ।

प्रविनका अनुसार भारतको मुथुत फाइनान्सका प्रतिनिधिले शुरुमा एक घण्टा समय लाग्छ भनेपनि पछिल्लो दिन भने पैसा पठाइसकेको उत्तर फर्काउछन् । तर, यता धनगढी आइएमई सेन्टरका प्रतिनिधिहरु भने भारतबाट एप्रुभ नै नभएको जवाफ दिन्छन् ।

यसरी भारतको मुथुत फाइनान्स र नेपालको आइएमई सेन्टरको झमेलामा परेका प्रविनका बुबा छोरा पठाएको ५० हजार रुपैयाँ नै गायब हुने होकि भन्ने चिन्तामा छन् ।

प्रविन जस्तै भारतबाट पैसा पठाएका धेरै मानिसहरु आजभोलि समयमै पैसा नपाएको गुनासो गर्छन् । धनगढीकै शर्मिला सुनारले पनि धनगढीको चौराहामा रहेको आएमई सेन्टर धाउन थालेको ३ दिनपछि आज बल्ल पैसा पाइन् । उनले हातमा पैसा लिँदै खुसी हुँदै भनिन्, भारतबाट आइसकेको भन्थे, यता भने आइपुगेको हुँदैेन, तीन दिनपछि पैसा पाएँ, उता पनि श्रीमानले दैनिक बैंकमा गएर सोधिखोजी गर्नुहुन्थ्यो ।’

पहिला पनि श्रीमानले पठाएकाे पैसा उनले आइएमईबाट बुझ्दै आएका थिए । ‘पहिले पैसा पठाउँदा १ घण्टामै पाइन्थ्याे, यस पटक तीन दिन कुर्नु पर्याे’ शर्मिलाले भनिन् ।उनले कुनै कागजातमा समस्या नभएपनि यस पटक भने किन ढिलाई भएको हो बुझ्न नसकेको बताइन् ।

भारतबाट पठाएको पैसा नेपाल नआएपछि अधिकांशले कतै रकम नै हिनामिना हुने त होइन भन्ने चिन्ताले पठाइसकेको रकम पनि भारतको मुथुत फाइनान्सबाट फिर्ता लिएको भारतबाट पैसा पठाउनेहरुका आफन्त बताउँछन् ।

नेपालीहरुको महान पर्व दशैं नजिकिएसँगै भारतमा रहेका आफन्तहरुले पठाएको रकम समयमै नपाउँदा धनगढी लगायत ठाउँका सेवाग्राहीहरु समस्यामा परेका छन् । धनगढीको चौराहामा स्थित ग्लोबल आइएमई सेन्टरका प्रतिनिधले पनि भारतबाट पठाएको रकम नेपालमा समयमै नपुग्ने गरेको स्वीकार गरे । उनले केही दिन यता भारतबाट पठाएको रकम समयमै नआउने गरेको बताए ।

उनले तीन दिनदेखि आज पैसा पाएकी महिलालाई इकिंत गर्दै भने, ‘उहाँ दैनिक यहाँ आउनु हुन्थ्यो, तर आज बल्ल पैसा पाउनु भयो, उताबाट पैसा आइएमई गरेको भएको हुने भए पनि एप्रुभ गरेको हुँदैन, पछिल्लो समय अधिकांशको यस्तै समस्या देखिन थालेको छ,’ ती व्यक्तिले भने ।

आइएमई लिमिटेडका महाप्रवन्धक खिलेन्द्र पौडेलले यस्तो खालको समस्या आफूहरुकाेमा अहिलेसम्म नआइपुगेको बताए ।

विकासन्युजसँगकाे कुरा लगत्तै यस विषयमा भारतका प्रतिनिधिहरुसँग जानकारी लिएकाे तर त्यस्ताे कुनै समस्या नआएको जवाफ पाएकाे उनले बताए । ‘भारतमा हाम्रो आइएमई फरेक्स भन्ने कम्पनी छ, भारतबाट नेपालमा पैसा पठाउँदा बैंक टु बैंकबाहेक काम गर्न पाउँदैन’  उनले भने ।

ग्राहककाे केवाइसीमा केही समस्या भएकाले भुक्तानीमा समस्या भएकाे हुन सक्ने उनकाे भनाइ छ । ‘त्यहाँको एजेन्सीहरुले पठाएको केवाइसी आइएमई फरेक्सले हेर्नु पर्ने हुन्छ, त्यसमा भारतको एजेन्सीलाई चाहिने डकुमेन्ट पुगेन भनेपछि सम्पर्क गर्छ, त्यसैले पनि अलिकति समय लाग्न सक्छ,’ उनले भने ।

उनका अनुसार दशैं नजिकिँदा ट्रान्जेक्सन पनि धेरै भइरहेको छ । अहिले बैंक वित्तीय संस्थाहरु पनि बन्द भएको कारणले धेरै ग्राहक र काराेबारकाे चाप बढेको छ । यस्ताे बेलामा कतिपय ऐजन्सीहरुले आफूसँग पैसा नहुँदा वाहिरबाट पैसा नआएको पनि भन्दिन्छन्, त्यस्तो पनि हुन सक्छ । कम्पनीकाे सिस्टममा भने कुनै समस्या नभएकाे उनले बताए ।

एक दुई घण्टा ढिलाई हुनु स्वभाविक भए पनि दुई तीन दिन ढिलाई हुन भारतमै अर्थात केवाइसीमा समस्या भएको हुन सक्ने उनको भनाई छ । २४ घण्टामा केवाइसीका गलत भएको भए पनि ग्राहकलाई फोन गरेर बोलाउने गरेको उनले बताए । तर, भारत स्थित मुथुत फाइनान्सका प्रतिनिधहरुले ग्राहकलाई केवासीका लागि पनि कुनै खवर नगरेको उनीहरु बताउँछन् ।

उनका अनुसार आफूले भारतस्थित टीमसँग पनि कुरा भइसकेकोले कुनै समस्या नभएको सुनाए । उनका अनुसार अहिले दैनिक हालसम्मकै ट्रान्जेक्सन हुने गरेको बताए ।

नेपाल स्थित आइएमई लिमिटेड र भारत स्थित मुथुत फाइनान्सले रेमिट्यान्स पठाउने समझदारी गरेका छन् । भारतमा रहेका नेपालीहरुले भारतको मुथुत फाइनान्सबाट नेपालको आइएमईमा पैसा पठाउँदै आएका छन् । पछिल्लो समय विदेशबाट पैसा पठाउनेहरुका लागि आइएमई लोकप्रिय बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.