प्रधानमन्त्री ओलीले स्पष्टिकरण दिँदै भने- नसक्नेलाई सरकारले निःशुल्क उपचार गर्छ

  २०७७ कार्तिक ७ गते १७:१९     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नसक्नेलाई सरकारले निःशुल्क उपचार गर्ने स्पष्ट पारेका छन् । निजी अस्पतालमा कतिपयले उपचार गराई सरकारलाई सहयोग गरिराखेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले उक्त स्पष्टिकरण दिएका हुन् ।

सरकार कहिल्यै पनि कर्तव्यविमुख नहुने र जनताको स्वास्थ्यमा गम्भीर भएको पनि उनले बताए । कोभिड-१९ संक्रमणमा परेका सबै नागरिकको यथोचित उपचारको व्यवस्था सरकारले गर्ने उनको भनाई छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गरेका छन् । महान पर्व वडा दशैंको अवसर पारेर प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गरेका हुन् ।

सम्बोधनका क्रममा प्रधनमन्त्री ओलीले कोभिड १९ संक्रमणको जोखिमलाई ध्यान दिँदै दशैं मनाउन आग्रह गरेका छन् । चाडवाडहरु पर्व र उत्सव मात्रै नभएर सामाजिक प्रबन्धका आधार समेत भएकाले महामारीको बिचमा पनि संयमित भई चाडपर्व मनाउन देशवासीलाई आग्रह गरेका छन् । ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्था भएका व्यक्तिमा संक्रमण घातक हुन सक्ने भएकाले सचेत भई जो जहाँ छौं त्यही चाडपर्व मनाउन आग्रह गरे ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोरोना रोकथाम तथा उपचारमा सरकार कर्तव्य विमुख हुन नखोजेको स्पष्ट पारेका छन् । विभिन्न माध्यममा कोरोना उपचारको विषयमा अनावश्यक अफवाहका आइरहको र त्यसको पछाडि नलाग्न समेत आग्रह गरेका छन् । लकडाउन भएदेखि अहिलेसम्म जनतालाई भयभित बनाउने र थुप्रै अफवाह फैलाउने काम भइराखेको पनि प्रधानमन्त्री ओलीले बताए । महामारी विरुद्धको लडाईमा पक्ष र विपक्षको स्वार्थमा नलाग्न र दाउपेच नबनाउन समेत आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.