बढ्दो सामाजिक विकृतिः बलात्कार

  २०७७ कार्तिक ६ गते १८:१६     काेपिला अर्याल

पछिल्ला दिनहरुमा बलात्कारका घटनाहरु बढी रहेका छन् र दैनिक पत्रपत्रिकाका मुख पत्रहरु समेत यस्तै प्रकारका समाचारका शीर्षकहरु छाइरहेका छन् । समाजमा दण्डहीनताको वृद्धि भइरहेको छ । समाजमा घरेलुहिंसा, वाल हिंसा दलित हिंसा महिला हिंसा, एसिड आक्रमण, बलात्कार, महिला माथि हुने यौन दुराचार, यौन हिंसा जस्ता घटनाहरुले सामाजिक विकृति र विसंगतिको पराकाष्टा नाघेको छ ।

जीवनको अन्तिम अवस्थामा पुगेका वृद्धा माथि हुने यौन हिंसा, पाँच सात वर्षका कलिला बालबालिका माथि हुने यौन हिंसा, आफ्ना हाड नाता भित्र रहने तथा बाबुले छोरी तथा छोराले आमा माथि गर्ने करणी, दाईले बहिनीमाथि तथा मानसिक रुपमा सन्तुलन ठीक नभएका र अशक्त माथि हुने गरेका हिंसाहरु, धर्म गुरुहरुले शिष्य माथि गर्ने गरेको क्रियाकलापको घटनाबाट समाजमा संस्कारयुक्त र नैतिक शिक्षाको कमी र राक्षस रुपी मानव सभ्यताको विकास भएको देखिन्छ । आफ्ना व्यक्तिगत इच्छा र क्षणिक स्वार्थ पुरा गर्ने सन्दर्भमा अरुको अस्मिता माथि, र बल प्रयोग गरी वा विभिन्न आश्वासनमा परेर महिलामाथि गरिने कतिपय घटनाहरुले मानिसको जीवनमा कस्तो किसिमको असर पार्दछ भन्ने कुरा नबुझ्दा यस किसिमका घटनाहरु वृद्धि भइरहेको छ ।

समाजमा भइरहेका घटनाहरु मध्ये निम्न प्रतिनिधि घटनाहरुले हाम्रो समाज कता जाँदै छ भन्ने देखाउँछ । २०७५ साउनमा कञ्चनपुर महेन्द्रनगरमा तेह्र वर्षीया बालिका निर्मला पन्तको बलत्कार पछि हत्या भयो । उक्त केशको दोषी अझै पत्ता लागेको छैन । मास्टा गाउँपालिका बझाङकी कक्षा ६ मा अध्ययनरत १२ वर्षीया बालिका सम्झना विकको गाइगोठमा जाँदा नजिकैको मन्दिरमा लगि बलात्कार गरी त्रिशुल रोपी हत्या भयो । समाजमा बालिका माथि हुने बलात्कार, वृद्ध माथि हुने बलात्कार, सामुहिक बलात्कारका घटनाहरु दैनिक जसो आइरहेका हुन्छन् तर पिडकलाई सामान्य कारवाहीमै छाड्ने गरिएको र कतिपय मुद्दामा त न्यायालयबाट पीडितले न्याय समेत नपाउँदा समाजमा दण्डहीनता दैनिक जसो बढिरहेको छ । कतिपय घटनाहरुमा प्रहरीले पीडितको उजुरी समेत नलिएको पाइन्छ ।

नेपालमा दिनानुदिन बलात्कारका घटनाहरु सार्वजनिक भइरहँदा नेपालमा नारीहरु कति सम्म असुरक्षित छन् भन्ने कुराको उजागर हुन्छ । एक जना घरबाट सकुशल बाहिर निस्केर घर फर्किँदा सग्लो आउने हो या होइन भन्ने पिरमा अभिभावक रुमलिरहनु पर्ने अवस्था छ । समाजमा बलात्कारको घटनालाई सामान्य रुपमा मिलाउने प्रयत्न गरिने र विभिन्न लोभ लालचमा राखी घटनालाई बाहिर नल्याउने परिपाटीले बलत्कारबाट पिडित वास्तविक नागरिकको संख्या बाहिर आउन सकेको छैन । समाजले आफु प्रति गर्ने वितृष्णा एवं भविष्य प्रतिको चिन्ताले गर्दा यस्ता प्रकारका घटनाहरु गुमनाम नै रहने गरेको छ ।

विश्वका करिब ३५ प्रतिशत महिलाहरु यौनजन्य हिंसाको सिकार हुने गरेका छन् । विश्वकै आँकडा हेर्ने हो भने पनि यौन हिंसाबाट पीडित महिलाहरुमध्ये १० प्रतिशत भन्दा कमले मात्र कानुनी रुपमा उपचार खोज्ने र पिडकलाई कारवाहीको लागि कानुनी प्रक्रिया सामेल हुने गरेका छन् ।

विभिन्न अन्तराष्ट्रिय निकायहरुले गरेको अध्ययन अनुसार विश्वमा सबैभन्दा बढी बलात्कारका घटनाहरु साउथ अफ्रिकामा हुने गरेको छ । साउथ अफ्रिका प्रत्येक १ लाख जना मानिस मध्ये १३२.४० जना यौन जन्य हिंसाको सिकार हुने गरेको तथ्यांक छ । विश्वकै महाशक्ति राष्ट्र अमेरिकामा समेत १ लाख जना मध्ये २७.३ जना मानिस यौनजन्य हिंसाको सिकार हुने गरेका छन् । नेपालमा भने तथ्यांक हेर्ने हो भने १ लाख जना मध्ये ०.८० जना मात्र यौनजन्य हिंसाको सिकार हुने गरेको छ । नेपालको सन्दर्भमा समाजले आन्तरिक रुपमै घटना मिलाउन खोज्ने तथा महिलाहरुले समेत घटना बाहिर ल्याउन नखोज्ने परिपाटीले पिडितको संख्या न्युन देखिएको भएतापनि वास्तविक पिडितको संख्या अत्याधिक रहेको देखिन्छ । विश्वकै घटनाहरु हेर्दा पनि प्रत्येक १ लाख जनसंख्यामा १०.०६ मानिस पिडित हुने गरेको देखिन्छ ।

सन् २०२० को तथ्यांकमा जम्मा २१० वटा यौनजन्य हिंसाको घटनाहरु मात्र प्रहरी समक्ष दर्ता भएका छन् । यसरी वास्तविक पिडितहरुले समेत घटनाहरु लुकाइदिदाँ पिडकहरु थप हौसिने र यस्ता प्रकारका घटनाहरुमा संलग्न हुन थप प्रोत्साहित हुने तर्फ सजग भई पिडकलाई कानुनी दायरामा ल्याउन पिडितले कानुनी उपचार खोज्नै पर्छ । साथै पीडित प्रति समाजले गर्ने नकारात्मक व्यवहारमा परिवर्तन नभएमा यस प्रकारका घटनाहरु सधै गौण नै रहने गर्दछन् ।

नेपालको संविधान २०७२ को घोषणा पश्चात् मुलुकी देवानी संहिता २०७४ घोषणा भयो र २०७५ साल भाद्र १ गते बाट कार्यान्वयनमा आएको उक्त संहिताको परिच्छेद १८ को उपदफा २२४ देखि २२८ सम्म बलात्कार र बलात्कारका कसुरको सजायको सम्बन्धमा स्पष्ट रुपमा लेखिएको छ । दफा २२४ मा यौन करणी, यौन दुव्र्यवहारको परिभाषा र त्यस्तालाई कसुर के रहने भन्ने व्याख्या गरिएको छ । दफा २२५ मा बालयौन दुराचार, २२६ मा पशुकरणीको बारेमा व्याख्या गरिएको छ । दफा २२७ मा कसुर र दण्ड सजायको व्यवस्था पनि गरेको छ । मुलुकी संहिता पनि स्पष्ट रुपमा गरिएको परिभाषा र पिडकलाई दिने सजाय तथा दण्ड एवं पिडितले पाउने न्यायका सम्बन्धमा स्पष्ट रुपमा उल्लेख भएतापनि समाजमा भइरहेको बलात्कारका घटनामा वृद्धि हुनेले कानुनीराजलाई ठाडो चुनौती दिदै समाज विकृति उन्मुख एवं भ्रष्टीकरण तर्फ जान लागेको त हैन भन्ने आभाष हुने गरेको छ ।

समाजमा विभिन्न निकायले बलात्कारका विरुद्ध अभियान चलाएका छन् । मानवअधिकारकर्मीको पहिलो माग नै यही विषयमा हुने गरेको छ । अन्तराष्ट्रिय समुदायहरुको समेत बलात्कार मुक्त समाज भन्ने नारा नै रहेको भएता पनि समाजमा नैतिक शिक्षा नभएसम्म यस्ता प्रकारका घटनामा कमी आउने छैन । जब सम्म नारीहरु निर्धक्क भएर पिडकका बारेमा कानुनी उपचार खोज्न सक्ने अवस्थामा आउँदैन र न्यायपालिकाबाट समेत निष्पक्ष निर्णयको अभिलाष पाइदैन, समाजमा बलात्कारका घटनाहरु अन्त्य हुने छैन । समाजले पीडित नारी माथि गर्ने अन्याय र लुकिछिपी घटना सामसुम पार्ने परिपाटी अन्त्य नभएसम्म यस प्रकारका घटनाहरु कमी नआउने भएकोले राज्यले पिडक र घटनालाई मिलाउन अग्रसर हुने समेतलाई कडा भन्दा कडा कारवाही हुने एवं यस्ता प्रकारका घटनामा संलग्नलाई छिटो न्याय सम्पादन गर्ने व्यवस्था मिलाउन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.