दश‌ैंमा सीताको सहुलियत उडान

  २०७७ कार्तिक ६ गते १५:०२     विकासन्युज

काठमाडाैं । चाडपर्वको समयमा महँगो भाडा तिरेर हवाई यात्रा गर्न बाध्य जुम्ली नागरिकले सीता एयरले सहुलियत उडान भरेसँगै राहतको महसुस गर्न थालेका छन् । सीता एयरले यही कात्तिक १ देखि सुर्खेत–जुम्ला–नेपालगञ्ज सहुलियत उडान गरिरहेको छ । कोभिड–१९ ले जनजीवन प्रभावित भइरहेका बेला सहुलियत उडान हुन थालेपछि उनीहरु निकै खुशी छन् ।

पहिले पाँच हजार ५०० मा तोकिएको भाडा अहिले घटाएर चार हजार १०० पु¥याइएको छ । पहिलेको तुलनामा अहिले एक हजार ४०० कममा उडान भइरहेको छ । ‘गो कर्णाली टुर एण्ड ट्राभल्स’का सञ्चालक ललित महतका अनुसार सहुलियत उडानले अब निरन्तरता पाउने छ ।

कर्णाली पर्यटन उत्थान समितिका संयोजकसमेत रहेका महतले दशैंमा जिल्ला बाहिर रहेका र जुम्लाबाट घर जाने तयारीमा रहेका नागरिकका लागि सहुलियत उडान शुरु भएको बताए । “कोरोनाका कारण सबै क्षेत्र प्रभावित छ । समयमै सस्तो भाडादरमा आवतजावत गर्न सकियोस् भन्ने उद्धेश्यले सहुलियत उडान गरिएको हो ।” उनले भने ।

सहुलियत उडानका लागि सीता एयर र गो कर्णालीबीच सम्झौता भएको छ । अन्य एयरलाइन्सले नेपालगञ्ज–जुम्ला वा सुर्खेत–जुम्ला हवाई भाडा पाँच हजार ५०० लिइरहेका छन् । सहुलियत उडान शुरु भएपछि झण्डै २०० बढीले यात्रा गरेका छन् । अहिले नेपालगञ्जका लागि दैनिक उडान भइरहेको छ । यस्तै बिहीबार र शुक्रबार सुर्खेत–जुम्लाको उडान तालिका सार्वजनिक गरिएको छ ।

सहुलियत उडानले जनतालाई थोरै भए पनि राहत भएको र यसलाई निरन्तरता दिने प्रयास भइरहेको सीता एयरले जनाएको छ । सीता एयरका नेपालगञ्ज क्षेत्रीय निर्देशक मनोज भारतीले अहिलेजस्तै सेवा अन्य समयमा समेत दिने जहाज र गो कर्णालीबीच समझदारी भएको बताए । अप्ठयारो परिस्थितिमा हवाई भाडामा सहुलियत दिनु निकै सकारात्मक कदम भएको अधिकारकर्मीको भनाइ छ । उपभोक्ता महासङ्घ नेपालका उपमहासचिव विष्णुप्रसाद तिमिल्सेनाले सहुलियत दरमा हवाई उडानका लागि आफूहरुले लामो समयदेखि आवज उठाउँदै आइरहेको बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.