दशैं दक्षिणामा प्रतिस्पर्धा, भाग्यशाली चिठ्ठा योजनामा गभर्नरको समर्थन

  २०७७ कार्तिक ५ गते २१:५२     विकासन्युज

काठमाडौं । यस वर्षको दशैंमा बैंकहरुबीच दक्षिणा दिनेमा प्रतिस्पर्धा शुरु भएको छ । मेगा बैंक नेपाल, बैंक अफ काठमाडौं, एनआईसी एशिया बैंक, सिद्धार्थ बैंकबीच दक्षिणा प्रतिस्पर्धा शुरु भईसकेको छ । डिजिटल भुक्तानी सेवा विस्तार गर्दै आएको कनेक्ट आईपीएसले १ लाख ५० हजार रुपैयाँ राशीको भाग्यशाली उपहार योजना (लक्की ड्र) चलाईरहेको छ ।

मेगा बैंक नेपालले दशैंमा दक्षिणा दिनका लागि ‘तीनमा तीन सय’ नामक अफर ल्याएको छ । बैंकले ल्याएको ‘डिजिटल दक्षिणा’ अफरमा दक्षिणा दिने व्यक्तिलाई बैंकले तीन सय रुपैयाँ दक्षिणा दिनेछ ।

त्यसका लागि मेगा बैंकका ग्राहकले मेगा स्मार्ट बैंकिङ एप प्रयोग गरेर फोन पेमार्फत कुनै पनि बैंकको तीन वटा खातामा दक्षिणा स्वरुप रकम पठाउनुपर्नेछ । दक्षिणा बापत रकम पठाउनेको खातामा मेगा बैंकबाट ३ सय रुपैंया ‘क्यासब्याक’ गर्नेछ । तर, रकम पठाउँदा विवरण (रिमार्कस्) मा ‘दक्षिणा’ भनी खुलाउन बैंकले अनुरोध गरेको छ ।

दशैंको टीकाको दिनदेखि पूर्णिमासम्म रहने यो अफरमा ग्राहकहरुले तीन वटा खातामा गरी न्यूनतम ५ सय रुपैंया दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्ने मेगा बैंकले जनाएको छ । तीन पटक गरी १५ सय दक्षिणा दिनेले ३ सय रूपैयाँ क्यासव्याक पाउने छ ।

कोरोनाको असहज परिस्थितिमा नोटबिहीन बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले यो योजना ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बताइन् ।

बैंक अफ काठमाण्डूले पनि यस्तै योजना ल्याएको छ । बैंकका ग्राहकले तीन पटक भिन्न भिन्न ब्यक्तिलाई बैंकको मोबाईल बैंकिङ्ग प्रयोग गरी दक्षिणा प्रदान गरेमा ३०० रुपैयाँ नगद उपहार दिने जनाएको छ । यो बैंकले दक्षिणको दर न्यूनतम १००० वा सो भन्दा बढी हुनुपर्ने जनाएको छ ।

आफ्ना मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने योजना बनाएको बैंकले जनाएको छ । यस योजनाले व्यक्तिगत दूरी कायम राख्न सहयोग पुग्ने बैंकको विश्लेषण छ ।

त्यस्तै, एनआईसी एशिया बैंकले दशैंमा ग्राहकहरूले आफ्ना आफन्तजनलाई दिने दक्षिणा मोबाइल बैंकिङ्ग मार्फत प्रदान गरेमा दक्षिणा रकमको थप १० प्रतिशत वा अधिकतम रू. १०० सम्म बैंकले आफ्नो तर्फबाट थप गरिदिने बैंकले जनाएको छ ।

सुरक्षित किसिमले दशैं मनाउन ग्राहकलाई डिजिटल रकम स्थानान्तरणमा प्रोत्साहनस्वरूप डिजिटल दक्षिणा योजना ल्याएको बैंकले जनाएको छ ।

यो योजना यस बैंकमा आवद्ध ग्राहकहरूलाई विजया दशमी टिकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म लागू गरिएको छ भने यस योजना अवधीभर बैंकको तर्फबाट एक जनाले अधिकतम रू. ५०० सम्म दक्षिणा प्राप्त गर्न सक्नेछन् । ५०० रुपैयाँ पाउँनको लागि कम्तिमा ५ हजार दक्षिणा भुक्तानी गर्नुपर्नेछ ।

तर एनआईसी एशियाको योजना जटिल प्रकारका छ । यस योजना अन्तर्गत मोवाइल बैंक एप प्रयोग गरी दक्षिणा दिँदा बैंकका ग्राहकहरूले मोवाइल बैंक एपमा रहेको डिजिटल दक्षिणामा ट्याप गरी आफूले दिन चाहेको रकम, एकाउन्ट नम्बर, खातावालाको नाम तथा रिमार्कक्मा दक्षिणा जस्ता विवरण अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने छ ।

त्यसै गरी सिद्धर्थ बैंकले पनि कार्तिक १० देखि कार्तिक १४ गतेसम्म कारोबारको विवरणमा ‘दक्षिणा’ लेखी तीन पटक रकम (न्यूनतम १०० रुपैयाँ) ट्रान्सफर गर्दा ३०० रुपैयाँ क्यास ब्याक पाइने याेजना ल्याएकाे छ ।

डिजिटल भुक्तनी सेवामा अग्रणी कम्पनी कनेक्ट आईपीएसले दक्षिणा भुक्तानी डिजिटली गर्ने मध्येबाट दैनिक १० जनालाई दश हजार रुपैयाँ लक्की ड्रबाट दिने जनाएको छ । १५ दिनसम्म चल्ने यो योजनामा ग्राहकलाई १ लाख ५० हजार रुपैयाँ दिने भएको छ ।

बैंकहरुले यसरी डिजिटल्ली दक्षिणा दिन प्रोत्साहित गर्ने कार्यलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि राम्रो भनेका छन् । उनले नेपाल क्लियरिङ हाउसले डिजिटल दक्षिणा दिनेहरुबीच लक्की ड्र गराउने कार्यलाई अतिउत्तम प्रयास भन्दै ट्वीट गरेका छन् ।

नेपाल राष्ट्र बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थालाई व्यवसायिक योजना बनाउँदा सबै ग्राहकलाई समान अवसर दिने योजना बनाउन र उपहार वा लक्की ड्र जस्ता कार्यक्रम सञ्चालन नगर्न निर्देशन दिएको छ । तर गभर्नर अधिकारीले क्लियरिङ हाउसको लक्की ड्र योजनालाई सावर्जनिक रुपमा नै समर्थन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.