कोरोना कहरमा बैंकको बिजनेसः तीन महिनामा निक्षेप १ खर्ब ६४ अर्ब बढ्यो

  २०७७ कार्तिक ५ गते १६:१९     विकासन्युज

काठमाडौं । कोरोना महामारीले आक्रान्त पारेको समय चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा वाणिज्य बैंकहरुमा उल्लेख्य रुपमा निक्षेप जम्मा भएको छ ।

वाणिज्य बैंकहरुको साझा संस्था नेपाल बैंकर्स संघका अनुसार साउनदेखि असोजसम्ममा वाणिज्य बैंकहरुमा १ खर्ब ६४ अर्ब ३३ करोड रुपैयाँ निक्षेप बढेको छ ।

संघका अनुसार गत असार मसान्तमा वाणिज्य बैंकहरुमा ३४ खर्ब ८९ अर्ब ९८ करोड रुपैयाँ निक्षेप थियो । तर, असोज मसान्तसम्म आइपुग्दा बैंकहरुमा निक्षेप बढेर ३६ खर्ब ५४ अर्ब ३१ करोड रुपैयाँ बढेको छ ।

यो अवधिमा विदेशमा काम गर्ने नेपालीले नेपाल ल्याएको तथा पठाएको रकम (रेमिटान्स) राम्रैसँग बढेको कारण पनि बैंकहरुमा निक्षेप बढेको देखिएको हो । यस्तै, कोरोना महामारीको कारण सरकारले देशव्यापी रुपमा लकडाउन जारी गरेका कारण अन्य कुनै पनि क्षेत्रमा थप लगानी गर्न अनुकल समय नभएका कारण पनि नियमित आम्दानीहरुले यस्तो रकम बैंकमा राखेका कारण पनि निक्षेप बढेको देखिएको विश्लेषकले बताएका छन् । चालु आर्थिक वर्षको सुरुदेखि नै सरकारले बजेट खर्च बढाएका कारण पनि बैंकमा निक्षेप बढेको छ ।

कुन बैंकले कति बढाएर निक्षेप ?

कृषि विकास बैंकमा भने निक्षेप घटेको छ । असार मसान्तको तुलनामा बैंकमा २ अर्ब ८८ करोड रुपैयाँले निक्षेप घटेर अहिले १ खर्ब ४१ अर्ब रुपैयाँ छ । बैंक अफ काठमाडूले २ अर्ब ६ करोड रुपैयाँले निक्षेप बढाएर ९५ अर्ब ३४ करोड, सेन्चुरी बैंकले १२ अर्ब ६ करोड रुपैयाँले बढाएर ८२ अर्ब ४२ करोड, सिटिजन्स बैंक इन्टरनेसनलले ८ अर्ब ८ करोड रुपैयाँ बढाएर १ खर्ब २८ करोड, सिभिल बैंकले १० अर्ब ४७ करोड रुपैयाँ बढाएर ७० अर्ब ६१ करोड, एभरेष्ट बैंकले १२ अर्ब ७१ करोड रुपैयाँ बढाएर १ खर्ब ५७ अर्ब ४३ करोड, ग्लोबल आइएमई बैंकले १३ अर्ब ८९ करोड रुपैयाँले बढाएर २ खर्ब ४० अर्ब ५३ करोड र हिमालयन बैंकले ५ अर्ब १९ करोड रुपैयाँ बढाएर १ खर्ब ३७ अर्ब ५ करोड रुपैयाँ पुर्याएको छ ।

कुमारी बैंकले पनि निक्षेप गुमाएको छ । कुमारीले गत असार मसान्तको तुलनामा १ अर्ब ९३ करोड रुपैयाँ निक्षेप घटाएर १ खर्ब २२ अर्ब २९ करोड रुपैयाँ कायम गरेको छ । यस्तै, लक्ष्मी बैंकले १ अर्ब ९१ करोड रुपैयाँ बढाएर १ खर्ब ३ अर्ब ३५ करोड, माछापुच्छ्रे बैंकले ७ अर्ब ५३ करोड रुपैयाँ बढाएर १ खर्ब १४ अर्ब २७ करोड, मेगा बैंकले १ अर्ब १७ करोड रुपैयाँ बढाएर १ खर्ब ३३ अर्ब ६ करोड, नविल बैंकले ६ अर्ब ६२ करोड रुपैयाँ बढाएर १ खर्ब ९९ अर्ब ६५ करोड, नेपाल बंगलादेश (एनबी) बैंकले २ अर्ब १ करोड रुपैयाँ घटाएर ७१ अर्ब १८ करोड र नेपाल बैंकले ३ अर्ब ४९ करोड रुपैयाँ बढाएर १ खर्ब ४६ अर्ब ४७ करोड रुपैयाँ बनाएको छ ।

यस्तै, एनसीसी बैंकले ४ अर्ब १४ करोड रुपैयाँ निक्षेप बढाएर ८३ अर्ब ७५ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले १९ अर्ब ७२ करोड रुपैयाँ बढाएर १ खर्ब ८८ अर्ब ३१ करोड, एनआइसी एसिया बैंकले ३५ अर्ब ३६ करोड रुपैयाँ बढाएर २ खर्ब ४६ अर्ब २० करोड, एनएमबी बैंकले ८ अर्ब २७ करोड रुपैयाँ बढाएर १ खर्ब ४३ अर्ब ८ करोड र नेपाल एसबीआई बैंकले १ अर्ब ९३ करोड रुपैयाँ बढाएर १ खर्ब १२ अर्ब ३३ करोड रुपैयाँ पुर्याएको छ ।

प्रभु बैंकले ६ अर्ब ५२ करोड रुपैयाँ निक्षेप बढाएर १ खर्ब ४३ अर्ब ४ करोड, प्राइम बैंकले २ अर्ब १७ करोड रुपैयाँ बढाएर १ खर्ब ३१ अर्ब ९७ करोड, राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब ९७ करोड रुपैयाँ बढाएर २ खर्ब ३८ अर्ब ९५ करोड, सानिमा बैंकले ३ अर्ब १२ करोड रुपैयाँ बढाएर १ खर्ब १३ अर्ब २१ करोड, सिद्धार्थ बैंकले ८ अर्ब ४७ करोड रुपैयाँ बढाएर १ खर्ब ५४ अर्ब ४१ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले १३ अर्ब ९२ करोड रुपैयाँ घटाएर ८५ अर्ब १९ करोड र सनराइज बैंकले ४ अर्ब २२ करोड रुपैयाँ निक्षेप बढाएर ९८ अर्ब ९४ करोड रुपैयाँ बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.