राष्ट्रपतिद्वारा रानीपोखरी र दरबार हाइस्कूल उद्घाटन

  २०७७ कार्तिक ५ गते १५:१५     विकासन्युज

काठमाडाैं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर प्राण प्रतिष्ठासहित उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज मन्दिर उद्घाटन गरेकी हुन् । मन्दिर र रानीपोखरीका संरचना पुनःनिर्माणका लागि राष्ट्रपति भण्डारीबाट नै २०७२ माघ २ गते शिलान्यास गरिएको थियो । दुवै संरचना पुनःनिर्माणमा  २८ करोड खर्च भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले रानीपोखरी, खुलामञ्च र टुँडिखेललाई समेत समावेश गरी प्राधिकरणले बनाएको बृहत्तर गुरुयोजना कार्यान्वयन गरिनुपर्नेमा जोड दिइन् । कार्यान्वयनका लागि जनप्रतिनिधिको समेत सहयोग लिई काम गरिनुपर्ने उनको भनाइ थियो । गुरुयोजना कार्यान्वयनपछि ऐतिहासिक महत्वको सम्पदा क्षेत्र सुरक्षित हुने विश्वास गरिएको छ ।

रानीपोखरीसँगैको भानु मावि र संस्कृत माविसमेत पुरानै स्वरुपमा पुनःनिर्माण भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयतर्फ उत्कृष्ट शैक्षिक संस्थाका रुपमा यसको ऐतिहासिक स्थान रहेको बताइन् । उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत मन्त्रिगण एवं विशिष्ट श्रेणीका कर्मचारीको उपस्थिति थियो ।

कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चार वर्ष नौ महिना तीन दिनमा रानीपोखरी वरिपरिको संरचनासहितबीचको बालगोपालेश्वर मन्दिर पुनःनिर्माण सम्पन्न भएको जानकारी दिए । आगामी मङ्सिरसम्म सिंहदरबारको पूर्वी भागको प्रबलीकरण सकी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सर्ने पनि उनले जानकारी दिए ।

काठमाडौँ उपत्यकामा रहेका सात वटै विश्वसम्पदास्थलको गुरुयोजना तयार भएको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले त्यहाँ भूकम्पले क्षति गरेका संरचनाको पुनःनिर्माणमा पनि तीव्रता दिइएको बताउनुभयो । बालगोपालेश्वर मन्दिरको प्राणप्रतिष्ठामा सहभागी भई राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओलीलगायत मन्त्रिगणले मन्दिर परिक्रमा गरेका थिए ।

कार्यक्रममा विभिन्न तीर्थस्थलबाट ल्याइएको जल रानीपोखरीमा मिसाइएको थियो । तीन सय ५२ वर्षअघि हुँपोखरी निर्माण हुँदा देशविदेशका १०८ कुण्ड, ताल, पोखरी आदिबाट पानी ल्याइएको इतिहासमा उल्लेख छ ।

भूकम्पले भत्किएको भानु मावि र चीन सरकारको ८५ करोड अनुदान सहयोगमा पुनःनिर्माण सम्पन्न भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का आयोजना निर्देशक रामशरण सापकोटाले जानकारी दिए । नवनिर्मित विद्यालयको साँचो आयोजना निर्देशक सापकोटाले काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख शाक्यले नवनिर्मित विद्यालयलाई शैक्षिक गुणस्तरका हिसाबले समेत नमूनाका रुपमा स्थापित गरिने प्रतिबद्धता जनाए । चार तलाको विद्यालय भवनमा ४२ कोठा छन् । ‘फाएर फाइटिङ’, ‘सेक्युरिटी’, पुस्तकालय र प्रयोगशालाको व्यवस्थासमेत भवनमा छ ।

विसं १९१० मा थापाथली दरबारमा दरबारियालाई पढाउन स्थापना गरिएको विद्यालय पछि भवन बनाएर रानीपोखरीमा सारिएको थियो । विसं १९४८ देखि यहाँ संस्कृत माध्यमिक विद्यालय पनि सञ्चालनमा आएको हो । विद्यालयमा तीनधारा संस्कृत पाठशालामा बस्ने विद्यार्थी अध्ययन गर्दै आएका छन् । दरबार हाइस्कूललाई विसं २०२४ देखि भानु मावि नामकरण गरिएको हो ।
पुनःनिर्माणका क्रममा दुवै विद्यालयलाई प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ परिसरमा सारिएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले दरबार हाइस्कूल र रानीपोखरी परिसरमा स्थापित ताम्रपत्रको अनावरणसमेत गरे । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.