विद्युतीय सवारीसाधन सडकमा गुड्नका लागि उपयुक्त हो होइन ? अब भिएफटिसिले जाँच गर्ने

  २०७७ कार्तिक ४ गते १९:४५     विकासन्युज

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रतिको आकर्षण बढीरहँदा भेहिकल फिटनेस टेस्ट सेन्टर (भिएफटिसि) ले उपकरणको प्रयोग गरी सवारीसाधन सडकमा गुड्नका लागि उपयुक्त हो होइन भनी जाँच गर्ने भएको छ । अहिलेसम्म मानिसले नै यसको परीक्षण गर्दै आएको सेन्टरले जनाएको छ । मान्छेले हेरेर गरिने परीक्षण भरपर्दो नहुने भएकाले वैज्ञानिक रुपमा परीक्षण गर्न खोजिएको सेन्टरका प्रमुख मणीराम भुषालले बताए ।

उनका अनुसार भन्सारबाट आएका विद्युतीय सवारी साधन पहिले बाटोमा चलाउन मिल्ने भनी सेन्टरले प्रमाणित गरेपछि मात्रै यातायात व्यवस्था कार्यालयमा दर्ता हुने गर्छ । अहिलेसम्म ह्वाइट गुम्बालगायतका काठमाडौं उपत्यकाका डाँडामा पुगेर कति उकालोसम्म जान सक्छ भनी जाँच हुने गरेको थियो । विद्युतीय साधनको परीक्षणका लागि अहिले उपकरण किन्न प्रक्रिया अघि बढाइएको उनले बताए । उनले भने, “त्यो उपकरणमा सवारी साधन राखेपछि आवश्यक जाँच गरी विवरण कम्प्युटरमा नै उपलब्ध हुनेछ ।”

सवारीसाधनको वास्तविक अवस्था थाहा पाउन र परीक्षणका क्रममा हुनसक्ने गल्ती कम गर्न उपकरण खरिद गर्न लागिएको प्रमुख भुषालले बताए । उपकरणले इञ्जिनको शक्ति र कति उकालो चढ्न सक्ने भन्ने जानकारी उपलब्ध गराउनेछ । विद्युतीय मात्रै नभएर भन्सारबाट भित्रने विद्युतीय वा पेट्रोलियम दुबैबाट चल्ने सवारीसाधनको ‘रोड ओपिनियन टेस्ट’ उपकरणमार्फत नै गर्ने सेन्टरको तयारी छ । उनले भने, “हामीले विभागसँग सल्लाह गरेर खरिद प्रक्रिया अघि बढाएका छौं ।” सेन्टरले अन्तर प्रदेश चल्ने सवारीसाधनको जाँच पास, रुट अनुमतिपत्र वितरण, प्रदुषण जाँच र स्तर कायम गर्दै आएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.