व्यवसाय सञ्चालन गर्न १३ हजार बेरोजगार युवाले पेश गरे इच्छापत्र 

  २०७७ कार्तिक ४ गते १३:३५     विकासन्युज

बैतडी । कोरोना कहरका कारण रोजगारी गुमाएका बैतडीका १३ हजारले कृषि तथा पशुपालन व्यवसाय सञ्चालन गर्नका लागि इच्छापत्र पेश गरेका छन् । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बेरोजगार युवाका लागि गरेको आह्वानमा बैतडीका १३ हजारले इच्छापत्र पेश गरेका हुन् ।

कृषि ज्ञान केन्द्र र भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रमार्फत उक्त सङ्ख्या बेरोजगारले इच्छापत्र पेश गरेका हुन् । जसमा कृषि ज्ञान केन्द्रमा एक हजार ४०० ले इच्छापत्र पेश गरेका छन् । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रमा ११ हजार ६०० ले इच्छापत्र पेश गरेका हुन् । मन्त्रालयको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत जिल्लाका १० वटै स्थानीय तहबाट इच्छापत्र प्राप्त कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए । उनले भने, “इच्छापत्र पेश गर्नेमा बढीजसो तरकारी र फलफूल खेती गर्न चाहने रहेका छन् ।”

कोरोना महामारीले रोजगारी गुमाएका र इच्छा पत्र पेश गरेको व्यक्तिद्वारा १५ दिनभित्र प्रस्ताव माग गरिएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । कोभिड-१९ को प्रभावले रोजगारी गुमाएर फर्केका र इच्छापत्र पेश गरेका युवालाई छिटो आम्दानी हुने कार्यक्रममा ५० प्रतिशत अनुदान दिइने बताइएको छ । प्रस्ताव पेश गर्दा विदेशबाट फर्केर १४ दिन क्वारेन्टाइन बसेको, स्वास्थ्य परीक्षण गरेको प्रमाण पत्र, कारोवार गर्न चाहने भए जग्गाधनी लालपुर्जा र गर्न चाहेको कामसहित प्रस्ताव पेश गर्नुपर्ने बताउनुभयो । अनुदान दिँदा एक व्यक्तिलाई ६० हजारसम्मको व्यवसायको लागि ५० प्रतिशत अनुदान दिइने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यस्तै पशु सेवा विज्ञकेन्द्रमा इच्छापत्र पेश गर्नेमा बढीजसो बाख्रापालन, कुखुरापालन, गाईभैंसीपालन गर्ने रहेका भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रका निमित्त प्रमुख गुमानीदत्त पन्तले जानकारी दिए । उनले भने, “प्रस्ताव पेश गर्न तिहारलगत्तै १५ दिने सूचना आह्वान गर्छौं, व्यवसाय हेरेर अनुदान रकम प्रदान गरिने छ ।” कोरोनाको प्रभावले चैत महिनायता रोजगारी गुमाएकाले उक्त कार्यक्रममा सहभागी हुन पाउने जनाएको छ । प्रमाण पुगेमा सबैलाई अनुदान दिइने बताइएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना महामारीले प्रभावितमध्ये नौ हजारलाई तत्काल स्वरोजगार बनाउन विभिन्न कार्यक्रम अगाडि बढाएको हो । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आव २०७७÷२०७८ मा कोरोना प्रभावित तथा विदेशबाट फर्केका र बेरोजगार युवालाई लक्षित गरी स्वरोजगारका विभिन्न कार्यक्रम अगाडि बढाएको हो । मन्त्रालयले कृषि क्षेत्रमा केही गर्न चाहने तथा कृषिमै सम्भावना देखेका व्यक्तिलाई राहत प्रदान गर्ने कार्यक्रम ल्याएको हो । जसको लागि प्रदेशको नौवटै जिल्लाका ८८ वटै स्थानीय तहबाट इच्छापत्र हाल्न आह्वान गरिएको थियो ।

कृषि तथा पशुपन्छी विकास कार्यक्रममा सहभागी हुन कोरोना प्रभावित व्यक्तिलाई इच्छापत्र पेश गर्नसमेत सूचना जारी गरेको थियो । मन्त्रालयले असोज ६ गतेभित्र जिल्लास्थित कृषि ज्ञान केन्द्र, भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र, गाउँपालिका तथा नगरपालिकाको कृषि शाखामा इच्छा पेश गर्न अपिल गरेको थियो । कार्यक्रमअन्तर्गत छोटो अवधिमा आयआर्जन हुने र रोजगारी सिर्जना हुने आशा लिइएको छ । जसका लागि मन्त्रालयले बैतडीमा कृषि ज्ञान केन्द्रमा ६० लाख र पशुसेवा विज्ञकेन्द्रमा एक करोड ४० लाख रुपैयाँ पठाइसकेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.