कोरोना महामारीमा अनलाइनबाटै बसको टिकट, कुन–कुन ठाउँका लागि छ बससेवा ?

  २०७७ कार्तिक ३ गते ११:५६     विकासन्युज

काठमाडौं । यतिबेला विश्वमा कोरोनाको महामारी छ । आम सर्वसाधारण आफ्ना दैनिक गतिविधि तथा काम गर्न पनि डर त्रास मानिरहेको अवस्था छ । अहिले नेपालीहरुको महान पर्व दशैं पनि नजिकिँदै छ ।

यो समयमा काठमाडौं उपत्यका लगायतका ठाउँहरुबाट गाउँ फर्किनेहरु पनि बढी हुन्छन् । कोरोना भाइरसको कारण गत वर्षको जस्तो भिड नभएपनि कोरोनाको डरकै बीच यात्रा गर्नैपर्ने मानिसहरु अहिले पनि अनलाइनबाटै टिकट लिएर घर गइरहेका छन् ।

अहिले कोरोनाको डरले लाइनमा बसेर टिकट काट्न सकिने अवस्था पनि छैन । यी विभिन्न समस्या तथा डिजिटल प्रविधिको प्रयोग गर्दै बससेवाले अनलाइन सेवालाई तिब्रता दिएको छ ।

२०७१ सालमा स्थापना भएको बस सेवा मार्फत यात्रुहरुले आफ्नो घरमै बसेर टिकट लिन सक्छन् । घरमै बसीबसी टिकट काट्न पाइने र बसपार्कमा गएर टिकट लिनु पर्ने झन्झट बससेवाले अन्त्य गरी दिएको छ । अहिले दशैं तिहार समयमा बसपार्कहरुमा टिकट काट्न जाँदा संक्रमण जोखिम बढी हुने भएकोले पनि अनलाईन टिकटिङमा यात्रुहरुको आकर्षण बढेको छ ।

बससेवाका महाप्रवन्धक मोहन बेलबासेले कोरोनाको महामारीका कारण पनि अनलाइनबाट टिकट काट्ने यात्रुहरुको संख्यामा वृद्धि भइरहेको बताए । उनले गत वर्षहरुको भन्दा यो वर्ष अनलाइनबाट टिकट लिनेहरुको संख्या बढ्ने बताए ।

‘अहिले कोरोनाको महामारीमा मानिसहरु सुरक्षित हुन चाहन्छन्, अघिल्लो वर्ष ४ हजार बढीले टिकट लिएका थिए, गत वर्ष १५ हजार जानेले लिएका थिए भने यो वर्ष बढ्ने हामीले अनुमान गरेका छौं,’ उनले भने ।

धेरै ग्राहकको अनलाईन मार्फत टिकट काट्ने रुचि हुँदा हुदै पनि सिमित सिट संख्याका कारण सेवा दिन नसकिएको उनले बताए । यातायात व्यवसायीले टिकट दिए जति पनि टिकट काट्न सकिने उनले बताए । तर, हाल धेरै बस व्यवसायीहरुले टिकट काट्न अनुमति नदिएको उनले बताए । यात्रुहरुको सहजीकरणका लागि सरकारले कुनै चाँसो नदेखाएको उनको भनाइ छ ।

बससेवाले हाल काकडभिट्टा, बिरगञ्ज, भद्रपुर, गौर, बुटवल, बिर्तामोड, हेटौडा, भैरहवा, बुधबारे, चितवन,सुनौली, बनियानी, गोर्खा, लुम्बीनी, तौलिहवा, तेह्रथुम। भुलभुले, ईलाम र धरानका लागि बस टिकट सेवा दिइरहेको छ ।

यस्तै बससेवा मार्फत यात्रुहरुले पाल्पा, पोखरा, दाङ, दैलेख, बाग्लुङ, म्याग्दी, धनगढी, महेन्द्रनगर लगायतका ठाउँहरुका लागि टिकट लिन सक्नेछन् ।

उनले करिब डेढ सय गन्तव्यमा बस सेवामार्फत सेवा दिँदै आएको बताए । त्यसमा १ सयभन्दा बढी कम्पनी आवद्ध रहेको उनको भनाइ छ ।

यात्रुहरुले बसेसेवा डटकम, ईसेवा, आइएमई पे, मोवाइल बैंकिङ तथा इन्टरनेट बैकिङ लगायत माध्यमहरुबाट सहजै टिकट काट्न सक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.