काँग्रेस सांसदले दशैं भत्ता फिर्ता गर्ने

  २०७७ कार्तिक ३ गते १२:३८     विकासन्युज

काठमाडौं । प्रमख विपक्षी दल नेपाली काँग्रेसले दशैं बोनस फिर्ता गर्ने भएको छ । कोरोना महामारीको कारण सर्वसाधारणले खान लगाउनै नपाएको अहिलेको विषयम परिस्थितिमा सांसदहरुले दशैं खर्च भन्दै बोनस लिनु जायज नभएको भन्दै काँग्रेस सांसदले फिर्ता गर्न लागेका हुन् ।

यस्तो महामारीको बेलामा दशैं खर्च लिनु जायज नभएकोले पार्टीको संसदीय दलबाट औपचारिक निर्णय गरेर रकम फिर्ता गर्न लागिएको पूर्वमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका नेता तथा सांसद डा. मिनेन्द्र रिजालले बताए ।

‘यस्तो महामारीको बेलामा जनप्रतिनिधिले दशैं खर्च लिने होइन, जनताले खान नपाएको, उपचारै नपाएको अहिलेको अवस्थामा जनताका प्रतिनिधिले राज्यकोषबाट रकम लिएर दशैं मनाउन सक्दैनन्, त्यसैले संसदीय दलबाट निर्णय गराएर दशैं खर्च फिर्ता गरौं भन्ने मेरो प्रस्ताव थियो, सबै नेता र सांसद यसमा सहमत हुनुहुन्छ, सम्भवतः आज नै सयसम्बन्धी विज्ञप्ति नै आउँछ होला,’ डा. रिजालले भने ।

पूर्व प्रधानमनमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले पनि आफ्ना सांसदहरुलाई दशैं खर्च फिर्ता गर्न निर्देशन दिएका छन् ।

पूर्व अर्थसचिव डा. शान्तराज सुवेदीले सांसदलाई दशैंखर्च दिने कानुनी व्यवस्था नभएको बताए । मन्त्रिपरिषदले निर्णय गरेर सांसदलाई दशैं खर्च दिने गरिएको उनको भनाइ छ ।

‘अहिलेका कानुनले सांसदलाई दशैंखर्च दिने परिकल्पना गरेको छैन, अघिल्ला वर्षहरुमा पनि मन्त्रिपरिषदले निर्णय गरेर दिने गरिएको थियो, यसवर्ष पनि मन्त्रिपरिषद निर्णयले दिन लागिएको होला,’ पूर्व सचिव डा. सुवेदीले भने ।

अहिलेको संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा सत्तारुढ नेकपाको झण्डै दुई तिहाई सांसद छन् । सत्तारुढ नेकपाले आफ्ना धेरै सांसदले अतिरिक्त रकम पाउने भएपछि विपक्षी सांसदलाई विबादमा मुछेको विपक्षी सांसदको भनाइ छ ।

संसद सचिवालयले सांसदहरुको बैंक खाता मार्फत रकम भुक्तानी गर्ने गर्छ । यसरी रकम भुक्तानी गर्दा सामान्यतः कुन शिर्षकमा कति रकम आयो भन्ने सांसदलाई थाहा हुदैन । थाहा नै भएपनि सचिवालयले दिइसकेको रकम सांसदले चाहेर पनि सचिवालयको बैंक खातामा फिर्ता गर्न सहज हुदैन ।

यस्तै, नेकपा सांसदहरु नारायणकाजी श्रेष्ठ, रामकुमारी झाक्रीलगायतले पनि अहिले प्रदान गरिएको दशैं खर्च पार्टीको संसदीय दलले औचारिक निर्णय गरेर फिर्ता गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.