महोत्तरी जिल्लाका दशैँ मेला उत्सवमा रोक

  २०७७ कार्तिक २ गते ९:३६     विकासन्युज

महोत्तरी । यसपालि महोत्तरी जिल्लाका देवी शक्तिपीठ र मन्दिरहरुमा दशैँ उत्सव नहुने भएको छ । दशैँ पर्वमा आयोजन हुने मेला उत्सवको भीडमा कोभिड–१९ सङ्क्रमण जोखिम बढ्नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले यस्ता गतिविधिमा रोक लगाएको हो ।

जिल्लाको औरही नगरपालिकास्थित सोनामाई प्रसिद्ध देवी शक्तिपीठका रूपमा मानिन्छ । त्यसैगरी जलेश्वर नगरपालिकाको जलेश्वर नगर क्षेत्रभित्रका संसारी माई, राजदेवी माई र बर्दिवास नगरपालिका–४ स्थित पञ्चधुरा माई मन्दिरमा दशैँमा मेला उत्सव र बलि आयोजन हुँदै आएको छ । पर्वको अवसरमा हुने जमघट र भीडमा सङ्क्रमण जोखिम बढ्ने हुँदा यस्तो मेला आयोजन नगर्न निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

जिल्लामा कोभिड–१९ सङ्क्रमण बढिरहेका बेला परेको दशैँ पर्व आ–आफ्नो घरपरिवारबीच मात्र मनाउन जिल्ला प्रशासन कार्यालयले शनिबार जारी गरेको निषेधाज्ञा आदेशमा उल्लेख छ । “देवी शक्तिपिठ र मन्दिरमा सम्बन्धित पुजारीले पर्वविशेषको विधिअनुसार नियमित पूजाआराधना गर्नेछन्”, प्रमुख जिल्ला अधिकारी कटुवालको हस्ताक्षरित आदेशमा भनिएको छ, “सामूहिक बलि, मेला उत्सव भने आयोजन गर्न पाइने छैन ।”

जिल्लामा देवी शक्तिपीठ र मन्दिरमा मात्र नभई धेरैजसो गाउँनगर बस्तीमा देवी प्रतिमा स्थापित गरेर मेला आयोजन गर्ने परम्परा छ । यसपालि त्यस्ता मेला पनि आयोजना नगर्न जिल्ला प्रशासनले आदेशमा स्पष्ट पारेको छ । दशैँ पर्वभरि मदिरा बेचबिखन, सार्वजनिकस्थलमा सेवन गरिने काम दण्डनीय हुने आदेशमा उल्लेख छ । निषेधाज्ञाको उल्लङ्घन गर्नेलाई तत्काल कारवाही गरिने कार्यालयले स्पष्ट पारेको छ ।

जिल्लामा दिनदिनै कोभिड–१९ सङ्क्रमण बढिरहेकै छ । जिल्लामा शनिबारसम्म एक हजार ६४८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । यो सङ्क्रमणले जिल्लामा १६ जनाले ज्यान गुमाएका छन् । सङ्क्रमण बढ्नुको मुख्य कारण नै भौतिक दूरी निर्वाह नहुनु र सतर्कता नअपनाइनु देखिएको स्वास्थ्य कार्यालय महोत्तरीका कोभिड–१९ रोकथाम अभियानका स्रोत व्यक्तिसमेत रहनुभएका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झा बताउँछन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.