कोरोना विरामीलाई नरदेवीकाे औषधी, ७ जना क्लासमेटले यसरी बनाए चर्चित

  २०७७ कार्तिक २ गते ७:५७     विकासन्युज

काठमाडौं । असनतिरबाट नरदेवी मन्दिरलाई दायाँ पारेर करिब सय मिटर अघि बढेपछि देब्रे साइडमा एउटा बोर्ड देखिन्छ ‘आयुर्वेद चिकित्सालय’को । अर्थात्, आयुर्वेद अस्पताल, जसलाई बोलिचालीमा नरदेवी अस्पताल पनि भन्ने गरिन्छ ।

परम्परागत आयुर्वेदिक औषधी प्रयोग गरी सबै प्रकारका उपचार गर्ने यो अस्पताल खासै चर्चामा थिएन । कोरोना महामारीपछि भने अहिले धेरैको चासो र ध्यान तान्न सफल भएको छ । कोरोना संक्रमण विरुद्ध रोगप्रतिरोधी क्षमता (इम्युनिटी पावर) बढाउने भन्दै निःशुल्क औधषी वितरण गर्न थालेपछि यो अस्पतालले धेरैको ध्यान तानेको छ ।

अस्पतालले सर्वसाधारणलाई निःशुल्क वितरण गरिरहेको ‘जेष्ठवासादी, गुडुची र यष्ठिमधु चूर्ण मिश्रण’को ग्राहक अहिले पाश्चात्य विद्या, औषधी र उपकरणमा आधारित अस्पताल पनि बनेका छन् । प्रधानमन्त्रीको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उच्च अधिकारी, कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि गठन भएको सीसीएमसीका अधिकारी जस्ता सरकारी निकायको उच्च पदमा बस्नेहरु पनि यसको नियमित उपभोक्ता बनेका छन् ।

कोरोना भाइरस (कोभिड १९) संक्रमण विस्तारपछि रोगप्रतिरोधात्मक शक्ति बढाउने यो चूर्णको माग असाध्यै बढेको अस्पतालका निर्देशक डा. प्रदीप केसी बताउँछन् ।

‘हामीले अहिले निःशुल्क वितरण गरिरहेको चूर्ण नौलो होइन, परम्परागत रुपमा भाइरस तथा व्याक्टेरियाबाट हुन सक्ने संक्रमण विरुद्ध रोगप्रतिरोधी क्षमता बढाउन प्रयोग गरिने आयुर्वेदिक जडिबुटीको उचित कम्पोजिसन मिलाएर चूर्ण बनाएर वितरण गरिरहेका छौं, यसले कोरोना भाइरस संक्रमितलाई निको पार्छ भन्ने दाबी हाम्रो छैन, हामीले यसो भनेका पनि छैनौं, तर व्याधी क्षमत्व अभिबृद्धिका लागि यो चूर्ण फलदायी छ,’ निर्देशक डा. केसीले विकासन्युजसँग भने ।

यस्तो चूर्ण पहिला सिंहदरबार बैद्यखाना विकास समितिले बनाउने गथ्र्याे । विक्रम सम्बत् १९७४ सालदेखि समितिले बनाउने यो चूर्ण नरदेवी अस्पतालले पनि बनाइरहेको छ ।

१२ जडिबुटीको मिश्रण

यो चूर्णमा विभिन्न प्रकारका १२ वटा जडिबुटीको मिश्रण रहेको डा. महारुद्र ठाकुरले जानकारी दिए । जसमा वासा (असुरो), वंशलोचन, एला (सुकमेल), जातीफल (जाइफल), प्रियंगु (दहिकाम्लो), नागकेशर (नागेश्वर), लवङ्ग (ल्वाङ), त्वक् (दालचीनी), तालीशपत्र, पर्पटक (पित्तपापडा), जेष्ठिमधु (जेठीमधु) र गुडुची (गर्जाे) रहेका छन् ।

मात्रा कति ?

डा. ठाकुरका अनुसार यो चूर्णमा जेठीमधु एक भाग, गुडुची (गुर्जाे) २ भाग र अन्य जडिबुटीको बराबर मिसाइएको ५ भाग राखिएको छ ।

उपयोग

यो चूर्णको उपयोग अहिले कोरोना संक्रमण भएमा रोग प्रतिरोधी क्षमता विकास गर्नको लागि भइरहेको छ । व्याधी क्षमत्व विकास गर्ने भएकोले यसको प्रयोग अहिलेको सन्दर्भमा उपयुक्त रहेको निर्देशक डा. केसी बताउँछन् ।

व्याधी क्षमत्व विकास गर्ने यो चूर्ण विशेष गरेर कास, श्वास, रक्तपित्त, रक्तस्राव तथा अन्तर्दाहको लागि उपयुक्त मानिन्छ ।

कति र कहिले खाने ?

यो चूर्ण विहान र बेलुका खाना अघि सेवन गर्नु उपयुक्त हुने डा. ठाकुर बताउँछन् । मात्रा भने सामान्यतः एक वयस्क व्यक्तिले एक पटकमा ३ देखि ६ ग्राम धुलो पानीमा कम्तिमा ५ मिनेट उमालेर चिया जस्तै गरी पिउनु पर्छ । चूर्णको धुलो चिया छान्नेले छानेर सेवन गर्नु उपयुक्त हुन्छ ।

सबैले खान हुन्छ ?

यो चूर्ण ३ महिनासम्मको गर्भवती महिलाले सेवन गर्नु नहुने डा. केसीको सल्लाह छ । यस्तो गर्भवतीले सेवन गर्दा हानिकारक नहुने भएपनि कडा प्रकारका जडिबुटीको समिश्रण भएकोले भ्रुणलाई असर गर्न सक्ने अनुमानका यस्तो सल्लाह दिने गरिएको उनको भनाइ छ । यद्यपि, ३ महिनासम्मको गर्भवतीको लागि यो चूर्ण हानिकारक छ वा फाइदाजनक छ भनेर क्लिनिकल्ली परीक्षण भने भएको छैन ।

यस्तै, सानो उमेरका (केटाकेटी) लाई पनि थोरै मात्रामा यो औषधी प्रयोग गर्न डा. केसीले सल्लाह दिए ।

यो चूर्णमा १ भाग जेष्ठीमधु (जेठीमधु) प्रयोग गरिएको हुन्छ । जेठीमधुको रस चिनीभन्दा ५२ गुणा गुलियो हुन्छ । जेठीमधुको मात्रा बढी सेवन गरेमा रक्तचाप उच्च हुने डा. ठाकुर बताउँछन् ।

‘जेष्ठीमधुको मात्रा बढी सेवन गर्यो भने रक्तचाप बढाउँछ, हामीले एक सय वर्षभन्दा लामो अनुभवका आधारमा विभिन्न जडिबुटीमो समिश्रणबाट यो चूर्ण बनाएका छौं, जेष्ठीमधु १ भाग छ भने गुडुची २ भाग छ, बाँकी १० प्रकारका जडिबुटीको मात्रा ५ भाग छ, त्यसैले हाम्रो यो चूर्णले रक्तचाप बृद्धि गर्दैन, एउटा बान्छित सीमामा कायम राख्छ,’ डा. ठाकुरले भने ।

कहिले काँही हाम्रो शरिरले चाहिनेभन्दा बढी रोग प्रतिरोधी क्षमता उत्पादन गरेर सोही प्रकारको व्यवहार गर्छ । यस्तो अवस्थामा शरिरलाई आवश्यक तत्व नष्ट भएर अर्काे प्रकारको समस्या आउने सम्भावना पनि रहन्छ । यो चूर्णले यस्तो अवस्थालाई पनि नियन्त्रणमा राख्ने डा. ठाकुरले बताए ।

खाने कसरी ?

जेष्ठवासादी मिश्रण चूर्ण भनेर पनि चिनिने यो चूर्ण अर्थात धुलो त्यसै फाँको मार्ने होइन । पानीमा रघटेर धुलो नै खाने पनि होइन । निर्देशक डा. केसी यो चूर्ण पकाएर खानुपर्ने बताउँछन् ।

‘एक वयस्क व्यक्तिले ३ देखि ६ ग्राम सेवन गर्ने हो, सो परिमाणको चूर्ण २ गिलास पानीमा राखेर कम्तिमा पनि ५ मिनेट उमाल्ने, त्यसपछि चिया जस्तै गरी छानेर चियाँ जस्तै गरी सुरुप सुरुप पिउनु पर्छ, पहिलो पटक खाँदा केही नमिठो लाग्न सक्छ, यसमा मिसाइएको जेष्ठीमधुले बेग्लै प्रकारको गुलियो स्वाद दिइरहेको हुन्छ, खाइसकेको केही समयपछि घाँटीबाट गुलिसो स्वाद निकै बेर आउने भएकोले दोस्रो पटकदेखि आफै बानी परिन्छ, बेग्लै खालको मिठो लाग्न थाल्छ,’ निर्देशक डा. केसीले भने ।

उनले विहान चियाको साटो यही चूर्णको काडा खाने बानी गर्यो भने चियाको तलतल मेटिने र स्वास्थ्यको लागि बढी फाइदा पनि हुने बताए । यो चूर्णमा रहेका सबै प्रकारका जडिबुटी पानीमा घुल्ने प्रकारका भएको र उमालेर खाने विधि सबैका लागि सबैभन्दा सहज पनि हुने भएकोले सोही अनुसारको उपाय अस्पतालले सुझाउने गरेको छ ।

कहाँबाट आउँछ यो जडिबुटी ?

अस्पताल हाताभित्रै यो चूर्ण बनाउने गरिएको छ । जडिबुटी भने ठेकेदारले आपूर्ति गर्छन् । यसका लागि अस्पतालले बोलपत्र आव्हान गर्छ । प्रतिस्पर्धामा योग्य ठहर भएको ठेकेदारले जडिबुटी आपूर्ति गर्ने जिम्मा पाउँछन् ।

अस्पतालले सर्वसाधारणलाई वितरण गरिरहेको सो चूर्णको लागत (कर्मचारी खर्च बाहेक नै) करिब २ सय रुपैयाँ पर्ने निर्देशक डा. केसीले जानकारी दिए ।

प्रधानमन्त्रीको ढाडस

कोरोना भाइरस संक्रमण रोक्न भन्दै संघीय सरकारले गत चैत ११ गतेदेखि देशव्यापी लकडाउन जारी गर्यो । सोही लकडाउनकै बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले नरदेवी अस्पतालका निर्देशक डा. केसीसहित आयुर्वेद क्षेत्रका विज्ञलाई छलफलका लागि बोलाएका थिए ।

सो छलफलमा प्रधानमन्त्री ओलीले ऐतिहासिक महत्व बोकेको आयुर्वेदिक औषधीको प्रचार प्रसार र प्रयोगमा जुट्न आवश्यक रहेको धारणा राखेका थिए । प्रधानमन्त्रीले यस्तो धारणा व्यक्त गरेपछि विक्रम सम्बत १९७४ सालदेखि बन्दै आएको सो औषधीको मात्रा मिलाएर नरदेवी अस्पतालले निःशुल्क बाढ्न थालेको हो । अस्पतालले गत भदौ ११ गतेदेखि यस्तो चूर्ण वितरण गरिरहेको छ ।

सात जना क्लासमेटको संयोजन

अस्पतालको उच्च तहमा अहिले ७ जना क्लासमेट छन् । निर्देशक डा. केसी, डा. ठाकुर, कविराज कृष्ण श्रेष्ठ, डा. झुलाराम अधिकारीसहितको टीम प्रधानमन्त्रीको सो भनाइपछि कोरोना संक्रमण विरुद्ध प्रतिरोधी क्षमता विकास गर्ने चूर्ण बनाउँन जुट्यो । सोही टीमले नै कम्पोजिसन तय गरेर सो चूर्ण बनाएको हो ।

साढे १ महिनामा २३ हजार प्याकेट बाँडियो

अस्पतालले सो चूर्ण गत भदौ ११ गतेदेखि वितरण गर्न थालेको हो । अहिलेसम्ममा २३ हजारभन्दा बढी प्याकेट वितरण गरिसकिएको निर्देशक डा. केसीले जानकारी दिए । गत आर्थिक वर्षको लागि सरकारले दिएको ३० लाख रुपैयाँ बजेटबाट नै अस्पतालले यसरी औषधी निःशुल्क वितरण गरिरहेको छ । कतिपय अरु अस्पतालले पनि कोभिड संक्रमितलाई प्रयोग गर्न सो चूर्ण लगिरहेको डा. केसीले जानकारी दिए ।

झोल नै बनाएर बाड्ने चाहना

अस्पतालले अहिले चूर्ण बनाएर वितरण गरिरहेको छ । तर, एउटा मेसिन ल्याउने हो भने झोल नै बनाएर वितरण गर्न सकिने डा. केसी बताउँछन् । यस्तो झोल सर्वसाधारणले सो तताएर सेवन गर्न मिल्ने हुने उनको भनाइ छ ।

बजेट सकियो

अहिले बनाइएको चूर्ण आगामी फागुन/चैत महिनासम्मको लागि उपयोगी हुने र त्यसपछिको मौसमको लागि अर्काे प्रकारको मात्रा प्रयोग गर्नुपर्ने निर्देशक डा. केसी बताउँछन् । तर, आगामी फागुन/ चैतसम्म पुग्ने चूर्ण बनाउन बजेटको अभाव छ ।

‘हामीले जेष्ठवासादी मिश्रण मात्रै होइन, २८ प्रकारका औषधी निःशुल्क वितरण गरिरहेका छौं, जेष्ठवासादी चूर्णको माग पनि असाध्यै धेरै छ, त्यसैले बजेट अपुग भयो भनेर स्वास्थ्य मन्त्रालयसँग १ करोड रुपैयाँ थप बजेट मागेका छौं, थप बजेट आयो भने सर्वसाधारणको अपेक्षा अनुसारको औषधी वितरण गर्न सकिन्छ,’ निर्देशक डा. केसीले भने ।

जेष्ठवासादी चूर्ण कोरोनाको औषधी हो ?

यो चूर्ण कोरोनाको औषधी हो ? भन्ने प्रश्नको जवाफ दिने बेलामा निर्देशक डा. केसी र डा. ठाकुर केहीबेर गम्भीर भएर चुप बसे । उनीहरुको केही बेरको मौनताले कोरोनाको औषधी दाबी गर्दै आएका भ्रामक हल्ला र आषधी पत्ता लगाउन नसकेर हैरान बनेको विश्व समुदायको चिन्ताको प्रतिनिधित्व गर्न खोजिरहेको थियो ।

‘कोरोना संक्रमितको उपचारको लागि यही औषधी प्रयोग गर्नुपर्छ भनेर अहिलेसम्म कसैले पनि किटान गर्न सकेको छैन, अर्थात औषधी के हो भन्ने नै पत्ता लाग्न सकेको छैन, पत्ता लागेको कुरा के हो भने जसको रोग प्रतिरोधी क्षमता बढी छ, त्यस्तो व्यक्तिमा संक्रमण भए पनि धेरै असर पर्दैन, यो चूर्णले रोग प्रतिरोधी क्षमता बढाउँछ, त्यसैले कोरोना महामारीको बेलामा यसको प्रयोग आवश्यक छ,’ निर्देशक डा. केसीले केहीबेरको मौनतापछि भने ।

अस्पतालले अहिले वितरण गरिरहेको औषधीको क्लिनिकल परीक्षण नभएकोले यो कोरोनाको औषधी हो वा होइन भन्न अस्पताल प्रशासनलाई अप्ठेरो परेको बुझ्न गाह्रो हुँदैन । व्याधी क्षमत्व विकास गर्ने यो चूर्णले नकारात्मक असर पर्यो भन्ने प्रतिक्रिया प्राप्त नभएकोले पनि अस्पताल प्रशासन यसको प्रयोग बृद्धि गराउने अभियानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.