खसीबोका किन्दै हुनुहन्छ ? सिङको रङ हेरेर मात्रै किन्न महानगरको आग्रह

  २०७७ कार्तिक १ गते १३:१२     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वस्थ खसीबोका चिनेर मात्रै खरिद गर्न उपभोक्ताहरुलाई आग्रह गरेको छ । महानगरपालिकाका पशुसेवा महाशाखा प्रमुख डा.अवधेश झाले बजारमा आनुगमन गरी स्वस्थ र अस्वस्थ खसीबोका छुट्याइएकोले चिनेर मात्रै खरिद गर्न आग्रह गरेका हुन् ।

स्वस्थ पशुको सिङमा हरियो रङ र अस्वस्थमा रातो रङ लगाइएको डा. झाले बताए । उपभोक्ताले हरियो रङ लगाइएको खसीबोका र च्याङ्ग्रा मात्रै खरिद गर्नुपर्ने उनले बताए । उपत्यकाका मुख्य खसीबोका बजारमा नियमित अनुगमन गरी महानगरपालिकाले स्वस्थ र अस्वस्थ खसीबोका र च्याङ्ग्राको पहिचान गर्दै हरियो र रातो रङ लगाई छुट्याएको छ ।

पशुको तापक्रम नाप्ने, नाकबाट सिगान बगेनबगेको, पखला लागे नलागेको, झोक्राएर बसे नबसेको हेरेर स्वस्थ र अस्वस्थ पशु छुट्याउने गरेको छ । यसरी हेर्दा स्वस्थ देखिए विक्रीका लागि स्वीकृति दिइएको डा. झाले बताए । चेकजाँचको क्रममा अस्वस्थ भएको पाइए छुट्टै आइसोलेसनमा राखेर उपचार गर्न लगाइएको पनि उनले बताए ।

दशैंको बेला काठमाडौंका खसीबोका बजारमा देशका विभिन्न स्थान तथा भारत देखि समेत खसीबोका र च्याङ्ग्रा ल्याई विक्री वितरण शुरु भइसकेको छ । यस्तो अवस्थामा अस्वस्थ पशुको विक्री वितरण हुन सक्ने भन्दै महानगरपालिकाले अनुगमन गरी स्वस्थ र अस्वस्थ पशु छुट्याई स्वस्थ पशुको सिङमा हरियो रङ र अस्वस्थको सिङमा रातो रङ लगाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.