कामपाले १० जनालाई दियो ‘मेयर्स रिसर्च फेलोसिप’, प्रत्येक विधामा साढे एक लाख रुपैयाँ दिने

  २०७७ कार्तिक १ गते ११:३८     विकासन्युज

काठमाडाैं । विभिन्न फरक फरक विधामा अध्ययन अनुसन्धान गर्नका लागि काठमाडौं महानगरपालिकाले १० जनालाई ‘मेयर्स रिसर्च फेलोसिप’ प्रदान गरेको छ । कामपा सहरी योजना आयोगले नीति-निर्माण तहमै अनुसन्धानको संस्कृति बसाल्ने र त्यसलाई कार्यान्वयन तहमा लैजाने उद्देश्यसहित पहिलो चरणमा १० जनालाई ‘मेयर्स रिसर्च फेलोसिप’ प्रदान गरेको हो ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आगामी नीति तथा कार्यक्रममा समावेश गरी कार्यान्वय चरणमा लैजान सहज हुने गरी व्यावहारिक पक्षलाई समेत ध्यानमा राखेर अनुसन्धान तयार पार्न अनुसन्धान कर्तालाई सुझाव दिएका छन् । अनुसन्धानका लागि कामपाले प्रत्येक विधामा एक लाख ५० हजार रुपैयाँ दिने पनि सम्झौतामा उल्लेख गरिएको छ ।

अनुसन्धानको पहिलो चरणमा कामपाभित्र रहेका विद्यालयमा गैरसङ्क्रामक रोगसम्बन्धी जोखिम र स्वास्थ्य जीवनशैलीसम्बन्धी नीति अध्ययन, पैदल यात्रीका कारण स्थानीय अर्थतन्त्र र जीविकामा परेको प्रभाव रहेको छ । त्यसैगरी काठमाडौंको ठमेल क्षेत्रको अध्ययन, काठमाडौं उपत्यकाभित्र जोखिम न्यूनीकरण गर्नका लागि पूर्वाधार म्यापिङसम्बन्धी अध्ययन, उपत्यका भित्रको वायु गुणस्तर रहेको छ । वायु प्रदूषण संयन्त्रसम्बन्धी विश्लेषण अध्ययन, काठमाडौंका सामुदायिक विद्यालयका महिला प्राध्यापकको अनुभवको मात्रात्मक अध्ययन छनोटमा परेको छ ।

त्यसैगरी पहिलो चरणमै विश्व जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि काठमाडौं उपत्यका रिङरोड क्षेत्रको वायोमास र कर्बोन स्टक सम्भाव्यता वृक्षारोपणसम्बन्धी अध्ययन छ । कामपाको ज्येष्ठ नागरिकको जीवनको गुणस्तरसम्बन्धी कानून, नीति र प्रमाणसम्बन्धी अध्ययन, क्षेत्र भित्रको नेवार समुदायमा रहेको गरिबी र सम्भावित निवारणका पद्धतिसम्बन्धी अध्ययन पनि छनोट भएका छन् ।

त्यस्तै, काठमाडौं विकास व्यवस्थापन (योजना तर्जुमा देखि कार्यान्वयनसम्म) मा सञ्चारको भूमिका र प्रभावकारिता अभिवृद्धिसम्बन्धी अनुसन्धान प्रस्तावना पनि छनोटमा परेको छ । उल्लेखीत १० विधामा अनुसन्धानका लागि क्रमश प्रतीक खनाल, कृति प्रधान, सुरज गौतम, राजीव पोखरेल, सम्राट बस्याल, नवीनराज जोशी, कृपा सिग्देल, मनिष मान श्रेष्ठ, रवीन्द्र के सुवाल र गोपी कृष्ण ढुङ्गाना रहेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.