धन्य भगवान् !

  २०७७ असोज ३० गते २१:२९     गोपाल खनाल

एकाबिहानै, निद्राबाट ब्युँझाएर
आमाले भन्नु भो
बाबु उठ, भगवान्को पूजा गर ।
तर खै ! म नदेखिने भगवान्को
पूजा कसरी गरूँ…..।।

यहाँ हजारौँ भगवान्हरू
सडकमा छट्पटाउँदै रोइरहेछन्
भोक,शोक र रोगले
तिनको दयनीय स्थिति हेर्दै भगवान्
म तँलाई महल र मन्दिरको
उच्च आशनमा सजाएर के चढाऊँ ।।

नित्सेले भनेझै तँ मरेकै होस् मलाई लाग्छ ।
नत्र दुःखीका कुरा नसुनी
किन निर्दयी बनेर चुप बस्थिस् ।।

भो, म तेरा लागि
अबोध प्राणी अर्पण गर्दिन
सुन्दर घुम्टो ओढाएर
पुष्प गुञ्छा वर्षाउँदिन
मेरा सफलता र सुखका निम्ति
तँलाई घुस खुवाउँदिन ।।

थाहा छ,
मलाई अन्योलमा बाँच्न झैँ
तँलाई पनि धेरै गाह्रो छ भगवान् बन्न
दुःखी देख्छु तँलाई आजकल
किनकि, तँ भन्न सक्दैनस्
तिम्रा सफलताका निम्ति मलाई नपुकार
रगतले नपोत नधुँवाऊ भनेर ।।

पीडामा सम्झन्छन्
पोख्छन् दुःख र पीडाहरू
तँ स्थिर मूर्ति वा चित्र
टुलुटुलु हेरी रहन्छस्
अनि सुनी रहन्छस् कहिलेसम्म ?

अब भनिदे सत्ययुगमा जसरी
जनका मन रुवाएर मेरा पछि नलाग
धर्मको अपव्याख्या गरी पण्डित्याइँ नगर
नबस लाइन लागेर प्रतीक्षामा
अनन्त र अमूर्त मेरा निम्ति ।।

त्यो समय बरु कर्म गर
आत्म विश्वासका साथ
चेतना दे
मान्छेलाई मान्छेका रूपमा हेर्न सिका
प्राणी जगत्को कल्याण गर्ने विवेक दे
धन्य भगवान् ! तँ बल्ल धन्य हुनेछस् ।।

तारकेश्वर गापा १ दाङसिङ नुवाकोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.