पछि व्याज नबढ्ने गरी गाडी किन्न ऋण लिँदा कुन बैंकले कति लिन्छन् व्याज ?

  २०७७ असोज ३० गते १२:०८     विकासन्युज

काठमाडौं । आफूलाई मासिक खर्च गर्न चाहिनेभन्दा अलि बढी नियमित कमाई हुनेहरुका लागि गाडी किन्न अहिले त्यति गाह्रो छैन । किनभने गाडी किन्नको लागि चाहिने सबै पैसा आफूले जुटाउनु पर्दैन । जति मूल्यको गाडी किन्ने हो त्यसको आधा रकम आफूसँग भए पुग्छ । गाडीको मूल्यको ५० प्रतिशत ऋण बैंक तथा वित्तीय संस्थाले नै दिन्छन् ।

तर, निजी गाडी किन्न चाहनेहरुको लागि अर्काे समस्याको विषय भनेको बैंकको व्याज हो । एउटा दरको व्याजले मासिक किस्ता यति हुन्छ भनेर गाडी किन्यो, केही समयपछि नै बैंकले व्याज बढाएर किस्ता तिर्न समस्या भयो भन्ने गुनासो गर्नेहरु पनि भेटिन्छन् ।

सर्वसाधारणको यस्तो गुनासोको नेपाल राष्ट्र बैंकले सम्बोधन गरेर समाधानको उपाय कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले दिएको समाधानको उपाय भनेको व्यक्तिगत आवधिक कर्जामा स्थीर व्याजदर लागू गर्नु भन्ने हो ।

राष्ट्र बैंकको यस्तो निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत आवधिक कर्जाको स्थीर व्याजदर किटान गर्नुपर्ने हुन्छ । यसरी तोकिएको व्याजदर परिवर्तन गर्न पाइदैन । अर्थात अहिले कुनै बैंकले कुनै ग्राहकलाई १२ प्रतिशत व्याजमा यो प्रयोजनको लागि यति वर्षको लागि ऋण दिन्छु भन्यो भने त्यो अवधिसम्म व्याजदर बढाउन पाइदैन । र, बढाउन नपाइने मात्रै होइन, बैंकले त्यो अवधिसम्म व्याजदर घटाउदैनन् पनि ।

यस्ते स्थीर व्याजदर भोलि (कात्तिक १ गते) देखि लागू हुदैछ । भोलिदेखि लागू हुने स्थीर व्याजदर केही बैंकहरुले सार्वजनिक गरेका छन् । यसरी सार्वजनिक भएको स्थीर व्याजदरमध्ये यहाँ सवारी साधन खरिद गर्नको लागि लिइने कर्जाको स्थीर व्याजदर कुन बैंकले कति बनाए भन्ने जानकारी दिन खोजिएको छ ।

सेञ्चुरी बैंकले निजी सवारी साधन किन्नको लागि ७ वर्षसम्मको ऋण दिन्छ । यस्तो ऋणको स्थीर व्याजदर १२.२४ प्रतिशत निर्धारण गरेको छ । सरकार लगानी पनि रहेको अर्काे वाणिज्य बैंक कृषि विकास बैंकले निजी गाडी किन्नको लागि १०.५ प्रतिशत स्थीर व्याजदरमा ऋण दिने जानकारी दिएको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले ५ बर्षसम्मको सवारी कर्जाको व्याजदर १०.७५ प्रतिशत तोकेको छ । यस्तै, ७ वर्षसम्को लागि सवारी कर्जा लिने हो भने सो बैंकमा ११.७५ प्रतिशत व्याज तिर्नुपर्ने हुन्छ ।

एनएमबी बैंकले ३ वर्षभन्दा बढी अवधिको सवारी कर्जा लिनेहरुका लागि १० प्रतिशत जति स्थीर व्याजमा कर्जा दिने भनेको छ । सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले ७ वर्षसम्मको लागि सवारी कर्जा दिन्छ । यस्तो कर्जाको व्याजदर ९ प्रतिशत तोकिएको छ ।

माछापुच्छ्रे बैंकले सवारी साधन किन्नको लागि १० वर्षसम्मको कर्जा दिन्छ । यस्तो कर्जाको स्थीर व्याजदर १०.९९ प्रतिशत छ । सो बैंकबाट ५ वर्षसम्मको लागि सवारी कर्जा लिने हो भने ९.९९ प्रतिशत स्थीर व्याजदरमा कर्जा पाइन्छ । अर्काे वाणिज्य बैंक नेपाल इन्भेष्टमेन्ट बैंकले ७ वर्षसम्मको लागि सवारी कर्जा दिन्छ । यस्तो कर्जाको स्थीर व्याजदर १०.७५ प्रतिशत छ ।

सरकारी लगानी पनि रहेको अर्काे वाणिज्य बैंक नेपाल बैंकले निजी सवारी साधन खरिद गर्नेहरुका लागि १०.८५ प्रतिशत स्थीर व्याजदर तय गरिएको जानकारी दिएको छ । ग्लोबल आइएमई बैंकले ५ वर्षभन्दा बढी अवधिको सवारी कर्जाको स्थीर व्याजदर ११.९९ प्रतिशत कायम गरेको छ ।

सनराइज बैंकले गाडी किन्नको लागि ८ वर्षसम्मको कर्जा दिन्छ । यस्तो कर्जाको स्थीर व्याजदर ११.५ प्रतिशत तोकिएको छ । यस्तै, बैंक अफ काठमाण्डूले सवारी कर्जाको स्थीर व्याजदर ११ प्रतिशत कायम गरेको छ । सिद्धार्थ बैंकले ५ वर्षभन्दा बढी अवधिको लागि सवारी कर्जा लिनेले १०.९९ प्रतिशत स्थीर व्याजदर तिर्नुपर्ने जानकारी गराएको छ । नेपाल बंगलादेश बैंकले ५ वर्षभन्दा बढी अवधिको लागि सवारी कर्जाको स्थीर व्याजदर १०.९९ प्रतिशत तोकेको छ ।

सम्बन्धित सामग्री

बैंकहरुले सार्वजनिक गरे स्थीर व्याजदर, १० वर्षभन्दा बढीको घर कर्जा लिँदा कुन बैंकले कति लिन्छन् व्याज ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.