‘हिप्पी ट्रेल’ हुँदै ‘बस टू एभरेष्ट टूर’, नेपाली पनि बस चढेरै लण्डनसम्म जान पाउने

  २०७७ असोज ३० गते १०:२१     विकासन्युज

काठमाडौं । ट्रान्स सोलुसन नेपाल र एभरेष्ट एडभेन्चर एण्ड इन्फोटेन्मेन्ट प्रालिले ‘बस टू एभरेष्ट टूर’ आयोजना गर्ने भएको छ । १२ देशका पर्यटकलाई लक्षित गरी आयोजना गर्न लागिएको सो टूर प्याकेजमा पर्यटकले बसबाटै सगरमाथाको बेस क्याम्पसम्म यात्रा गर्न पाउने छन् ।

नेपालको पर्यटन क्षेत्रको विकास र प्रबद्र्धन गर्न नयाँ अवधारणा आवश्यक भएकोले यस्तो टूर प्याकेज संचालन गर्न लागिएको टूर म्यानेजर ट्रान्स सोलुसन नेपालका डाइरेक्टर धर्मेन्द्र सापकोटाले जानकारी दिए । यस्तो प्याकेज अंग्रेजी महिनाको अप्रिलदेखि सुरु भएर सेप्टेम्बर महिनासम्म ६ महिना चल्नेछ ।

‘पर्यटनको प्रचुर सम्भावना भएर पनि नेपालले यसबाट अपेक्षित फाइदा लिन सकेको छैन, पर्यटन क्षेत्रमा अब नयाँ अवधारणासहित काम गर्नुपर्ने आवश्यकता देखिएको छ, यही आवश्यकतालाई मध्येनजर गर्दै हामीले बस टू एभरेष्ट टूर आयोजना गर्न लागेका हौं,’ डाइरेक्टर सापकोटाले विकासन्युजसँग भने ।

यस्तो टुर देश अनुसार कम्तिमा २३ दिनदेखि बढीमा ६५ दिनसम्मको हुनेछ । पर्यटकलाई फाइभस्टार होटलमा राख्ने व्यवस्था मिलाइएको छ । विदेशी पर्यटक नेपाल भित्र्याउने मुख्य उदेश्य राखेर संचालन गर्न लागिएको यो टूर प्याकेजमा आएका पर्यटकलाई काठमडौंदेखि सगरमाथाको बेस क्याम्पसम्म जहाजमा लाने र त्यसपछि फर्कदा आफै टिकट काटेर वा टूर संचालकसँग समन्वय गरेर त्यही बस फर्कन पनि पाउने सापकोटाको भनाइ छ ।

यो टूरमा सबैभन्दा सस्तो भनेको २३ रातको लागि प्रतिव्यक्ति ६ हजार ५ सय ५१ अमेरिकी डलर तोकिएको छ । यो खर्चमा पर्यटकले एभरेष्ट–चाइना–उत्तर कोरिया–सोल यात्रा गर्न पाउने छन् । यस्तो खर्चमा खाने, बस्ने लगायतका सुविधा जोडिएको छ ।

यस्तै, सबैभन्दा महंगो टूर भनेको १६ हजार ५ सय २१ अमेरिकी डलरको छ । यो टुर गर्न ५७ दिन लाग्नेछ भने पर्यटकले एभरेष्ट–पोल्याण्ड–मिलान यात्रा गर्न पाउने छन् ।

यात्राको लागि टूर संचालकले युरोपको युरो फिट कम्पनीसँग बसको लागि सम्झौता गरेको छ । सो कम्पनीसँग १२० वटा अत्याधुनिक सुविधा सम्पन्न बस रहेको सापकोटाले बताए ।

‘हामीले १२ देशलाई तार्गेट गरेका छौं, ती देशबाट प्रत्येक हप्ता एउटाका दरले रेगुलर रिजर्भ बस छुट्नेछन्, रुट भने बढी मात्रामा १७औं शताब्धीतिर नेपाल आउन पर्यटकले प्रयोग गर्ने गरेको हिप्पी ट्रेल नै हो, त्यसमा पर्यटकीय महत्वका थप डेस्टिनेसन पनि जोड्ने प्रयास गरिएकोले कही यताउता हुन सक्छ,’ सापकोटाले थपे ।

नेपाली पनि बसमै लण्डनसम्म जान पाउने

सो टूर प्याकेज अन्तरगत नेपाली पनि बसमै लण्डनसम्मको यात्रा गर्न पाउने अवसर प्राप्त गर्ने सापकोटाको भनाइ छ । तर, युरोपेली देशले नेपालीलाई सहजै भिसा नदिने भएकोले केही समस्या आउन सक्ने उनले बताए ।

‘विभिन्न देशबाट आएका बसहरु एभरेष्ट बेस क्याम्पमा पुगेपछि खाली हुनेछन्, यस्ता बसमा नेपाली वा नेपालमा भएका पर्यटक फर्कन सक्ने सम्भावना पनि हुन्छ, तर, नेपालीले सहजै भिसा पाउन नसक्ने र खर्च पनि बढी लाग्ने भएकोले धेरै पर्यटक पाउन सहज छैन, फेरि हाम्रो लक्ष्य पनि विदेशी पर्यटक नेपाल भित्र्याउने हो, त्यसैले बेस क्याम्पबाट फर्कने बसमा भारतीय, पाकिस्तानी, बंगलादेशी लगायतका पर्यटक बढी हुने गरी हामीले प्रचार प्रसार गरिरहेका छौं,’ सापकोटाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.