२ लाख ७३ हजारले पाए सानिमा जनरल इन्स्योरेन्सको सेयर, करिब ६ लाखकाे हात खाली

  २०७७ असोज ३० गते ९:१३     विकासन्युज

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले निष्काशन गरेको प्राथमिक सेयर(आईपीओ) को आज(असाेज ३० गते) बाँडफाँड भएको छ । उक्त आईपीओ सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो ।

क्यापिटलका अनुसार भाग्यमानी २ लाख ७३ हजारले मात्र कम्पनीको सेयर हात पारेका छन् । उनीहरुले गोलाप्रथाबाट १०/१० कित्ताको दरले कम्पनीको सेयर हात पारेका हुन् ।

आईपीओमा कूल ८ लाख ६६ हजार ९ सय ५ जना आवेदकहरुबाट एक करोड ८५ लाख ९१ हजार ५ सय २० कित्ताको लागि सेयर आवेदन परेको थियो । जसमध्ये ३३ सय ६० जना आवेदकहरुबाट ६२ हजार २ सय ८० कित्ताको लागि परेको आवेदन दोहोरो भएकाले उक्त आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

बाँकी रितपूर्वक प्राप्त ८ लाख ६३ हजार ५ सय ८५ वटा आवेदकबाट एक करोड ८५ लाख २९ हजार २ सय ४० कित्ताका लागि आवेदन प्राप्त भएको छ । जसमध्ये गोलाप्रथाबाट २ लाख ७३ हजार जनालाई १०/१० कित्ताको दरले बाँडफाँड गरिएको हो ।

यससँगै रितपूर्वक आवेदन दिनेमध्ये ५ लाख ९० हजार बढीकाे हात खाली भएको छ ।

कम्पनीले असोज २१ गतेदेखि असोज २५ गतेसम्म प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ३० लाख कित्ता अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा राखेको हो ।

कूल ३० लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणमा बिक्री गरेकाे हाे ।

यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेकाे थियाे । ७० करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी आईपीओ बाँडफाँडपछि एक अर्ब रुपैयाँ पुग्नेछ।

One comment on "२ लाख ७३ हजारले पाए सानिमा जनरल इन्स्योरेन्सको सेयर, करिब ६ लाखकाे हात खाली"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.