सिद्धकाली पावरको सेयरमा लगानी गर्ने डुबे, गुरूकाे कारण धेरैकाे बिचल्ली

  २०७७ असोज २९ गते ९:५४     विकासन्युज

काठमाडौं । सिद्धकाली पावर कम्पनीमा एक हजार भन्दा बढी लगानीकर्ताको झण्डै एक अर्ब रुपैयाँ फसेको छ । नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद बिक्री सम्झौता खारेज गरिदिएपछि लगानीकर्ताहरु आत्तिएर कम्पनीसँग पैसा फिर्ता मागिरहेका छन् ।

करिब ८ सय लगानीकर्ताले करिब ६० करोड रुपैयाँ फिर्ता माग गर्दै निवेदन दिएको कम्पनी सम्बद्ध स्रोतले बतायो । ‘कम्पनीका अध्यक्ष गुरु प्रसाद न्यौपाने, उनका परिवार सदस्य र कम्पनीबाट प्रत्यक्ष लाभ पाएकाहरुले पैसा फिर्ताको लागि आवेदन गरेका छैनन्, सर्वसाधारण लगानीकर्ताले पैसा फिर्ता माग गर्दै निवेदन दिएका छन्’ कम्पनी सम्बद्ध स्रोतले भन्यो ।

नुवाकोट र धादिङ जिल्लाको सीमा क्षेत्र भएर बगेको त्रिशुली नदिमा ७५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्न भनेर सिद्धकालीले सर्बसाधारणलाई प्रवद्र्धक सेयर बेचेको थियो ।

कम्पनीले सार्वजनिक सूचना प्रकाशित गरेर सर्वसाधारणलाई न्यूनतम १ लाख र अधिकतम १ करोड रुपैयाँ लगानी गर्न आह्वान गरेको थियो । सेयर बजारमा उछाल आएको बेलामा कम्पनीले सर्बधारणमा प्रमोटर सेयर बिक्री गरेको थियो ।

निजी क्षेत्रबाट निर्माण गरिने सबैभन्दा ठूलो र बाग्मतीको अनुहार परिवर्तन गर्ने विद्युत परियोजना भनेर प्रचार गर्दै साधारण लगानीकर्तालाई प्रमोटर सेयर बिक्री गरिएको थियो ।

पैसा उठाउने बेलामा उक्त परियोजनाको लागत १५ अर्ब रुपैयाँ भन्दा कम हुने कम्पनीले आश्वासन दिएको थियो । तर भारत र चीनका प्राविधिकहरुले उक्त परियोजनाको लागत अति नै महँगो पर्ने सुझाव दिएपछि आयोजनामा बैंकहरुले कर्जा लगानी गर्न मानेन् ।

नेपाली बैंकहरुले लगानी गर्न नमानेपछि चिनियाँ लगानीकर्तालाई साझेदार बनाउन कम्पनीका अध्यक्ष गुरु प्रसाद न्यौपाने जुटेका थिए । तर चिनियाँहरुले पनि आयोजनाको प्रतिफल राम्रो नदेखेपछि पछाडि हटेका थिए ।

सिद्धकाली पावरले तोकेको समयमा परियोजना निर्माण गर्न नसकेपछि प्राधिकरणले पीपीए खारेज गरिदिएको छ । ‘७५ मेगावाट क्षमताको परियोजना बनाउन पैसा जुटाउन सकिएन, यस परियोजनालाई २५ मेगावाट बनाउने तयारीमा छौं’ कम्पनीका अध्यक्ष गुरु प्रसाद न्यौपानेले विकासन्युजसँग बताए ।

तर सरकारले ४० मेगावाट क्षमता घटाएर सिद्धकालीलाई उक्त परियोजनाको लाइसेन्स दिने सम्भावना शुन्य रहेको जानकारहरु बताउँछन् । ‘परियोजना नबन्न पुँजीको अभाव हो । पैसा नहुनेले परियोजना घटाएर लिन पाउँदैन’ एक सरकारी अधिकारीले भने ।

सेयर पुँजी फिर्ता माग गर्नेलाई पैसा दिन शुरु भईसकेको अध्यक्ष न्यौपानेले बताए । ‘पैसा फिर्ता माग्नेलाई क्रमश फिर्ता दिन थालेको छौं । अहिलेसम्म करिब २० करोड रुपैयाँ फिर्ता गरेका छौं’ उनले भने- ‘कम्पनीप्रति विश्वास नगर्नेलाई पैसा फिर्ता दिन्छौं, बाँकी रहेको लगानीकर्ता र नयाँ लगानीकर्ताबाट पैसा जुटाएर सानो परियोजना बनाउँछौं ।’

न्यौपानेले ५ वर्षअघि करिब १ अर्ब रुपैयाँ उठाएर निजी व्यापार व्यवसायमा लगानी गरेको, त्यसबाट आफूले मनग्य आम्दानी गरेको तर अहिले सावा मात्र फिर्ता दिएको एक लगानीकर्ताले बताए ।

पारिवारिक कलहले पनि यो कम्पनी संकटमा परेको जानकारहरु बताउँछन् । गुरु न्यौपानेले बुहारी पूजा दाहाललाई कम्पनीको कार्यकारी निर्देशक बनाएका थिए । हाल छोरा-बुहारीबीच सम्बन्ध विच्छेद भईसकेको छ । स्राेतका अनुसार दाहालले समेत कम्पनीमा आफ्नो स्वामित्वमा रहेकाे  सेयर पुँजी फिर्ता माग गर्दै आएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.