कोभिड-१९ ले बढायो मानसिक समस्या

  २०७७ असोज २८ गते १७:२६     विकासन्युज

बागलुङ । कोभिड-१९ को प्रकोपपछि मानिसमा मानसिक समस्या बढेको छ । दैनिकी खल्बलिनु, रोजगारी/कमाइ गुम्नु, महामारीको सन्त्रासजस्ता कारणले मानसिक समस्या बढेको हो । धवलागिरि अस्पतालका मानसिक रोग विशेषज्ञ डा धीरेन्द्र पौडेलका अनुसार कोभिड-१९ अघि मानसिक समस्या लिएर अस्पताल आउने फाटफुट्ट हुन्थे । अहिले दैनिक ६/७ जना बिरामी अस्पताल आउँछन् ।

“प्यानिक अट्याक भएर आउने बढी हुनुहुन्छ, छाती दुख्यो, मलाई हृदयघात भयो की ? भन्दै आउनुहुन्छ”, उनले भने । एक्कासि उत्पन्न हुने अत्यधिक त्रासले ‘प्यानिक अट्याक’ निम्त्याउने गर्छ । तनाव, डर, चिन्ता, एक्लोपना आदि कारणले ‘प्यानिक अट्याक’ हुने डा पौडेलको भनाइ छ ।

दिग्दारीपन, आत्तिने/डराउने (एन्जाइटी)लगायतका मनोरोग पनि बढीरहेको उनले बताए । “छ वर्षको बच्चालाई पनि एन्जाइटी भएर म कहाँ लिएर आउनुभएको थियो”, डा पौडेलले भने, “नियमित पढाइ रोकिँदा, घरमै बसिरहँदा बालबालिकामा पनि मानसिक समस्या बढिरहेको छ ।” उहाँले बालबालिकालाई घरमै मायालु वातावरणसहित सिकाइ र सिर्जनशील काममा व्यस्त राख्नुपर्ने बताए ।

बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले मानसिक समस्या समाजमा लुकेर बसेको बताए । “अस्पताल आउने झण्डै एक तिहाइमा कुनै न कुनै खाले मानसिक समस्या देखिन्छ”, उनले भने, “कोभिड-१९ पछि यो सङ्ख्या अझ बढ्दो छ, यो अवधिमा आत्महत्याका घटना पनि धेरै भए ।”

नेपाल प्रहरीको आँकडा अनुसार गत चैतदेखि साउनसम्ममा दुई हजार २१८ जनाले आत्महत्या गरेका छन् । जनस्वास्थ्य अधिकृत खनालले सामाजिक, मानसिक र जैविक कारणले मानसिक रोग निम्तने गरेको बताए । मानसिक समस्याबाट गुज्रेका मानिसको पहिचान र उपचारका लागि पहुँच तथा लगानी बढाउनुपर्ने उनको भनाइ छ ।

बागलुङ नगरपालिका-३ का अध्यक्ष लक्ष्मी बाँस्कोटाले कोरोना जाँचका लागि स्वाब दिएपछि नतिजा नआउञ्जेलसम्म पनि मानिस ठूलो पीडा र अत्यासमा बस्नुपरेको अनुभव सुनाए । उनले मानसिक समस्या लुकाउने र स्वीकार्न नसक्ने स्थितिले रोग न्यूनीकरणमा चुनौती थपेको उल्लेख गरे। वडाध्यक्ष बाँस्कोटाले समुदायस्तरमा मानसिक स्वास्थ्यबारे जनचेतना बढाउनुपर्ने बताए ।

स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले योग र ध्यानबाट पनि कतिपय मानसिक समस्याबाट मुक्ति मिल्ने बताए । “योग, ध्यानलाई अहिले विज्ञानले पनि प्रमाणित गरेको छ, यसले शारीरिक र मानसिक स्वास्थ्य चुस्त राख्न सघाउँछ”, उनले भने । डा पौडेलले मानसिक समस्या भएका बिरामीलाई मनोपरामर्श, थेरापी र औषधिबाट उपचार गरिने बताए।

“शरीररमा रासायनको गडबडीजस्ता जैविक कारणले भएको समस्यामा औषधि नै चलाउनुपर्छ, कतिपय बिरामी मनोपरामर्श, थेरापीबाट पनि ठिक हुन्छन्”, उनले भने। अधिकांश मानसिक रोग छ देखि दुई वर्षसम्म नियमित औषधि खाँदा निको हुन्छन् । गम्भीर मनोविकृतिको अवस्थामा भने लामो समयसम्म औषधि लिनुपर्ने हुन्छ ।

मानसिक समस्याबाट छुटकारा पाउन जीवनशैलीमा परिवर्तन ल्याउनुपर्ने चिकित्सक बताउँछन् । बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले बाहिर देखिएभन्दा ठूलो जनसङ्ख्यामा मानसिक समस्या रहेको बताए। उनले मानसिक स्वास्थ्यलाई स्थानीय तहले पनि प्राथमिकता दिनुपर्ने उल्लेख गरे ।

“अबदेखि मानसिक स्वास्थ्यलाई वार्षिक योजनामै समेट्छौँ”, उनले भने, “हरेक व्यक्ति शारीरिक मात्र होइन मानसिक रुपमा पनि उत्तिकै स्वस्थ हुनु जरुरी छ ।” यही साता नगरपालिकाको स्वास्थ्य शाखाले विश्व मानसिक स्वास्थ्य दिवससमेत मनाएको थियो । वर्षेनी अङ्ग्रेजी महिना अक्टुबर १० मा यो दिवस मनाइन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.