पाँच तारा साकोसको १३औं साधारणसभा सम्पन्न, कुल कारोबार ५९ करोड बढी

  २०७७ असोज २६ गते १४:११     विकासन्युज

काठमाडाैं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले नवीनतम प्रविधिको प्रयोगमार्फत विषम परिस्थितिमा पनि १३औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । नेफ्स्कुनका अध्यक्ष परितोष पौडेलको प्रमुख आतिथ्यतामा संस्थाले साधारणसभा सम्पन्न गरेको हो ।

सभामा शुभकामना मन्तब्य राख्दै अध्यक्ष पौडेलले सहकारी क्षेत्र अब डिजिटाइजेशन र सर्भिस्टाइजेशनमा जाने बेला आएको बताए । कोभिड-१९ महामारीबाट बच्न सरकारले शुरुमा गरेको लकडाउनसँगै नेफ्स्कुनले जारी गरेका दुईवटा मार्गनिर्देशनमा सहकारी संस्थाहरु अघि बढेकाले समाजमा सहकारीको साख झनै बढेको उनले जनाए । कोभिडका कारण सदस्यहरुमा मनोवैज्ञानिक असर पर्नुका साथै भौतिक उपस्थिति समेत पातलिँदै गएको अवस्थामा उनीहरुमा आत्मविश्वास जगाउँदै जनजीविकालाई सुचारु बनाउन सहकारीको महत्वपूर्ण भूमिका हुने पौडेलले जनाए ।

कोभिडको प्रभाव बढेसँगै मुलुक आर्थिक मन्दीमा जान सक्ने संकेत देखिएकाले सदस्यहरुको आर्थिक स्तरलाई माथि उठाउन सहकारीहरुले व्यवसायिक निरन्तरता योजना तत्काल कार्यान्वयन गर्नुपर्ने सुझाव उनले दिए । सदस्यहरुको आर्थिक सामाजिक स्तरलाई आधार बनाएर व्यवसायिक निरन्तरता योजना लागु गर्न सके सदस्यहरुले गरिमामय जीवन जिउन सक्ने उनको भनाइ थियो ।

नेफ्स्कुनले व्यवसाय प्रवर्द्धनका सन्दर्भमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कोषहरुसँग सहकार्य गरेर काम गरिरहेको र कोभिडका बीचमा सदस्यहरुको सामना शक्ति विकास गर्नेतर्फ केन्द्रित भएको उनले जनाए ।

अहिले सहकारी ऐन संशोधनको कुरा अघि बढाइएको र ऐनमा रहेका बाधक पक्षहरु संशोधनका लागि सरकारी प्रतिवद्धता आएको उनले जनाए । कोभिडबाट अन्य क्षेत्र जस्तै सहकारी क्षेत्र पनि प्रभावित भएकाले सहकारीका ऐन नियम कार्यान्वयनको कुरामा सरकारलाई लचकता अपनाउन उनले आग्रह गरे ।

पाँच तारा साकोस नेफ्स्कुनकै गाइडलाइनमा अगाडि बढेको उल्लेख गर्दै उनले सहकारीहरुलाई स्तरिकृत र स्थरिकरण कोषमा जोड्दै सबल र सुशासनयुक्त संस्था बनाउने अभियानमा नेफ्स्कुन लागेको उल्लेख गरे । संस्थाको कारोबार बढ्दै जाँदा जोखिम पनि बढ्ने भएकाले नेफ्स्कुनले अघि सारेको ३ मध्ये एक कार्यक्रममा सहभागि हुन पाँच तारालाई उनले आग्रह गरे ।

संस्थाका अध्यक्ष भोला नाथ पाठकले असहज परिस्थितिका कारण सदस्यहरुको भौतिक उपस्थिति बिना नै साधारण सभा गर्नु पर्दा खल्लो महशुस भएको बताए । सामान्य हेराइबाट नदेखिन अदृष्य भाइरसले संसारलाई नै चपेटामा पारेको र यसको प्रभावबाट कुनै क्षेत्र, वर्ग र समुदाय अछुतो नरहेको भन्दै यस्तो अवस्थामा पनि संस्थाले सदस्यहरुलाई निरन्तर सेवा दिन सकेको उनले उल्लेख गरे ।

महामारीका बीच पनि संस्थागत र सामाजिक कार्यक्रममा संस्था निरन्तर लागिरहेको र लकडाउनका कारण आर्थिक समस्यामा परेका सदस्यहरुलाई राहत उपलब्ध गराउनले देखि भोजन दानमा समेत संस्थाले सहभागिता जनाएको उनले जानकारी दिए ।

संस्थाले उद्यमशीलता विकासका लागि उद्यम विकास खाता शुरु गरेको र कृषि तथा महिला उद्यमी कर्जा सहुलियत दरमा लगानी गर्ने योजना अघि बढाएको अध्यक्ष पाठकले बताए ।

प्राकृतिक विपत्तिहरु आउँदा त्यसलाई व्यवस्थापन गर्न प्राकृतिक विपत्ति कोषको स्थापना गरेको र उक्त कोषमा हालसम्म ७ लाख ७ हजार ९१६ रुपैया जम्मा भएको जानकारी उनले दिए । संस्थाले स्मार्ट मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याइसकेको र निकट भविष्यमै एससिटि नेटवर्कमार्फत एटिएम सेवा शुरु गर्ने योजना भएको जनाए ।

उद्यमशीलता बाट नै व्यक्ति समृद्ध हुने भएकाले संस्थाबाट लिएको ऋणलाई समुचित उपयोग गरी आयस्तर वृद्धि हुने कार्यमा लगाउन उनले आग्रह गरे ।

संस्थाका कोषाध्यक्ष कुमार विमलीले आर्थिक वर्ष २०७६।७७ को आर्थिक विवरण पेश गर्दे शेयर पूँजी ६ करोड ३२ लाग २८ हजार, बचत संकलन ४१ करोड ६६ लाख ८७ हजार र ऋण लगानी ४६ करोड १ लाख २४ हजार पुगेको जानकारी गराए ।  संस्थाले आव २०७६।७७ मा २ करोड ६२ लाख १५ हजार खुद मुनाफा आर्जन गरेको छ । मुनाफा अघिल्लो आ.व.को भन्दा ६९ लाख ६ हजारले बढि रहेको छ । संस्थाको कुल कारोबार ५९ करोड ८ लाख ७० हजार पुगेको छ ।

पूँजी फिर्ता कोषलाई योगदानको आधारमा ऋण लगानीमा ६० प्रतिशत र बचत योगदानमा ४० प्रतिशत हुने गरी बाँडफाँड गर्नुपर्ने कानुनी व्यवस्था भएपनि संस्थाले पूँजी फिर्ता कोष कार्यविधि तयार गरिनसकेकाले शेयर अनुपातका आधारमा सक्रिय सदस्यहरुका लागि दामासाही रुपमा बाँडफाँड गर्ने भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.