फेरि लकडाउन हुने डरले काठमाडौं छोड्ने बढे, एक सातामै करिब १ लाख बाहिरिए

  २०७७ असोज २५ गते १५:५९     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएसँगै काठमाडौं उपत्यका छोड्नेहरूको संख्या पनि बढेको छ । केही दिन यता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै मानिसहरु काठमाडौंमा पुनः लकडाउन हुने पो होकि भन्ने डरले धमाधम उपत्यका छोडेर गाउँ फर्किन थालेका हुन् ।

दशैं नजिकिएसँगै कोरोना भाइरसको संक्तमण पनि तीव्र रुपमा फैलिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार पुगे पुनः लकडाउन गर्ने सरकारलालाई सुझाव समेत दिएकाे थियो ।

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरि लकडाउन नगर्ने बताए पनि नागरिकहरु भने धमाधम काठमाडौं उपत्यका छोडेर गाउँ फर्किरहेका छन् । यद्यपि सरकारले भने यो वर्षकोे दशैं जहाँ छौं त्यहीँ मनाऔं भनेर आग्रह गरिरहेको छ ।

सरकारले यस्तो आग्रह गरेपनि कोरोना संक्रमण हुने डर र लकडाउन हुने डरले मानिसहरु घर फर्किन लागेका हुन् । केही समय अघि काठमाडौंमै बस्ने मनसाय बनाएका मानिस पनि अहिले काठमाडौंमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै उनीहरु गाउँ फर्किन बाध्य भएका हुन् ।

पछिल्लो एक सातामा काठमाडौ. उपत्यकाबाट बाहिरिनेको संख्या करिब एक लाख रहेको छ । अघिल्लो हप्ता काठमाडौ. उपत्यका छोड्नेहरुको संख्या ३ लाख ६१ हजार २ सय ६८ भएपनि गत हप्ता काठमाडौंबाट गाउँ फर्किनेको संख्या ४ लाख ५३ हजार ४ सय ११ पुगेको महानगरिय ट्राफिक महाशाखाले जनाएको छ । यो तथ्यांक हेर्दा करिब एक लाख अर्थात ९२ हजार १ सय २३ जना काठमाडौं बाहिरिएका छन् ।

महानगरिय ट्राफिक महाशाखाकाको तथ्यांक अनुसार निषेधाज्ञा खुलेपछि असोज १७ गतेसम्म काठमाडौं उपत्यकामा विभिन्न नाकाहरुबाट ३ लाख ५८ हजार ४ सय जनाले प्रवेश गरेका थिए । त्यो संख्या बढेर असोज २४ गतेसम्म ४ लाख २८ हजार ४ सय ५६ मानिस उपत्यका भित्रिएका छन् । काठमाडौंबाट बाहिरनेको तुलनामा यो संख्या २४ हजार ९ सय ५५ जनाले कम हो ।

त्यस्तै सोही अवधिमा १ लाख ७ हजार ७ सय २ वटा सवारी साधन काठमाडौं भित्रिएका छन् । असोज १७ गतेसम्म अर्थात अघिल्लो हप्तासम्म ९४ हजार ९ सय ७७ सवारी साधन काठमाडौं प्रवेश गरेका थिए ।

काठमाडौंबाट बारिरिने सवारी साधनको संख्या असोज १ गतेदेखि असोज २४ गतेसम्म १ लाख ९ हजार ३ सय ५३ वटा सवारी साधन बाहिरिएका छन् । महाशाखा सूचना अधिकारी रामेश्वरप्रसाद यादवले गत हप्ता बाहिरिनेको संख्यामा वृद्धि भएको बताए । उनले आवतजावत गर्नेहरुले स्वास्थ्य सुरक्षा नअपनाएको पाइएमा ट्राफिक प्रहरीले कारबाही पनि गर्दै आएको बताए ।

पछिल्लो समय देशभर देखिएका कोरोना संक्रमितको तुलनामा काठमाडौंमा आधा देखिने गरेका छन् । अहिले काठमाडौं उपत्यकामा मात्र २ हजारदेखि ३ हजारसम्म कोरोनाका बिरामी देखा पर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.