पुराना कम्पनीको विजनेश घट्ला तर हामी १०० प्रतिशत वृद्धि गर्छौं – सुधुम्न उपाध्याय

  २०७७ असोज २३ गते २०:०२     विकासन्युज

सुधुम्न उपाध्याय, प्रमुख कार्यकारी अधिकृत-सानिमा जनरल इन्स्योरेन्स लिमिटेड
कोभिडको कारण बीमा कम्पनीहरुको व्यवसाय पनि घटेको छ । बैंकको व्याज घटेपछि बीमा कम्पनीहरुको आम्दानी पनि घट्दैछ । कोभिड महामारीको कारण बीमा कम्पनीहरुको दायित्व बढ्ने देखिन्छ । कम्पनीको नाफा पनि घट्ने देखिन्छ । तर यतिधेरै चुनौतिका बीच सानिमा जनरल इन्स्योरेन्सले निष्काशन गरेको साधारण सेयरमा सर्वसाधारणको धेरै आकर्षण भएको छ । यहि विषयमा केन्द्रीत भएर सानिमा जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कर्याकारी अधिकृत सुधुम्न प्रसाद उपाध्यायसँग गरिएको कुराकानी ।


कोभिड महामारीले समाजका सबै अवयवहरु प्रभावित भएका छन् । यसबीचमा कम्पनी व्यवस्थापन कसरी गरिरहनु भएको छ ?

बीमा अत्यावश्यक सेवा भएकोले नियमित सेवा दिनैपर्छ । पब्लिकसँग डिल गर्नैपर्छ । सबै काम डिजिटल गर्न सकिएको छैन । समस्यासँग जुध्दै, स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्दै हामी अगाडि बढेका छौं ।

कोभिड बीमा पोलिसी बीमा कम्पनीहरुको टाउको दुःखाईको विषय भएको हो ?

त्यस्तो छैन । कोभिड बीमा पोलिसीमा केही संशोधन पनि भएको छ । सरकारले पनि यो बीमा पोलिसीमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । त्यो कारणले धेरै तनाव भएको छैन ।

कोभिड बीमा पोलिसीमा बीमा कम्पनीहरुलाई नाफा छ ?

नाफाको लागि यो बीमा पोसिली ल्याएकै होइन । यो महामारीको बेलामा सामाजिक दायित्व बोध गरेर ल्याएको पोसिली हो । हरेक कम्पनीले ४ करोड रुपैयाँ बराबरको दायित्व बोक्नुपर्छ । बीमा पुलमार्फत बीमा दावी भुक्तानी हुन्छ । त्यसमा नयाँ, पुराना सबै कम्पनीले ४÷४ करोड रुपैयाँ भुक्तानी गर्ने हो । त्यसमा प्रिमियम कति संकलन हुन्छ भन्ने छ ।

आर्थिक वृद्धिदर शुन्य प्रतिशतमा झरेको छ । बीमा व्यवसायमा वृद्धि कति छ ?

बीमा विजनेश ग्रोथ छैन । बीमा समितिले लकडाउन छुटको व्यवस्था गरेको छ । त्यसले गत वर्षको जति विजनेश गर्न पनि गाह्रो हुन्छ । नयाँ विजनेश छैन । अर्थतन्त्र चलायमान छ तर एग्रेसिभ छैन । निर्माण परियोजनाहरुमा काम अगाडि बढेका छन् । त्यसले त्यस क्षेत्रको बीमा घट्नैन । कृषि बीमा केही बढेको छ । सवारी बीमा र सम्पत्ति बीमा घट्ने देखिन्छ । त्यसले गत वर्षको बराबर विजनेश गर्न पनि यसपाली बीमा कम्पनीहरुले मिहेनत गर्नैपर्छ ।

तर सानिमा जनरल इन्स्योरेन्स कम्पनीले त यस वर्ष पनि ९८ प्रतिशतले व्यवसाय विस्तार गर्ने योजना बनाएको छ नि ?

हामी झण्डै १०० प्रतिशत बीमा शुल्क वृद्धि गर्छौ भनेर भनेका छौं । हामीले गत वर्ष ३५ करोडको विजनेश गर्यौं । चालु आर्थिक वर्षमा हामीले ७० करोडको विजनेश गर्न सकिन्छ भन्ने हो । ७० करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा पनि हामी बजारमा सबैभन्दा कम विजनेश गर्ने कम्पनी हुनेछौं । प्रतिशतको हिसावले १०० प्रतिशत ग्रोथ गर्ने भने पनि फिगरमा हेर्दा यो ठूलो विजनेश होइन । कोभिड महामारी र वर्तमान विजनेशको अवस्था हेरेर नै हामीले थोरै लक्ष्य राखेका छौं । कम्पनीले जारी गरेको विवरण पत्रमा हेर्नुभयो भने हामीले नाफा पनि धेरै प्रक्षेपण गरेका छैनौं । कोभिडको अवस्था निरन्तर रह्यो भने पनि हामी यो लक्ष्य हासिल गर्न सक्छौं ।

पुराना कम्पनीको बजार हिस्सा घट्ने नै हो यो वर्ष ?

यो अवस्थामा पुराना कम्पनीको विजनेश केही डाइल्युट पक्कै हुन्छ । नयाँ कम्पनी आएको बेलामा र बजार विकास नभएको अवस्थामा जुनसुकै बजारमा यस्तो हुन्छ ।

नयाँ बीमा कम्पनीहरु मध्ये पनि सानिमा सबैभन्दा पछाडि छ । पुराना कम्पनीहरुसँगको तुलनामा त झनै पछाडि हुने नै भयो । यो अवस्थाबाट सानिमा कहिले माथि आउँछ ?

अहिलेको सिनारियोबाट अबको दुई वर्ष वाहिरिदैनौं । यतिबेला प्रिमियम टपलाइन हाम्रो प्राथमिकता होइन । बलियो कम्पनी, राम्रो कम्पनी बन्ने हाम्रो प्राथमिकता हो । थोरै प्रिमियम आर्जन गरेर पनि राम्रो नाफा गर्ने कम्पनीको रुपमा हामी अगाडि बढ्ने छौं । हाम्रो तीन वर्षे प्रोजेक्सन हेर्नुभयो भने पनि हाम्रा लक्ष्यहरु महत्वकांक्षी छैनन् । बस्तुगत धरातललाई हामीले मनन गरेका छौं ।

कुनै पनि नयाँ कम्पनीले आफूलाई पूर्णरुपमा सेटअप गर्नको लागि करिव ५ वर्ष लाग्छ । हामीसँग उच्चस्तरको दक्ष जनशक्तिको पनि कमी छ । हाम्रो नेटवर्क पनि विस्तार गर्दै जानुछ । एकैचोटी हामी टपलाइनमा जाने सोच राख्नु भनेको आफ्नो धरातल विर्सनु हो । पहिला बटमलाइनको प्रोफिटलाई मेन्टेन गरेर, चुस्तदुरुस्त व्यवस्थापन बनाएर, सञ्चालन प्रणाली बलियो बनाएपछि हामी टपलाइन टार्गेट लिएर अगाडि बढ्नेछौं । अहिले नै हामी आक्रामक रुपमा टपलाइन टार्गेट लिएर गयौ भने हामीले धेरै विषयमा सम्झौता गर्नुपर्ने हुन्छ । धेरै जोखिमहरु लिनुपर्ने हुन्छ । हामी त्यस्तो जोखिम लिने पक्षमा छैनौं । हामी स्टाटेजिक र अर्गानिक ग्रोथमा अगाडि बढ्ने छौं ।

व्यवस्थापन चुस्तदुरुस्त बनाउने सोच राख्नुभयो । तर चालु वर्षमा खर्च ६० प्रतिशतले वृद्धि गर्ने सोच रोख्नु भयो नि ?

त्यो पनि तुलनात्मक रुपमा हेर्नुपर्छ । हामी असाध्यै थोरै खर्चमा चलिरहेको कम्पनी हौं । अरु कम्पनीहरुसँग तुलना गर्नु भयो भने ६० प्रतिशत खर्च वृद्धि गर्दा पनि हामी सबैभन्दा कम खर्चमा चलेको कम्पनी हुनेछौं । खर्चको रेसियो हेर्नुभयो भने त्यो निकै कम छ । हामी सँगै खुलेका कम्पनीको भन्दा हाम्रो नाफा कम हुनेछैन ।

सानिमा जनरलको तीन वर्षे प्रक्षेपण आकर्षक छैन तर सेयरको मागले कम्पनीप्रति निकै आकर्षण रहेको देखायो । यसको कारण के हुन् ?

हामीले बास्तविकता जे हो, त्यो अगाडि सारेका छौं । त्यसले पनि कम्पनीप्रतिको विश्वास बढेको छ । यस कम्पनीको मुख्य प्रवद्र्धक सानिमा बैंक, यसका प्रवद्र्धकहरुप्रतिको विश्वास पनि हो । सानिमा बैंकलाई हेर्ने हो भने पहिला यो बैंक सुस्त नै थियो । अहिले एग्रेसिभ छ । उसको विजनेश राम्रो छ ।

सानिमा जनरलले दिने लाभांश कस्तो हुन्छ ?

पहिलो पाँच वर्ष धेरै आकर्षक हुँदैन । बीमामा विजनेश ग्रोथ जति धेरै गर्यो, त्यतिधेरै रिर्जभहरुमा राख्नुपर्ने हुन्छ । दायित्व वृद्धिसँगै कोषहरु बलियो बनाउनुपर्ने हुन्छ । त्यसैले शुरुका वर्षमा हामीले उच्चदरका लाभांश वितरण गर्न सक्दैनौं । बीमा कम्पनी स्थापना भएको ५ वर्षसम्म वितरणयोग्य नाफा धेरै हुनसक्दैन ।

कम्पनीको लाभांश ७ प्रतिशतभन्दा कम हुने प्रक्षेपण छ । तर लगानीकर्ताको आकर्षण धेरै नै देखियो । के यो बजार ट्रेन नै हो ?

बजार ट्रेन त सबै कम्पनीका लागि लागू हुन्छ । अहिले लगानीकर्ताले सानिमा जनरलको सेयरप्रति विश्वास गर्नुमा यो कम्पनी, यसका प्रमोटर र सानिमा ग्रुपप्रतिको विश्वास हो ।

वित्तीय क्षेत्रको सेयर निष्काशन गर्नु र पुँजी संकलन गर्नु निकै सजिलो काम हो ?

विश्वास छ । बैंक, बीमा, लघुवित्तहरुको सेयरप्रति बजारको विश्वास बढी छ । यी कम्पनीहरु पारदर्शी छन्, वेलरेगुलेटेट छन् । सेयर बजारमा बैंक, बीमा, लघुवित्तको सेयर कारोबार, मुल्य सबै राम्रो छ । त्यसैले पनि लगानीकर्ता यस्ता कम्पनीको सेयरप्रति आकर्षित भएको देखिन्छ ।

कम्पनीलाई अगाडि बढाउने योजना के छन् ?

डिजिटल प्रडक्टहरुलाई जोड दिदैछौं । नेटवर्क विस्तारमा जोड दिन्छौं । अहिले १९ वटा मात्र शाखा छन् । वार्षिक १०/१२ वटा शाखा विस्तार गर्ने योजनामा छौं । जनशक्ति विकासमा जोड दिन्छौं । हामी इनोभेशन, नेटवर्किङ, डिजिटाइजेशनलाई जोड दिन्छौं । हामीले २/३ वटा नयाँ प्रडक्टको तयारी गरिरहेका छौं । जसले बजारलाई भाइव्रेन्ट गर्नसक्छ ।

अहिले पनि बीमा क्षेत्रमा जनशक्तिको अभाव भएको हो ?

मेरो अपेक्षा धेरै भएर पनि हो कि अहिले हामीले चाहेजस्तो जनशक्ति पाएका छैनौं । आफ्नो विभागीय विषय राम्रोसँग बुझेको र कम्पनीले कसरी काम गर्छ भन्नेमा समग्रमा बुझेको मान्छे कम छन् । जस्तै मार्केटिङमा काम गर्ने कर्मचारीले मार्केटिङ र पब्लिक रिलेशनको बारेमा त गहिरो जानकारी राख्नै पर्यो । साथै पुनर्बीमाको बारेमा, अन्डरराईटिङको बारेमा, दावी भुक्तानीको विषयमा, एकाउन्टिङको बारेमा आधारभूत जानकारी हुनुपर्छ । एउटा विभागको बारेमा राम्रो जानकारी छ तर अरु विभागका फङ्सनबारे पटक्कै जानकारी नभएको कर्मचारीबाट कम्पनीको सन्तुलित विकास हुन सक्दैन ।

बीमा कम्पनीहरुको बीमा पोलिसीबारे अनलाईनबाट जानकारी लिने, अनलाईनबाट बीमा पोलिसी किन्ने, अनलाइनबाट भुक्तानी दिने, बीमा दावी गर्दा पनि अनलाइनबाटै गर्न सक्ने अवस्था कहिले सिर्जना होला ?

बीमा कम्पनीहरुले त्यसतर्फ गृहकार्य गरिरहेका छन् । तर केही नीतिगत व्यवस्थामा सुधार गर्नुपर्छ । जस्तै अहिले पनि बीमा पोलिसी जारी गर्दा हुलाक टिकट अनिवार्य गरिएको छ । टिकट टास्नेकाम म्यानुअली मात्र सम्भव छ । हामीले अहिले डिजिटाइजेशनको पाटोमा अनलाइन एप्लाई गर्ने, अनलाइन कम्यूनिकेशन गर्नेसम्मको काम भइरहेको छ । बीमालाई बैकिङमा जत्तिकै डिजिटाइजेशन गर्ने क्रममा बीमा कम्पनीहरुले, सफ्टवेयर निर्मार्ताहरुले, पेमेन्टगेट वेको विकास गर्ने बारे धेरै काम भईरहेको छ ।

बीमा दावी भुक्तानीको प्रक्रिया निकै लामो भएको र भुक्तानी रकम बीमा कम्पनीहरुले थोरै दिएको विषयमा बीमितहरु निकै असन्तुष्ट देखिन्छन् । यसलाई सहज र प्रभावकारी बनाउनेतर्फ तपाईको कम्पनीले कस्तो भूमिका खेल्छ ?

कस्टुमर रेस्पोन्सलाई बेटर बनाउन हामीले काम गर्न सक्छौं । तर वाह्य पक्षबाट हुने ढिलाईमा हामीले केही गर्न सक्दैनौ । जस्तो व्यवसायिक प्रयोजनमा प्रयोग हुने सवारी मर्मत गर्ने वर्कशप तथा स्पेयर्स पार्टस बेच्नेहरु भ्याट विल दिने भन्दा नदिने बढी छन् । नन भ्याटविलप्रति बीमा कम्पनीले विश्वास गर्न सक्दैनन् । यो समग्र सिस्टमको समस्या हो । बीमा दावीका फाइल पेण्डिङ हुनु बीमा कम्पनीहरुको लागि पनि टाउको दुःखाईको विषय हो । बीमा कम्पनीहरु छिटोभन्दा छिटो भुक्तानी दिन तयार छन् । तर डकुमेन्टहरु पूरा नभई बीमा कम्पनीहरुले पनि दावी भुक्तानी दिन मिल्दैन, सक्दैन ।

One comment on "पुराना कम्पनीको विजनेश घट्ला तर हामी १०० प्रतिशत वृद्धि गर्छौं – सुधुम्न उपाध्याय"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.