प्राज्ञिक क्षमतामाथि पक्षपात नगरी अगाडि बढ्छु: प्रा.डा. प्रेमनारायण अर्याल

  २०७७ असोज २२ गते १३:५३     विकासन्युज

पोखरा । पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले आफूले प्राज्ञिक क्षमतामाथि पक्षपात नगरी अगाडि बढ्ने बताएका छन् । प्रजातान्त्रिक प्राध्यापक संघ, पोखरा विश्वविद्यालयले सोमबार आयोजना गरेको स्वागत कार्यक्रमका अवसरमा अर्यालले उक्त कुरा बताएका हुन् ।

पोखरा विश्वविद्यालयमा आफूले चुनौती र सम्भावना दुवै देखेको बताउँदै चुनौती सामना गर्दै सम्भावनालाई यथार्थमा परिणत गर्न पूर्व पदाधिकारी, प्राध्यापक, कर्मचारी र विद्यार्थी सबैबाट रचनात्मक सहयोगको अपेक्षा राखेको बताए । आफ्नो जीवनको अनुभव पोखरा विश्वविद्यालयको उन्नयनमा खन्याउन आफू आतुर रहेको बताउँदै विश्वविद्यालयको दीर्घकालीन र अल्पकालीन नीति बनाएरै अगाडि बढ्ने जानकारी दिए । कुनै पनि पूर्वाग्रहबाट आफू प्रेरित नहुने र पक्षपात नगरी विशिष्टताका आधारमा न्यायसङ्गत निर्णय लिँदै जाने कुरा पनि उनले सो क्रममा उल्लेख गरे ।

पोखरा विश्वविद्यालयका अधुरा काम सम्पन्न गर्दै यसको विकास गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको र सो जिम्मेवारी पूरा गर्न आफू दृढ सङ्कल्पित भएको पनि जनाए । एक्लो व्यक्तिले केही गर्न नसक्ने हुनाले सबैको सहयोग प्राप्त गर्ने अपेक्षा आफूले लिएको पनि उनले उल्लेख गरे । अबको चार वर्ष पोखरा विश्वविद्यालयबाहेक अन्य कतै आफ्नो ध्यान नलगाउने प्रतिबद्धता व्यक्त गर्दै विश्वविद्यालयको गुणस्तर अभिवृद्धि आफ्नो एक मात्र अभीष्ट रहेको जनाए । नियुक्तिसँगै अनेक अफवाह फैलाउन केही समूह उद्धत भएको बताउँदै अर्यालले आफूलाई असफल बनाउने सपना नदेख्न साङ्केतिक रूपमा चेतावनी दिनसमेत भ्याए ।

स्वागत कार्यक्रममा बोल्दै पोखरा विश्वविद्यालयका व्यवस्थापन सङ्कायका डिन डा. हरिबहादुर खड्काले लामो समय पदाधिकारी रिक्त भएकाले विश्वविद्यालय ठूलो समस्यामा फस्दै गएकाले ती समस्या समाधान गर्न सबैले दोब्बर समय दिएर काम गर्नुपर्नेमा जोड दिए । पदाधिकारी रिक्त हुँदा थुप्रै काम बाँकी भएकाले ती काम समयमा सम्पन्न गरी विश्वविद्यालयलाई समयसापेक्ष बनाउन सबैले इमानदारीपूर्वक सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. विष्णुराज तिवारीले विश्वविद्यालयमा देखिएका समस्यालाई प्राज्ञिक हिसाबले समाधान गर्नका लागि अगाडि बढ्न नवनियुक्त उपकुलपति अर्याललाई सल्लाह दिए । विश्वविद्यालयका कार्यकारी परिषद् सह प्रा. डा. अजय थापाले विश्वविद्यालयले आफ्नै विशिष्ट कार्यक्रम लागु गर्दै विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति निर्माण गर्नतिर केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा पोखरा विश्वविद्यालय प्राध्यापक संघका प्रथम निर्वाचित सभापति ई. दीपकराज पौडेल, प्रजातन्त्रवादी कर्मचारी संघका सभापति तेजनारायण पराजुली, प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय सदस्य योगराज लामिछाने, प्रजातन्त्रवादी प्राध्यापक संघका महासचिव रविन्द्र वराल, सह प्रा. राजेश ठकुराठी, विद्यार्थी नेता गोपी तिवारी लगायतले आआफ्नो मन्तव्य राखेका थिए । कार्यक्रमका वक्ताहरूले पोखरा विश्वविद्यालयमा रहेका समस्याका बारेमा जानकारी गराउँदै ती समस्या समाधानका लागि उपकुलपतिलाई सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेकोमा जोड दिए । साथै पदाधिकारी नियुक्तिमा निकै संयमित भई सुझबुझपूर्ण ढङ्गबाट अगाडि बढ्न नवनियुक्त उपकुलपति अर्याललाई आग्रहसमेत गरे । विगतमा देखिएका कमजोरी नदोहो¥याउन सचेत गराउँदै उनीहरूले सफल कार्यकालको शुभकामनासमेत दिए ।

प्रजातन्त्रवादी प्राध्यापक संघ, पोखरा विश्वविद्यालयका सभापति ई. सञ्जीव थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव विमला भट्टले गरेकी थिइन् भने उपाध्यक्ष सन्तोष गुरुङले स्वागत मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.