बैंक वित्तीय संस्थाका कर्मचारी र परिवार गरी ३ हजारलाई कोरोना संक्रमण, कहाँ राखिन्छ संक्रमितलाई ?

  २०७७ असोज २१ गते ९:५१     विकासन्युज

काठमाडौं । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण र सन्त्रासले नेपाल पनि अछुतो छैन । नेपालमा हालसम्म १० लाख ९९ हजारमा पीसीआर प्रणालीबाट परीक्षण गर्दा ९० हजार ८ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टी भइसकेको छ ।

समुदायस्तरमै फैलिसकेको कोरोना भाइरसको कारणको नेपालका बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारी र तिनका परिवारमा पनि संक्रमण फैलिसकेको छ । अहिलेसम्म बैंकमा काम गर्ने कर्मचारी र उनीहरुका परिवार गरी ३ हजारभन्दा बढीलाई कोरोना संक्रमण पुष्टी भइसकेको छ ।

पछिल्लो समय सरकारले संक्रमितलाई खासै गाह्रो नभए घरमै आइसोलेसनमा बस्न आग्रह गरिरहेको छ । तर, काठमाडौं उपत्यका तथा अन्य शहरी क्षेत्रमा रहेका बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीमध्ये भाडामा बस्नेको संख्या धेरै भएको र उनीहरुको डेरामा आइसोलेसनमा बस्नको लागि बेग्लै कोठा नभएकोले समस्या परिरहेको संक्रमित र उनीहरुको परिवारले बताउँदै आएका छन् ।

संक्रमित कर्मचारीको लागि आइसोलेसनमा बस्ने व्यवस्था सम्बन्धित बैंक तथा वित्तीय संस्थाले नै मिलाउन नेपाल राष्ट्र बैंकले निर्देशन दिइसकेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार नै आइसोलेसन र क्वारेन्टाइनको व्यवस्था नभएका कर्मचारीको लागि बेग्लै व्यवस्था गरिएको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले जानकारी दिए ।

‘लक्षण देखिएका कर्मचारीको पीसीआर परीक्षणको शुल्क बैंकहरुले नै तिरेका छन्, आइसोलेसनमा बस्नुपर्ने कर्मचारीलाई तिमीहरुको घरमा बस्ने व्यवस्था छ कि छैन भनेर सोध्छौं, नहुनेलाई बैंकले नै शुल्क तिरेर होटलमा राख्ने व्यवस्था मिलाइएको छ,’ सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत समेत रहेका अध्यक्ष दाहालले भने ।

पीसीआर परीक्षणको लागि ल्याव र होटल खोज्नको लागि एसोसिएसनले नै पहल गरिदिएको छ । तर, एसोसिएसन आफैले होटल वा पीसीआर परीक्षणको लागि ल्यावसँग सम्झौता गरेको भने होइन ।

‘विभिन्न ल्यावले हामीसँग सम्पर्क गरेका छन्, होटलहरुसँग पनि हामीले क्वारेन्टिनमा बस्नको लागि कति खर्च लाग्छ भनेर विवरण मागेका छौं, यी दुबै विवरण सबै बैंकहरुलाई दिएका छौं, बैंकहरु आफैले ल्याव र होटलसँग सम्पर्क गरेर पीसीआर परीक्षण र क्वारेन्टिनको व्यवस्था मिलाएका छन्,’ एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले भने ।

बैंकहरुले महंगोदेखि सस्तोसम्म ५ प्रकारका होटलसँग सम्झौता गरेर आफ्ना कर्मचारीलाई क्वारेन्टिनमा राख्ने गरेका छन् । संक्रमित व्यक्तिलाई होटलहरुले पनि राख्न नमानेको कारण केही समस्या भएको बैंकहरुले बताएका छन् । होटलले राख्न नमानेका संक्रमित व्यक्तिहरुलाई भने निजी अस्पतालहरुसँग सम्पर्क गरी त्यस्ता अस्पतालमा राख्ने गरिएको छ । संक्रमण पुष्टी भएपनि लक्षण् नदेखिएका र गम्भीर समस्या नभएका व्यक्तिहरुलाई सरकारले अस्पताल भर्ना गरी उपचारमा सहयोग गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.