नबिल बैंकको अध्यक्षमा बैंकर उपेन्द्र पौड्याल नियुक्त, बैंकिङ क्षेत्रमा ३४ वर्षको अनुभव

  २०७७ असोज २० गते १८:२९     विकासन्युज

काठमाडौं । नबिल बैंकको अध्यक्षमा बैंकर उपेन्द्र पौड्याल नियुक्त भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई बैंककाे अध्यक्ष पदमा नियुक्त गरेको हो । अध्यक्षमा शम्भुप्रसाद पौड्यालको पदावधि सकिएसँगै बैंकले पौड्याललाई नयाँ अध्यक्षमा नियुक्त गरेकाे हाे ।

२०७४ मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याललाई सञ्चालक समितिले करिब ३ वर्षपछि अध्यक्ष बनाएको छ । उनी पछिल्लो समय एसिया प्यासिफिकको ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालुको नेपालस्थित क्षेत्रीय प्रतिनिधि समेत हुन् ।

विश्वव्यापी रूपमा फैलिएको यो संस्थाले दिगो बैंकिङ विकास, सुशासन र समुदायको जीवनस्तर रूपान्तरण गर्ने खालका काम गर्दै आएको छ । नेशनल बैंकिङ इन्स्टिच्यूटको निर्देशक रहेका उनी सफल बैंकरसँगै समाजसेवीका रूपमा समेत परिचित छन् ।

तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका उनी यसअघि एनएमबी बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । जहाँ उनको संलग्नता स्थापनाकालदेखि नै थियो ।

सन् १९८६ मा ग्रिनलेज बैंकबाट उनले बैंकिङ करिअर सुरु गरेका थिए । त्यहाँ १४ वर्ष जिम्मेवारी सम्हालेपछि उनी एनएमबी फाइनान्समा पुगेका थिए । एनएमबीमा उनले १७ वर्ष अनवरत सेवा गरे । १४ वर्ष ग्रिनलेज बैंक, १७ वर्ष एनएमबी र ३ वर्ष नबिल बैंकसहित उनले ३४ वर्षको बैंकिङ अनुभव बटुलेका छन् ।

होटलबाट आफ्नो व्यावसायिक करिअर सुरु गरेका पौड्यालले सोल्टी होटलमा करिब ६ वर्ष काम गरेका थिए । पौड्याल सन् २०१४ देखि २०१६ सम्म नेपाल बैंकर्स संघको अध्यक्ष थिए । दशकौंको बैंकिङ अनुभव र दक्षताले उनलाई नबिल बैंकको अध्यक्षसम्म पुर्याएको छ । बैंकले उनको नेतृत्वमा नयाँ उचाई प्राप्त गर्ने अपेक्षा राखेको छ ।

सकियाे पौड्याल र अग्रवालको पदावधि

नबिल बैंकमा सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालकको जिम्मेवारीमा रहेका दुई जनाको ४ वर्षे कार्यकाल यही असोज १७ गते सकिएको छ । शम्भु प्रसाद पौड्याल र दयाराम गोपाल अग्रवालको पदावधि सकिएको हो ।

२०७२ बैंशाख २० गते बैंकको अध्यक्षको जिम्मेवारीमा आएका पौड्यालको पदावधि असोज १७ गते सकिएको छ । नेपाल राष्ट्र बैंकबाट आफ्नो बैंकिङ करिअर सुरु गरेका पौड्याल सर्वसाधारण शेयरधनीका तर्फबाट २०४२ माघ २७ गते सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका थिए । यसैगरी, अग्रवाल करिब २६ वर्षभन्दा बढी बैंकको सञ्चालक रहे । उनी पहिलो पटक २०५१ भदौ १५ गते सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक नियुक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.