निकालिएन कर्मचारी, राखिएन बेतलबी बिदा, ६ महिना यसरी थेगियो ११ सय कर्मचारी

  २०७७ असोज १९ गते १६:०७     सन्ताेष राेकाया

काठमाडौं । ‘यात्रु महानुभावहरु कोरोना भाइरसको महामारीबाट सुरक्षित रहनका लागि हवाई यात्रामा पालना गर्नुपर्ने सुरक्षा निर्देशन ध्यानदिनु होला । कृपया आफ्नो सिटबेल्ट बाँधिदिनु होला । यात्रा अवधिभर मास्क र फेससिट लगाउनुहोला । उडानका बेला हिँडडुल नगर्नु होला । अति आवश्यक भएमात्र शौचालयको प्रयोग गरिदिनुहुन र पानीको वितरण पनि अति आवश्यक परेको खण्डमा मात्र उपयोग गरिदिनु होला । साथै उडान अवधिभर श्वासप्रश्वास सम्बन्धी केही समस्या भएमा, रिङ्गटा लागेमा विमानका कर्मचारीलाई जानकारी गराउनुहोला र विमानबाट ओर्लँदा चार–चार जना मात्र ओर्लनुहोला ।’

आजभोलि हरेक जहाज उड्नु र अवतरण हुन अघि यही आवाज गुञ्जिन्छ । यही आवाज सुनेर यात्रुहरुले आफुलाई सचेत पार्छन् । यात्रुले आफूलाई कोरोना भाइरस सम्बन्धी कुनै लक्षण देखिए जहाजमा रहेकी विमान परिचालिकालाई खवर गर्छन् । परिचालिकाले अवस्था बुझेर उचित निर्णय लिन्छन् ।

बुद्ध एयरले पनि आजभोलि यसैगरी यात्रुहरुलाई सहज किसिमको सेवा दिइरहेको छ । हवाई यात्रा सम्बन्धी निर्देशिका र आफूले तयार पारेको स्वास्थ्य मापदण्ड पालना गरी कम्पनीले यात्रुहरुलाई हवाई सेवा दिइरहेको छ ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले हरेक क्षेत्रमा ठूलो असर गरेको छ । यो भाइरसले हवाई क्षेत्रमा त झनै ठूलो नोक्सानी गरेको छ । तर यी धेरै जोखिम र चुनौती हुँदाहुँदै पनि कुशल व्यवस्थापनले भने समस्याको समाधान उन्मुख अवश्य गर्छ नै । त्यो उदाहरण बनेको छ मुलुकको अग्रणी वायु सेवा कम्पनी बुद्ध एयर ।

कोरोना भाइरसको कारण विश्वको हवाई सेवा क्षेत्र ठूलो घाटामा गएको र अझै धेरै नोक्सान हुने सक्ने प्रक्षेपण विभिन्न अध्ययनहरुले देखाउको छ । लाखौं मानिसको रोजगारी गुम्ने, ९० हजारभन्दा बढी पाइलटको रोजगारी गुम्न सक्ने अनुमान विभिन्न तथ्यांकहरुले देखाएका छन् भने नेपालमै पनि ६ अर्ब भन्दा बढी नोक्सान भएको तथ्यांक सार्वजनिक भइसकेको छ ।

कोरोना भाइरसकै कारण नेपालमा पनि चैत ११ गतेदेखि देशव्यापी लकडाउन भयो । सो लकडाउन साउन पहिलो हप्तामा सकियो । सो ५ महिनाको अवधिमा मात्र होइन लकडाउन पछि भएको निषेधाज्ञासम्म पनि हवाई जहाजहरु पार्किङ स्थलमै थन्कि । अन्तर्राष्ट्रिय चार्टर उडान बाहेक त्यो समयम जहाजहरुले उड्न पाएनन् ।

६ महिनाको त्यो संकटग्रस्त अवस्थामा ग्राउण्डेड अवस्थामा रहेका हवाई कम्पनीहररु कसरी समान्य अवस्था तर्फ फर्किदैँछन् ? ६ महिनासम्म ती हवाई कम्पनीमा काम गर्ने हजारौं कर्मचारीहरुले कसरी जिविकोपार्जन गरे ? त्यो अवस्था बुझ्न बुद्ध् एयरलाई सम्झिनै पर्छ ।

देशका हवाई कम्पनीहरुलाई अर्बौको क्षति हुँदा, धेरै हवाई कम्पनीहरुले आफू बाँच्नकै लागि कर्मचारी कटौतीको अभ्यास गरिरहँदा दशकै अग्रणी बुद्ध एयरले भने कर्मचारी कटौति गरेन । सुन्दा नौलो र आश्चयजनक पनि छ । किनकि कोरोना महामारीको कारण देखाउँदै कर्मचारी कटौती नगर्ने निजी कम्पनीहरु सायदै होलान् । अर्थात हवाई कम्पनी मात्र होइन अधिकांश निजी संघ संस्था तथा कम्पनीहरुले कोरोनाको महामारी देखाउँदै कर्मचारी कटौती गरेका छन् ।

तर, देशभर ११ सयभन्दा बढी कर्मचारी रहेको बुद्ध एयरले महामारीका बेलामा एक जना कर्मचारीलाई पनि बिदाई गरेन ।  कम्पनीका मार्केटिङ, सेल्स एण्ड ग्राउण्ड हेण्डलिङ हेड रुपेश जोशी भन्छन्, ‘कम्पनीको आधार स्तम्भ नै काम गर्ने कर्मचारी हुन्, हामीले हाम्रा स्टाफहरुलाई सधैँ उत्प्रेरित गर्यौं, नेपालको ठूलो हवाई कम्पनी बनाउन भूमिका खेल्ने तिनै कर्मचारी हुन्, नाफा–नोक्सान अवश्य नै हुन्छ, तर समस्या पर्यो भन्ने बित्तीकै कर्मचारी कटौती नै गर्ने निर्णय हामीले गर्न चाहेनौं ।’

कर्मचारी कटौतीभन्दा सबैलाई लेभल हेरेर तलब कटौती गरेको उनले बताए । ‘हामीले लेभल हेरेर २० देखि ५० प्रतिशतसम्म तलब कतौती गर्यौं, तर कर्मचारलाई नै बिदाई गर्ने काम गरेनौं, यसले कर्मचारीहरु डिमिोटिभ हुन्छन्, यो संकटको समयमा कम्पनी पनि बाँच्ने र कर्मचारी पनि बाँच्ने किसिमले हामीले काम गर्यौंं,’ उनले भने ।

६ महिनाको अवधिमा व्यवसाय शुन्य रहेको बताउँदै उनले अहिले शुन्य नै रहे पनि भोलि व्यवसाय गर्ने दिन अवश्य नै आउँछ नि भन्ने किसिमले कर्मचारीहरुलाई पनि त्यही किसिमले मोटिभेट गरेर काम गरेको उनले बताए ।

‘११ सय कर्मचारीको चुल्हो निभ्न नदिनु हाम्रो नैतिक दायित्व पनि हो, यो बीचमा बरु हामीले शुन्य आम्दानी भएपनि कर्मचारीको क्षमता विकासमा काम गर्यौं,’ उनले भने ।

जोशीले लकडाउन र निषेधाज्ञाको समयमा जहाज ग्राउण्डेड नै भएपनि जहाजको नियमित मर्मतसम्भार गर्ने र जहाजलाई समय–समयमा स्टार्ट तथा उडान गर्ने काम गरेको बताए ।

‘हामी लकडाउन छ भनेर चुप लागेर बसेनौं, यो समयमा पनि १ सयभन्दा बढी पाइलटलाई तालिम दिया्ैं, इन्जिनियरहरूलाई व्यवस्थित गर्ने काम गर्यौं,’ परिचालिकाहरलाई जहाजमा कसरी सर्भिस दिने भन्ने तालिम दियौं, कर्मचारीको कोरोना बीमा गरिने काम भयो,’ उनले भने ।

लकडाउन र निषेधाज्ञाको समयमा जहाज नउडे पनि मासिक ५/७ करोड रूपैयाँ खर्च गरेको कम्पनीको भनाई छ । सरकारले हवाई सेवा सञ्चालन सम्बन्धी निर्णय गर्नुभन्दा अगाडि महामारीबाट जोगिएर कसरी सुरक्षित उडान गर्न सकिन्छ भनेर कम्पनीले अभ्यास (डेमोस्ट्रेशन) पनि गरेको उनले बताए ।

हाम्रो नारा नै ‘संक्रमित रहित उडानको सहयात्री’ भन्ने रहेको बताउँदै उनले बन्दाबन्दी सुरु हुनेबित्तिकै सुरक्षित उडानका लागि निर्देशिका तयार गर्नेदेखिसम्पूर्ण कर्मचारीहरूलाई तालिम र पूर्वअभ्यास पनि पनि गराएको जोशीले सुनाए ।

कम्पनीको २३ वर्षसम्मको यात्राका क्रममा देखाएको इमान्दारिता र पारदर्र्शीलाई मध्येनजर गर्दै चुनौती र समस्यासँग जुधेरै यहाँसम्म पुगेको उनको भनाई छ । उनले बुद्ध एयरले लकडाउनको समयमा ५ वटा दिल्ली र ५ वटा बंगलादेश चार्टर उडान गरेको जानकारी दिए । असोज ५ गतेदेखि आन्तरिक उडान शुरु भएसँगै २३ वटा उडान गरेको उनको भनाई छ ।

अब आन्तरिक हवाई सेवा शुरु भएसँगै सबै कर्मचारीहरु काममा फर्केको र अवस्था पनि विस्तारै सामान्य हुँदै जाने उनले बताए ।

कसरी दिइरहेको छ सेवा ?

आन्तरिक व्यवस्थापन मात्र होइन यात्रुहरुलाई सेवा दिन पनि बुद्ध एयर उत्कृष्ट देखिएको छ । अहिले हवाई सेवामा यात्रु विमानस्थलमा प्रवेशदेखि गन्तव्यको विमानस्थलमा ओर्लदासम्म विशेष स्वास्थ्य सुरक्षा अपनाई बुद्धले सेवा दिइरहेकाको छ ।

यात्रुले शुरुमा टर्मिनल भवन छिर्नासाथ दुरी कायम गर्न बनाइएको घेराभित्र उभिएर लाइनबसी ज्वरो नाप्छन् । त्यसपछि सुरक्षा पासको प्रक्रिया सकिन्छ । भित्र टिकट काउन्टरमा पनि सामाजिक दुरीका साथ बोडरिङ पास दिइन्छ ।

त्यहाँ काउन्टरका कर्मचारीले यात्रुलाई फारम भराउँछन् र मुहारसहितको परिचयपत्र मोबाइलबाट खिच्छन् अनी त्यसलाई कम्प्युटराइज गर्छन् । पाससँगै अर्को फाराम दिइन्छ । उक्त फाराम यात्रुले भरेर जहाज चडेर ओर्लने बेला एयरहोस्टेजलाई दिनुपर्छ । पास लिएर अन्तिम सुरक्षा चाँचपछि यात्रु प्रतिक्षालय हुँदै सम्बन्धित गन्तव्यको उडानका लागि ¥याम्प बसभित्र छिर्छन् ।

जहाज चढ्नेबेला भ¥याङमै एक परिचारिकाले फेससिट वितरण गर्छिन । त्यसपछि यात्रुले आफ्नो सिटअनुसार जहाजमा बस्छन् र कोभिडसम्बन्धी स्वास्थ्य निर्देशिका अनाउन्स हुन्छ, सिटबेल्ट बाँधेर जहाज गन्तव्यतिर उड्छ ।

यात्रुले विमानस्थलमा करिब एक घण्टाभित्र जहाज चढ्नेसम्मका सबै प्रक्रिया पूरा गरिसक्छन् । अहिले बुद्ध एयरसँग अहिले साना ठुला १३ वटा जहाज छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.