सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा शुरु गर्ने पहल

  २०७७ असोज १७ गते १६:४९     सिद्धराज भट्ट

सुदूरपश्चिम । दशकाैँपछि धनगढी विमानस्थललाई आधार बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाईसेवा सञ्चालनको प्रयास थालिएको छ । प्रदेशको धनगढी विमानस्थलबाट बैतडी, बझाङ र डोटीमा हवाई सेवा सञ्चालनका लागि आज संस्कृत, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले तयारी उडानको शुभारम्भ गरे । मन्त्री भट्टराईले सुदूरपश्चिमका पर्यटकीयस्थल खप्तड, मानसरोवरलगायतका क्षेत्रमा पर्यटक भित्र्याउनका लागि भए पनि यहाँका तीन जिल्लामा रहेका विमानस्थलमा नियमितरूपमा जहाज सञ्चालन गरिने बताए ।

प्रदेशका पहाडी जिल्लाको विमानस्थलमा प्राविधिक दृष्टिले उडान सम्भव भए/नभएकोबारे अध्ययन गर्नका लागि मन्त्रालयको एक टोलीसमेत आएको थियो । निजी क्षेत्रको विमान कम्पनी समिट एयरले धनगढीबाट यी तीन जिल्लामा उडान सञ्चालन गर्न लागेको बताइएको छ । केही हप्तादेखि उक्त विमानले नेपालगञ्ज–बाजुरा–धनगढी र धनगढी–बाजुरा–नेपालगञ्जसम्म चार्टर्ड उडान गरिरहेको छ । बैतडी, बझाङ, डोटी जिल्लामा रहेका विमानस्थलको स्तरोन्नतिको काम पूरा भएसँगै हवाई सेवा शुरु गर्ने पहल भएको हो ।

विमानस्थल उद्घाटन गरिएसँगै यहाँका पहाडी जिल्लामा निमियतरूपमा जहाज चल्नेमा यहाँका स्थानीयवासी निकै खुशी भएका छन् । प्रदेशका पहाडी जिल्लामा गम्भीर बिरामी हुने व्यक्तिलाई तत्काल उपचारका लागि चर्को भाडामा हेलिकप्टर अथवा जहाज चार्टर्ड गरेर सुविधा भएका अस्पतालसम्म पु¥याउनुपर्ने बाध्यताको अब अन्त्य हुने उनीहरुके विश्वास छ । समयमै उपचार नपाई कतिपयको मृत्युसमेत हुने गरेको अवस्थामा धनगढी विमानस्थलबाट पहाडी जिल्लाका विमानस्थलमा शुरु भएको हवाई सेवाले ठूलो राहत हुने भन्दै स्थानीयवासी खुशी देखिएका हुन् ।

बैतडीको पाटन बहुमुखी क्याम्पसका प्रमुख उत्तम भण्डारीले हवाई सेवा शुरु गर्ने पहल हुँदा जनता उत्साहित देखिएको बताउँछन् । “हवाई सेवा शुरु भएमा आकस्मिक काम पर्दा समयमै गन्तव्यमा पुग्न नसकिने समस्याबाट जनता मुक्त हुनेछन्, भण्डारीले भने, “यसबाट व्यापार, व्यवसाय र पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने देखिन्छ ।” नेपालगञ्ज विमानस्थलबाट सुदूरपश्चिमको बाजुरा र अछामको कमलबजार विमानस्थलसम्म भने हवाई सेवा सञ्चालन छ ।

प्रदेशको महेन्द्रनगर, टीकापुर र दार्चुलाको गोकुलेश्वरमा रहेका विमानस्थल बन्द अवस्थामा छन् । हाल सुदूरपश्चिमको धनगढी विमानस्थलमा मात्रै काठमाडौँ–धनगढी–काठमाडौँ नियमित हवाई सेवा सञ्चालनमा छ । कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि गएको चैतदेखि बन्द गरिएको धनगढी विमानस्थलबाट यही असोज पहिलो हप्ताबाट काठमाडौँ–धनगढी–काठमाडौँसम्म हवाई सेवा पुनः सञ्चालन गरिएको थियो ।

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर निजी क्षेत्रको बुद्ध एयर र श्री एयरलायन्सले दैनिक काठमाडौँ–धनगढी–काठमाडौँसम्मको हवाई सेवा सञ्चालन गरिरहेका छन् । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको धनगढीस्थित कार्यालय भने बन्द गरिएको छ । निगमसँग धनगढी रुटमा चल्ने जहाजको अभाव भएकाले काउण्टर बन्द गर्नुपरेको जनाइएको छ ।

देशभरका नाफा कमाउने १० वटा विमानस्थलमध्ये धनगढी विमानस्थल पनि हो । कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि विमानस्थलमा हवाई सेवा बन्द हुँदा परेको प्रभावको असर विमानस्थलको आम्दानीमा पनि परेको छ । धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले भने, “महिनामा २५ लाखदेखि ३० लाखको आम्दानी हुने गरेकामा हवाई सेवा बन्दा हुँदा यो आम्दानी गुमाउनुपरेको छ ।”

धनगढी विमानस्थलको स्तरोन्नतिको कार्य केही वर्षदेखि भइरहेको छ । यस क्रममा विमानस्थलको एक हजार ८०० मिटर लामो र ३० मिटर चौडा धावनमार्गको कालोपत्रको स्तरोन्नति भइसकेको छ । यो विमानस्थलमा जहाज पार्किङ गर्ने एप्रोनको स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । फायर विल्डिङ (दमकल राख्ने घर) र ओभरहेड ट्याङ्की निर्माणाधीन छ ।

विमानस्थलमा रात्रिकालीन उडान र अवतरण गर्ने व्यवस्थाका लागि भिओआर÷डिएमइ (जहाजलाई बाटो देखाउने उपकरण) जडान कार्य पूरा भइसकेको छ । यसको परीक्षण हुन भने बाँकी छ । लामो धावनमार्गको दृष्टिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि धनगढी विमानस्थल दोस्रो हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.