टोयोटा कोरोला क्रसको बिक्री शुरु, यस्ता छन् मूल्य र विशेषता

  २०७७ असोज १६ गते १५:१२     विकासन्युज

काठमाडौं । नेपालको लागि टोयोटा गाडीहरुको एकमात्र आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रा.लि.ले नेपालमा टोयोटा कोरोला क्रस एसयुभिको बिक्री वितरण प्रारम्भ गरेको छ । वर्तमान अवस्थालाई मध्यनजर राखेर कम्पनीले सो बिक्री शुभारम्भ समारोह पहिलो पटक भर्चुअल प्रविधिको सहायताले सम्पन्न गरेको हो ।

टोयोटा कारहरु नेपालमा अत्यन्त रुचाइएको जापनीज कार हुन् । विश्व प्रसिद्ध यस टोयोटा कारको नयाँ संस्करण क्रस एसयुभि थाइलैण्डमा निर्माण गरिएको हो । यो ४ सिलिण्डरको कार टिजिएनए प्लेटफर्ममा तयार भएको हुँदा यसले अत्याधुनिक डिजाइन, स्थिरता र पूर्ण कार्य क्षमतालाई समर्थन गर्दछ । यो सिभिटि ट्रान्समिसन कार हो । यस किसिमको नयाँ ट्रान्समिसन कार भएको कारण यो क्रस एसयुभि गति छिटो लिने, न्यून उत्सर्जन पैदा गर्ने खालको छ भनें यो हलुका सवारी साधन पनि बनेको छ ।

कारको बाह्य बनौटमा रहेको फ्रन्ट ग्रीलले राम्रो लुक दिन्छ र यो कार कच्ची सडकहरुको लागि समेत चलाउन उपयुक्त छ । यस्तै गरी कारको सम्पूर्ण बडीमा रहेको एसेन्ट लाइनहरुले गाडीलाई आकर्षित स्वरुप दिएको छ । कोरोला क्रसमा सबैभन्दा लामो व्हीलबेस छ, जसले कारलाई खास गरेर सडकमा उच्च गतिमा दौडिरहेको समयमा अधिक स्थिरता तथा आरामदायी सवारी प्रदान गर्दछ ।

टोयोटा कोरोला क्रस एसयुभि भित्री रुपमा पनि सुविधाजनक एवं आरामदायीक छ । यसको भित्र फराकिलो स्थान छ भनें खुट्टा राख्नको लागि सुविधादायक स्थान छ । यस्तै यस कारमा रहेको मूनरुफ को सहायताले भित्र थप उज्यालो प्राप्त गर्न मद्दत पुग्नेछ ।

यो कारमा न्यून ५.२ मि.को मोडाउन मिल्ने व्यास छ, जुन यस श्रेणीको कारहरुमा उत्कृष्ट श्रेणीको हो । कार हाँक्ने चालकलाई अधिकतम सुविस्ता प्रदान गर्नको लागि कोरोला क्रस एसयुभि नवीन टर्सन बीम सस्पेन्सनका साथ निर्माण भएको छ । यसैगरी डाइनामिक क्रुज नियन्त्रण, स्वःचालित उच्च बीम लाईट, ब्याक मनिटर, एबीएसका साथ ईबीडी, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, इमर्जेन्सी स्पट सिग्नल आदि पनि यस कारका विशेषताहरु हुन् ।

हाल नेपालमा कोरोला क्रस एसयुभि २ किसिमको उपलब्ध छ । जस अनुसार इन्ट्रि मोडलको बजार मूल्य १ करोड १२ लाख रुपैयाँ र हाइ मोडलको १ करोड ३३ लाख रुपैयाँ कायम गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.