सासु कोषका भुक्तानी अब अनलाईनबाटै

  २०७७ असोज १५ गते ११:४०     विकासन्युज

काठमाडौं । सामाजिक सुरक्षा कोषका भुक्तानीहरु अब अनलाईनबाटै सिधै लाभग्राहीको बैंक खातामा जम्मा हुने भएको छ । कोषले राष्ट्रिय वाणिज्य बैंक मार्फत एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेसको प्रयोग गरी आफ्ना विभिन्न योजना तथा कार्यक्रम सम्बन्धी भुक्तानीहरु अनलाईनबाटै गर्ने भएको हो ।

हाल कोषले उपदान सम्बन्धी भुक्तानीका साथै आश्रित परिवार, दुर्घटना र अशक्तता सुरक्षा योजना, औषधिउपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना लगायतका आफ्ना भुक्तानीहरु एनपीआईमा जोडिएका कनेक्ट आईपीएस ई पेमेन्ट प्रणाली मार्फत् रियल टाइम र एनसीएचएल आईपीएस मार्फत नन-रियल टाइममा जम्मा हुने व्यवस्था गरेको छ ।

कोषले लाभग्राहीको दाबी अनुरोध संगै बुझाइएको बैंक खाताका विवरण अनुरुप अनलाईन भुक्तानी प्रदान गर्नेछ । पहिले चेक मार्फत गर्ने गरिएका यी भुक्तानीहरु अब पूर्ण स्वचालित रुपमा अनलाईनबाटै हुनेछ ।

रोजगारदाताले कोषको अनलाईन एसओएसवाईएस प्रणालीमा आफूलाई रजिष्टर गराई आफ्ना श्रमिकहरुका हकमा गर्ने योगदानमा आधारित रकमको संकलन गत वर्षदेखि नै कनेक्ट आईपीएस ई पेमेन्ट तथा यसका सदस्य बैंक वित्तिय संस्थाका शाखाहरु मार्फत् आफ्नो नेपाल बैंकमा रहेको खातामा गर्दै आएको छ । जस अन्तर्गत हालसम्म दश हजार भन्दा बढी कारोबार मार्फत १ अर्ब ७ करोड रुपैयाँ बराबरको रकम संकलन भइसकेको छ ।

सामाजिक सुरक्षा कोषले सुरुवात देखि नै डिजिटल भुक्तानी प्रकृयाहरुलाई आत्मसाथ गर्दै आएको छ । कोषको यस विभिन्न भुक्तानीहरु आलाईनबाटै सोझै लाभाग्राहीको बैंक खातामा जम्मा गर्ने प्रकृयाको थालनीले कोषको डिजिटलाईजेसन प्रकृयालाई थप टेवा पुर्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.