युएईका लगानीकर्ता जलविद्युत्, पर्यटन तथा कृषि उद्योगमा लगानी गर्न इच्छुक

  २०७७ असोज १४ गते २१:२४     विकासन्युज

काठमाडौं । युएईका लगानीकर्ता नेपालमा जलविद्युत्, पर्यटन तथा कृषिमा आधरित उद्योग लगायत क्षेत्रमा लगानी गर्न इच्छुक रहेका युएईका राजदूत साइद अम्दन अल नाक्बीले बताएका छन् । बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले गरेका भेटमा युएईका राजदूत साइद अम्दन अल नाक्बीले सो कुरा बताएका हुन् ।

भेटमा उनले युएईमा रहेका नेपाली कामदारले हालका दिनमा सुरक्षा, निर्माण तथा सेवा क्षेत्रमा योगदान गरिरहेको पनि जनाएको रक्षा मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ज्ञवालीले जानकारी दिएका छन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ फराकिलो र गहिरो बन्दै जाने विश्वास व्यक्त गरेका छन् । भेटमा उनले युएईमा धेरै नेपाली कामदार रहेको जनाउँदै कोरोना महामारीमा नेपाली श्रमिकप्रति युएईले देखाएको सद्भावनाको प्रशंसा गरे ।

उनले गत वर्षको आफ्नो युएई भ्रमणको स्मरण गर्दै दुई देशबीचका सम्बन्धका क्षेत्र कृषिमा आधारित उद्योग, पर्यटन, जलविद्युत्लगायत क्षेत्रमा नेपाली लगानीकर्तासँगको संयुक्त लगानीमा सक्रिय भूमिका निर्वाह गर्दै रहन आग्रह गरे ।

राजदूत नाक्बीले युएई र नेपालबीचको हवाई उडान छिट्टै नियमित हुने जनाउँदै महामारीको सामना गर्न दुवै देशबीच आपसी सहयोगको आवश्यकता रहेको राय प्रकट गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.