८ लाख बढीले भरे जनरल इन्स्योरेन्सको आईपीओ

  २०७७ असोज १४ गते १८:०८     विकासन्युज

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले निष्काशन गरेको आईपीओले रेकर्ड ब्रेक गरेको छ । कम्पनीको आईपीओमा ८ लाख १३ हजार ५ सय जनाले आवेदन दिएका छन् । जुन आईपीओमा यति धेरै लगानीकर्ताको आवेदन परेको यो नै पहिलो पटक हो ।

बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आज आवेदन दिने अन्तिम दिन साँझ ५ बजेसम्ममा ८ लाख १३ हजार ५ सय जनाले २ करोड २४ लाख ७६ हजार ९ सय ५० कित्ता सेयरको लागि आवेदन दिएका छन् । जुन कम्पनीले माग गरेको भन्दा ८.२३ गुणा बढी हो ।

कम्पनीले आइतबार (असोज ११ गते) बाट ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ बिक्रीमा राखेको थियाे । कूल ३० लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको २७ लाख ३० हजार कित्ता सेयर कम्पनीले सर्वसाधारणमा बिक्री गरेकाे हाे ।

यसमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेकाे थियाे । उक्त सेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट केयर एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको बुझाउँछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.