बैंकको व्याज घट्दा बीमा कम्पनीको नाफामा झट्का, ३ महिनामै गुम्यो सवा २ अर्ब आम्दानी

  २०७७ असोज १४ गते ११:०४     नबिन पाेखरेल

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण सन्त्रासको कारण सरकारले गरेको लकडाउनले बैंक तथा वित्तीय संस्थाको व्याज घट्दा बीमा कम्पनीहरुले छोटो अवधिमै सवा २ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गुमाएका छन् ।

बीमा कम्पनीहरुले पछिल्लो ३ महिनामा नै बैंक तथा वित्तीय संस्थामा राखेको मुद्दति निक्षेपबाट प्राप्त हुने २ अर्ब ३० करोड रुपैयाँभन्दा बढी आम्दानी गुमाएका हुन् ।

गत फागुन महिनासम्ममा बैक तथा वित्तीय संस्थाहरुले मुद्दति निक्षेपमा साढे ९ प्रतिशतको हाराहारीमा व्याज दिदै आएका थिए । तर, यस्तो व्याजदर असार मसान्तसम्म आइपुग्दा साढे ६ प्रतिशतको हाराहारीमा झरेको छ ।

गत असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा जीवन बीमा कम्पनीहरुको २ खर्ब ५७ अर्ब ३५ करोड तथा निर्जीवन बीमा कम्पनीहरुको ४९ अर्ब ४ करोड रुपैयाँ निक्षेप छ । यो निक्षेपको अवधि पूरा गरेर पुनः बैंक तथा वित्तीय संस्थामा राख्नु परेमा वा नयाँ आएको बीमा शुल्क बैंकमा राख्नु परेमा बीमा कम्पनीहरुको आम्दानी कम हुने देखिएको छ ।

कुल ३ खर्ब ६ अर्ब ३९ करोड रुपैयाँको ९ प्रतिशतका दरले बीमा कम्पनीहरुले ३ महिनामा ६ अर्ब ८९ करोड रुपैयाँ व्याज पाउँथे । अहिले घटेर ६ प्रतिशत मात्रै व्याज हुँदा सो रकमको ३ महिनामा ४ अर्ब ५९ करोड रुपैयाँ हुन्छ । ९ प्रतिशतको व्याज घटेर ६ प्रतिशतमा झर्दा बीमा कम्पनीहरुले ३ महिनामा नै २ अर्ब ३० करोड रुपैयाँ व्याज आम्दानी गुमाएको देखिएको हो ।

जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डे बैंकको व्याज घटेका कारणले मात्रै पनि बीमा कम्पनीहरुको आम्दानीमा निकै असर पर्ने बताउँछन् ।

‘बीमा कम्पनीहरुले ३ खर्ब रुपैयाँको हाराहारीमा बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा रकम राखेका छन्, यस्तो रकम धेरै लामो अवधिको लागि लागि मुद्दतिमा राखिएको हुँदैन, सामान्यतः १ वा २ वर्षको हुन्छ, फागुनयता नै व्याजदर साढे ३ प्रतिशतले घटिसक्यो, मुद्दति निक्षेपको अवधी पूरा भएर पुन बैंकमा राख्नुपर्ने अवस्था रहेछ भने बीमा कम्पनीहरुले साढे ३ प्रतिशत व्याज आम्दानी गुमाएको सिधै देखियो,’ सूर्या लाइफ इन्स्यारेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत समेत रहेका अध्यक्ष पाण्डेले भने ।

उनले यसको असर आगामी वर्ष अझ बढी देखिने बताए । बैंकहरुले व्याजदर घटाए पनि पहिला राखिएको रकमको व्याज नघटेका कारण तत्काल समस्या नदेखिन पनि सक्ने उनको भनाइ छ । तर, मुद्दति निक्षेपको अवधि पूरा भएर पुनः रकम राख्नु पर्ने वा नयाँ बीमा शुल्क आएको रकम राख्नुपर्ने अवस्थामा भने आम्दानीमा गम्भीर असर देखिने उनको भनाइ छ । जीवन बीमा कम्पनीहरुले बीमा शुल्कबाट प्राप्त भएको अधिकांश रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा राख्ने गरेका छन् ।

सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री पनि बैंकको व्याज घटेका कारण बीमा कम्पनीहरुको आम्दानी प्रभावित हुने बताउँछन् ।

‘बीमा कम्पनीहरुको प्रमुख आम्दानी भनेको व्याजबाट प्राप्त हुने रकम नै हो, केही वर्ष अघि १२ प्रतिशत व्याजदर ९ प्रतिशत हुँदै अहिले साढे ६ प्रतिशतमा झरेको छ, यसले बीमा कम्पनीहरुको आम्दानीमा प्रत्यक्ष असर पारेको छ, अब एक वर्षपछि यसको असर गम्भीर रुपमा देखापर्छ,’ बिमक संघका महासचिव समेत रहेका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.