हिमाल दोलखा हाइड्रोपावर १७ कराेड नाेक्सानमा, सेयर मूल्य र काराेबारमा भने उछाल

  २०७७ असोज १४ गते १८:३३     विकासन्युज

काठमाडौं । वित्तीय विवरण गुपचुप राखेकाे हिमाल दोलखा हाइड्रोपावर कम्पनीकाे सेयर मूल्य र काराेबारमा उछाल आएकाे छ । कम्पनीकाे वेवसाइट वित्तीय विवरण राखिएकाे छैन ।  नेपाल स्टक एक्स्चेन्ज वा नेपाल धिताेपत्र बाेर्ड लगायत पुँजीबजारका सञ्चालक र नियामक कसैलाई पनि कम्पनीकाे वित्तीय विवरण जानकारी छैन ।

तर पछिल्ला दिनमा यस कम्पनीकाे सेयर मूल्य र काराेबार दुबैमा उछाल आएकाे छ । बुधबार नेप्से परिसूचक ३.१९ अंकले घट्याे तर हिमाल दाेलखाकाे मूल्य ९.२४ प्रतिशतले बढेर उच्च मूल्य वृद्धि हुनेकाे सूचिमा टप टेनमा चड्याे ।

विगत ११ महिनामा प्रतिकित्ता ८२ देखि ९२ रूपैयाँसम्मका किनबेच हुँदै आएकाे यस कम्पनीकाे सेयर बुधबार १३० रूपैयाँमा किनबेच भइ काराेबार बन्द भएकाे छ ।

पछिल्लो समय दोश्रो बजारमा यस कम्पनीको कराेडाैं मूल्य बराबरको सेयर कारोबार भइरहेको छ । बुधबार ८ कराेड २९ लाख ७५ हजारकाे काराेबार भएकाे छ । मंगलबार १० कराेड ६२ रूपैयाँकाे काराेबार भएकाे थियाे भने आइतबार १४ कराेड २७ लाखकाे सेयर किनबेच भएकाे थियाे ।

बेच्नेकाे चाप उच्च
मुल्य वृद्धिसँगै यस कम्पनीकाे सेयर बेच्नेकाे चाप बढेकाे छ । बुधबार मध्यान्नमा कम्पनीको ८५ हजार ८ सय ६० कित्ता सेयर बिक्रीमा रहेको थियाे भने १५ हजार ५० कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक रहेका थिए ।  बुधबार सेयर बजार खुलेकाे करिब ३० मिनेटकाे अवधिमा कम्पनीको एक करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकाे थियाे भने सबैभन्दा बढी सेयर कारोबार हुनेको अग्रस्थानमा देखिएकाे थियाे ।

कम्पनीले इलाम स्थित माइखोलामा ४.५ मेगावाटको माई खोला स्मल हाइड्रोपावर प्रोजेक्ट र ८ मेगावाटको माई खोला स्मल क्यासकेड हाइड्रोपावर प्रोजेक्ट गरी दुईओटा विद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

कम्पनीले २०७६ साल असारमा सर्वसाधारणमा प्राथमिक सेयर(आईपीओ) निष्काशन गरेको थियो । आईपीओ निष्काशन गर्दा कम्पनीले २०७६/७७ को अन्त्यमा प्रतिसेयर आम्दानी ७.५८ रुपैयाँ र नेटवर्थ १०५.३ रूपैयाँ प्रक्षेपण गरेको थियो । र, नाफा ८ करोड ८३ लाख रुपैयाँ  पुग्ने कम्पनीको प्रक्षेपण रहेको थियो ।

तर कम्पनीका वित्त प्रमुख अनन्त कार्कीका अनुसार २०७६/७७ काे अन्त्यमा कम्पनी करिब १७ कराेड रूपैयाँ संचित नाेक्सानमा छ । ‘गत वर्ष करिब २० कराेड भन्दा बढी नाेक्सानमा थियाे । यसपाली संचित नाेक्सान ३ कराेड रूपैयाँले घटाउन सफल भएका छाैं’ उनले विकासन्युजसँग भने ।

कम्पनीकाे सेयर पुँजी १ अर्ब ६० करोड रहेकाे कम्पनीले वार्षिक ३ कराेड नाफा गर्नु भनेकाे सेयरधनीलाई १.८७ प्रतिशत लाभांश दिन पुग्छ । तर संचित नाेक्सान पूर्ति नभएसम्म सेयरधनीले केही पनि पाउँदैनन् । गत साताकाे अनुपातमा कम्पनीले नाफा गर्ने हाे भने संचित नाेक्सान पूर्ति गर्न अबकाे ६ वर्ष लाग्छ । बैंककाे ऋण १ अर्ब १५ करोड रुपैयाँ रहेकाे छ ।

वित्तीय रूपमा यति धेरै कमजाेर कम्पनीकाे सेयर मूल्य र काराेबारमा किन उछाल आएकाे छ ? नेपाल धिताेपत्र बाेर्डले यसबारे जानकारी मागेकाे प्रबक्ता निरज गिरीले जानकारी दिए ।

यस विषयमा सम्पर्क गर्न खाेज्दा कम्पनीकाे अध्यक्ष कल्याण न्याैपानेसँग सम्पर्क हुन सकेन । कम्पनीका एक कर्मचारीले दिएकाे उनकाे माेवाइल नम्बर ९८१०२६६०८१ मा पटक पटक फाेन गर्दा उनले उठाएनन् ।

कम्पनीले विगत २ वर्षदेखि साधारणसभा पनि गरेकाे छैन । सर्वसाधारणमा सेयर बेचेर कराेडाैं रूपैयाँ संकलन गर्ने, वित्तीय विवरण पनि सार्वजनिक नगर्ने, लेखापरिक्षण पनि नगराउने, साधारणसभा पनि नगराउने, भित्र भित्र मनपरी खर्च गरेर सञ्चालक र प्रमाेटरले मालामाल कमाउने विकृति जलविद्युत क्षेत्रमा माैलाउँदै जादा साधारण लगानीकर्ता भने उच्च जाेखिममा परेका छन् ।

यसाे भन्छन् नेप्से र धिताेपत्र बाेर्ड
सूचीकृत कम्पनीको वित्तीय विवरण प्रत्येक त्रैमासमा सार्वजनिक गर्नुपर्छ । यदी सो अवधिसम्म नगरेमा उक्त त्रैमास सकिएको ३५ दिनभित्रमा सार्वजनिक गरिसक्नु पर्ने नियम छ । त्यसपछि पनि वित्तीय विवरण सार्वजनिक नगरेकोलाई के गर्ने भन्ने विषयमा अहिलेसम्म कानुन मौन नै रहेको नेप्सेका प्रवक्ता मुराहरी पराजुली बताउँछन् ।

‘कम्पनीले किन नगरेको भन्ने हामीलाई थाहाँ भएन । त्यो कम्पनीको समस्या भयो । धितोपत्र बोर्डले पनि सार्वजनिक गरेकोलाई गरेको भन्ने नगरेकोलाई नगरेको भन्ने बाहेक अहिलेसम्म कुनै कानुन छैन । हामीले सोध्नसम्म सक्छौं किन नगरेको भनेर त्यहाँ भन्दा बढी गर्ने केही नै छैन । सोध्ने हो भने पनि धितोपत्र बोर्डले सोध्नु पर्यो त्यो धितोपत्र बोर्डको नियम हो ।’, प्रवक्ता पराजुलीले बताए ।

यस विषयमा विद्युत नियमन विभाग, प्रधानमन्त्री कार्यालय, धितोपत्र बोर्ड, नेप्से लगायत सबैतिर यो कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेन भनेर निवेदनहरु परिसकेको छ । तर, विवरण सार्वजनिक नगरेकोलाई के गर्ने भन्ने विषयमा अहिलेसम्म कानुन मौन नै रहेको प्रवक्ता पराजुलीले विकासन्युजसँग भने ।

उता नेपाल धितोपत्र बोर्डले भने केही दिन अघि मात्रै वित्तीय विवरण सार्वजनिक नगरेको कारण सोध्दै हिमाल दोलखालाई पत्र पठाएको बताएको छ ।

‘यस विषयमा हामीले हिजो मात्र कम्पनीमा पत्र पठाएका छौं । के भएको हो, किन वित्तीय विवरण सार्वजनिक नगरेको भन्ने विषय उल्लेख गर्दै तीन दिन भित्र जवाफ पठाउन निर्देश गरेका छौं । सो समयमा पत्र आएन भने कारवाहीको प्रक्रिया अघि बढाउँछौं ’, बोर्डका प्रवक्ता निरज गिरीले बताए ।

‘सूचीकृत कम्पनीले तोकिएको समयमा आफ्नो वित्तीय विवरण सार्वजनिक गरेनन् भने सचेत गराउने र त्यसपछि जरिवाना गराउने नियम छ । निर्देशनहरुको पालना नगरेकोलाई एक लाख ५० हजार रुपैयाँसम्म जरिवना रहेको छ भन्ने लाग्छ तर ठ्याक्कै याद भएन, हेर्नै पर्छ’, प्रवक्ता गिरीले विकासन्युजसँग भने ।

( असाेज १५ गते ८ः१५ अपडेट गरिएकाेः सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.