प्याज काण्डः खुला बजारमाथि खुलेआम धावा

  २०७७ असोज १३ गते १८:०९     शिव सत्याल

‘काला व्यापारीले अभावको मौका छोपी लुकाएर राखेको’ १ सय ४६ क्विण्टल प्याज वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जफत गर्यो । वाणिज्यले जफत गरेको (सित्तैमा लिएको) प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रतिकेजी ६० रुपैयाँमा सर्वसाधारणलाई लाइन लगाएर बेच्यो ।

कम्पनीका सुचना अधिकारी सर्मिला न्यौपाने सुवेदीका अनुसार हिजो (असोज १२ गते) ४४ क्विण्टल प्याज बेचियो । बाँकी प्याज आज बिक्यो ।

बजारमा प्याजको मूल्य अहिले प्रतिकेजी १३० रुपैयाँभन्दा बढी छ । वाणिज्यले बजारबाट जफत गरेको सो प्याज खाद्यले सर्वसाधारणलाई प्रतिकेजी ६० रुपैयाँमा बेचेको हो ।

बजारबाट सित्तैमा लिएर प्रतिकेजी ६० रुपैयाँका दरले बेचेको प्याजको पैसा कहाँ जान्छ होला ? खाद्यका अनुसार प्याज विक्रीबाट आएको रकममध्ये प्रतिकेजी ८ रुपैयाँ कम्पनीले व्यवस्थापन खर्च पाउँछ । बाँकी रकम सरकारको राजस्व खातामा जम्मा हुन्छ ।

वाणिज्य विभागले जफत गरेको प्याज बेचेर सरकारको राजस्वमा (प्रतिकेजी ५४ रुपैयाँका दरले) ७ लाख ८८ हजार ४ सय रुपैयाँ जम्मा भएछ । सो प्याज विक्रीको व्यवस्थापन गरे वापत खाद्यले १ लाख १६ हजार ८ सय रुपैयाँ (प्रतिकेजी ८ रुपैयाँका दरले व्यवस्थापन खर्च) पाएछ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट जफत गरिएको प्याज काठमाडौंकै थापाथलीमा रहेको खाद्यको विक्री डिपोबाट बेच्दा प्रतिकेजी ८ रुपैयाँ व्यवस्थापन खर्च लाग्छ ? कालीमाटीमा जफत गरिएको प्याज थापाथलीमा ल्याएर बेच्न प्रतिकेजी ८ रुपैयाँ व्यवस्थापन खर्च देखाउने सरकारले विदेशबाट आयात गरिएको प्याज व्यापारीले महंगोमा बेचे भनेर कसरी भन्न सकेको होला ?

व्यापारीले लुकाएर राखेको प्याज जफत गरिएको वाणिज्यको भनाइ छ । विक्रीको लागि राखिएको कुनै पनि उपभोग्य वस्तु विक्री नगरी लुकाएर राख्नु, बढी नाफा खान खोज्नु वा उपभोक्ता ठगी गर्नु गैरकानुनी काम हो । यसमा दुईमत छैन । तर, यसको विकल्प उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री आफै बजार बजार डुलेर प्याज खोज्दै हिड्नु, प्रमुख जिल्ला अधिकारीको विशेष पहलमा वाणिज्यले छापा मारेर प्याज जफत गर्नु नै यसको समाधान हो ?

कोरोना महामारी आउन नदिन भन्दै गत चैत ११ गतेदेखि देशव्यापी लकडाउन जारी गर्ने यही सरकार हो । कोरोना भाइरसबाट जोगिने अहिलेसम्मको सबैभन्दा राम्रो विकल्प भनेको मास्कको प्रयोग भनिएको छ । लकडाउनको बेलामा बजारमा मास्कको हाहाकार भयो । मास्क जस्तो अतिआवश्यक वस्तुको अभाव भएको बेलामा बजार अनुगमन गरी मास्क र स्यानिटाइजर सहज उपलब्ध गराइदिन यो सरकारलाई जाँगर किन चलेन ?

प्याज नखाइ नहुने अतिआवश्यक वस्तु हो ? प्याज नखाए के हुन्छ ? महंगो भयो भने प्याज नखाएर मूल्यस्तर तल झार्ने सामान्य व्यवहार नदेखाउँने विवेकहिन उपभोक्ता छन् ? प्याजविना भान्सा नै नचल्ने भएकोले सरकारले यस्तो सक्रियता देखाएको हो ?

विषय अर्काे पनि छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको महानिर्देशक नेत्रप्रसाद सुवेदी खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा पनि छन् । वाणिज्यको परिचयपत्र देखाएर बजारबाट प्याज जफत गर्ने, अनि आफू प्रमुख कार्यकारी अधिकृत रहेको खाद्यबाट व्यवस्थापन खर्च भन्दै प्रतिकेजी ८ रुपैयाँ नाफा खाने कार्य कति तौलको नैतिकतापूर्ण छ ?

प्याजको मूल्य बढी भयो भनेर तर्क गर्ने ठाउँ सरकारलाई कहानेर छ ? पहिलो लकडाउनको बेलामा मैले नै धेरै पटक प्रतिकेजी २० रुपैयाँमा टमाटर किनेको छु । अघिल्लो साता मात्रै प्रतिकेजी १ सय रुपैयाँमा टमाटर किनेको अनुभव मसँग नै छ । पहिलो लकडाउनको समयमा प्याज प्रतिकेजी ३५ रुपैयाँ थियो । अहिले १ सय ३० रुपैयाँ पुगेको छ । त्यो बेला ३५ रुपैयाँको प्याज अहिले १३० रुपैयाँ पुग्नु कालोबजारी हो भने त्यो बेला २० रुपैयाँको टमाटर अहिले सय रुपैयाँ पुग्न कालोबजारी किन होइन ? प्याजको झै कालोबजारी भएको टमाटर बजारबाट जफत गरेर खाद्यले सस्तोमा किन नबेचेको ? भान्सामा प्याज मात्रै भए हुन्छ, टमाटर चाहिदैन ?

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई प्याजको मूल्य बढी हो भन्ने लाग्छ भने कुनै पनि वस्तुको मूल्य कसरी तय हुन्छ भनेर आफू मातहतकै अर्काे संस्थान नेपाल आयल निगमलाई सोधे हुन्छ ।

इन्डियन आयल कर्पाेरेसन (आइओसी) ले प्रत्येक अंग्रेजी महिनाको १ र १५ तारिखमा नेपाल आयल निगम (एनओसी) लाई पेट्रोलियम पदार्थको मूल्य पठाउँछ । आइओसीले पठाएको मूल्यसुची अनुसार एनओसीले पेट्रोलियम पदार्थको उपभोक्ता मूल्य तय गर्छ ।

आइओसीले मूल्य बढाएर पठायो भने एनओसीले पनि मूल्य बढाउँछ । घटाएर पठायो भने घटाउँछ । आइओसीले पठाएको मूल्य अनुसार एनओसीले नेपालमा उपभोक्ता मूल्य तय गर्दा पेट्रोलियम पदार्थको भण्डारण खाली अवस्थामा पुगेको हुन्छ ? मेरो स्टकमा यति लिटर पेट्रोलियम पदार्थ छ, त्यसको पुरानै मूल्यमा बेचिसकेपछि नयाँ मूल्य कायम हुन्छ भनेर एनओसीले भन्छ ?

अरु दुईटा उदाहरण पनि दिन सकिन्छ । जस्तो कि अन्तराष्ट्रिय बजारमा हुने परिवर्तन अनुसार नेपालमा प्रत्येक दिन सुनको मूल्य तय हुन्छ । हिजोको भन्दा आज मूल्य कम भयो भने सुन व्यापारीले हिजो महंगो थियो भनेर बढी मूल्य लिन पाउँछ ?

अमेरिकी डलरको मूल्य पनि प्रत्येक दिन फरक फरक हुन सक्छ । हिजोको भन्दा आज डलरको विनिमय दर कम भयो भने नेपाल राष्ट्र बैंकले हिजो महंगो थियो भन्दै महंगोमा डलर बेच्छ ? कुनै पनि वस्तुको मूल्य ‘रिप्लेसमेन्ट बेसिस’मा हुन्छ भन्ने ज्ञान उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय वा वाणिज्य विभागका अधिकारीलाई छैन भन्न मिल्छ ?

भारतले प्याजको निर्यात खुल्ला गर्यो वा अन्य कुनै कारणबाट प्याजको आपूर्ति बढ्यो भने मूल्य स्वतः घट्छ । त्यस्तो अवस्थामा मैले महंगोमा ल्याएको भनेर व्यापारीले महंगोमा प्याज बेच्न सक्दैनन् । महंगोमा किनेको वस्तु सस्तोमा बेच्नु पर्यो भने सरकार बोल्दैन । नाफा ग्यारेन्टी गरिएको छैन । नाफा ग्यारेन्टी गरिएको हुन्थ्यो भने व्यापारीले २ प्रतिशत नाफामा पनि काम गर्नुपर्ने हुन सक्थ्यो ।

यो प्याज काण्डमा सरकारले खुला बजारमाथि खुलेआम धावा बोलेको छ । बजारबाट जफत गरिएको (सित्तैमा हडपेको) प्याज उपभोक्तालाई लाइन लगाएर प्रतिकेजी ६० रुपैयाँमा बेच्नु कुनै पुरुषार्थ हाेइन । बजार संयन्त्रलाई संक्रिय बनाएर सोही संयन्त्र मार्फत के कस्तो कारबाही गर्ने गराउने भन्नेतिर ध्यान दिनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.