अब वर्षको ६ पटक घरेलु मदिरा उत्पादन गर्न पाइने, चाडपर्व विशेष प्राथमिकतामा

  २०७७ असोज १३ गते ११:५३     विकासन्युज

काठमाडौं । सर्वोच्च अदालतले वर्षको ६ पटकसम्म तोकिएको मात्रामा घरेलु मदिरा उत्पादन गर्न पाइन फैसला गरेको छ । अनुमतिविनाको मदिरा उत्पादन रोक्न माग राखी दायर रिट–निवेदनमाथि सुनुवाइपछि सर्वोच्च अदालतले रोक नलगाउनू भनी फैसला गरेको हो ।

अदालतले ‘चाडबाड, रीतिरिवाज र संस्कृति’का लागि भन्दै मात्रा तोकेको तोकेर उत्पादन गर्न पाइने फैसला गरेको हो ।
न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले गरेको फैसलाको पूर्णपाठमा एकपटकमा पाँच लिटर मदिरा र १० लिटर जाँड घरेलु रूपमा उत्पादन गर्न दिनू भन्ने उल्लेख छ ।

सर्वोच्च अदालतले मदिरा ऐन र नियमावलीमा भएको व्यवस्थाअनुसार यस्तो आदेश दिएको हो ।

फैसलामा भनिएको छ,‘मदिरा ऐन २०३१ को दफा ७ अनुसार निजी उपयोगका निमित्त तोकिएको मात्रामा रक्सी वा जाँड बनाउन पाउने व्यवस्था गरेको देखिन्छ,’ २०७६ माघ ५ गतेको फैसलाको हालै सार्वजनिक पूर्णपाठमा भनिएको छ, ‘मदिरा निययमहरू २०३३ को नियम ७ मा उल्लेख भएअनुसार एकपटकमा ५ लिटरसम्म रक्सी र १० लिटरसम्म जाँड बनाउन दिनू । वर्षको ६ पटकसम्म मात्रै बनाउन दिनू ।’

सर्वोच्च अदालतको व्याख्याअनुसार अब घरेलु मदिरा उत्पादन गर्नेले वर्षभरिमा ३० लिटर मदिरा र ६० लिटर जाँड उत्पादन गर्न पाउँछन् । यो परिमाण हेर्दा इच्छुकहरूले दैनिक ८३ मिलिलिटर मदिरा र १ सय ६५ मिलिलिटर जाँड घरेलु रूपमा उत्पादन गरी खपत गर्न पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.